Comments Add Comment

प्रहरीले पक्राउ गरेको टिपर चालकलाई जनप्रतिनिधिले छाडिदिए

२० माघ, जनकपुरधाम । रातिको समयमा कमला खोलामा बालुवा र ढुंगा लोड गरिरहेको अवस्थामा पक्राउ परेका चार जना रिहा भएका छन् । प्रहरीले पक्राउ गरेर जिल्ला समन्वय समितिको जिम्मा लगाएलगत्तै समितिका पदाधिकारीले ती चारै जनालाई रिहा गरेका छन् ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ चिसापानी र सिरहाको कर्जन्हा १ स्थित कमला खोलाको बगरमा ढुंगा, बालुवा एक्साभेटरले लोड गरिरहेको अवस्थामा आइतबार राति इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको टोलीले टिपर, जेसिबीसहित चार जनालाई पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले तीन टिपर, एक एक्साभेटर चालकलाई पक्राउ गरेको जानकारी दिए ।

उनका अनुसार बा २ क २९८७ नम्बरको जेसिबी, ना २ क २८४, ना २ क २७८, भे १ ख २९३९ र बा ३ ख ७६०० नम्बरको टिपरसहित चार जनालाई पक्राउ गरी कारबाहीका लागि जिल्ला समन्वय समितिमा बुझाइएको थियो ।

जिल्ला समन्वय समितिमा बुझाइएलगत्तै खोलाको उत्खनन् नगरेको भन्दै चारै जनालाई रिहा गरिएको छ ।

बा.२ क २९८७ नम्बरको एक्साभेटरका चालक सिरहाको कर्जन्हा नगरपालिका २ बस्ने ३८ बर्षीय राजकुमार राउत, ना २ क २८४ नम्बको टिपरका चालक धनुषाको लक्ष्मिनियाँ गाउँपालिका ३ बस्ने २४ बर्षीय पुण्यप्रसाद यादव, ना २ क २७८ नम्बरका टिपर चालक धनुषाकै मिथिला नगरपालिका २ बस्ने ३० बर्षीय गोपाल महतो, भे १ ख २९३९ नम्बरको टिपर चालक महोत्तरीको वर्दिवास नगरपालिका १ बस्ने ३३ बर्षीय रामु महतोलाई छाडिएको समन्वय समितिले जनाएको छ ।

‘खोला उत्खनन् गरेको नदेखिएकाले उनीहरुलाई छाडिएको छ’ जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव यादवले भने, ‘टिपर र जेसिबीलाई भने नियन्त्रणमै राखेका छौं ।’

उनीहरुले उत्खनन गरेको नभई जम्मा गरेर राखेको समन्वय समिति प्रमुख यादवले बताए । ‘त्यहीं लोड गरिरहेको थियो । तैपनि प्रहरीले समातेर हामीकहाँ पठाइदियो । व्यक्तिलाई छाडेर गाडी नियन्त्रणमा राखेका छौं ।’

प्रहरीले टिपर नियन्त्रणमा लिएको ठाउँको अनुगमन र निरीक्षण गरेर टिपर र एक्साभेटर छाडिने उनले बताए । ‘माघ २२ गते त्यहाँ हेर्न जान्छौं’ उनले भने, ‘टिपरधनीले स्टोर गरेर राखिएको ढुंगा लोड गरिरहेको दावी गरेका कारण स्थलगत अनुगमन र निरीक्षण गर्छौं ।’

जिल्ला समन्वय समिति प्रमुख यादवले यो बिषयमा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलसँग पनि छलफल गरेको बताए । तर कँडेललाई बारम्बार फोन गरेपनि उनले फोन उठाएनन् ।

धनुषाका प्रहरी प्रमुख रमेश बस्नेतले ढुँगा, बालुवा जेसिबीद्वारा लोड गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बताएका छन् । बस्नेतले सोमबार पत्रकार सम्मेलनै गरेर यस्तो जानकारी गराएका छन् ।

प्रहरीले नियन्त्रणमा लिएको जेसिबी र टिपर जनकपुरधाम १४ मुजेलियास्थित उपेन्द्र साहले सञ्चालन गरेको मिथिला कन्ट्रक्सनको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment