Comments Add Comment

६ महिनामा थपिए २४ लाख इन्टरनेट प्रयोगकर्ता

फोरजी प्रयोगकर्ता टेलिकमकाभन्दा एनसेलका धेरै

२१ माघ, काठमाडौं । गत जेठदेखि कात्तिकसम्मको ६ महिने अवधिमा २४ लाख २१ हजारभन्दा बढी इन्टरनेट ‘सस्क्राइबर’ थपिएका छन् । २०७६ वैशाखसम्म १ करोड ८६ लाख रहेको इन्टरनेट सस्क्राइबरको संख्या गत कात्तिक महिना बित्दासम्म २ करोड ११ लाख पुगेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार हालसम्म देशका ७१.५२ जनता इन्टरनटको पहुँचमा छन् । तर कतिपय एकै व्यक्तिले दोहोरो रुपमा इन्टरनेट प्रयोग गरिरहेकाले यो तथ्यांक केही कम हुन सक्छ ।

प्राधिकरणले सार्वजनिक गरेको एमआईएस रिपोर्टअनुसार इन्टरनेट फिक्स्ड ब्रोडब्यान्ड र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या उच्च दरमा बढिरहेको प्राधिकरणका प्रवक्ता निर्देशक तथा प्रवक्ता मिनप्रसाद आर्याल बताउँछन् ।

पहिलोपटक आफैंले सेवा सुरु गरेको नेपाल टेलिकमले उपत्यका र पोखराबाहेकका क्षेत्रमा फोरजी सेवा विस्तारमा ढिलाइ गरेपछि एनसेलले टेलिकमभन्दा उच्च संख्यामा फोरजी ग्राहक बटुल्न सफल भएको छ

हालसम्म जनसंख्याको अनुपातमा ५५.३९ प्रतिशतले मोबाइलमा इन्टरनेट चलाउँछन् । त्यसमा सबैभन्दा धेरै थ्रीजी सेवा प्रयोगकर्ता छन् । १ करोड १४ लाखले थ्रीजी सेवा लिएका छन् । थ्रीजीमा ८२ लाखले नेपाल टेलिकमको सेवा प्रयोग गरिरहेका छन् भने एनसेलबाट ३२ लाख प्रयोगकर्ता दर्ता छन् । एनसेलका थ्रीजी प्रयोगकर्ता गत वैशाखसम्म ४० लाख थिए । गत वैशाखसम्म ६८ लाख रहेको टेलिमको थ्रीजी प्रयोगकर्ता अहिले ८२ लाख पुगेको हो ।

यसैगरी देशभर फोरजी इन्टरनेटका ४७ लाख ९१ हजार प्रयोगकर्ता छन् । त्यसमा झण्डै ३७ लाख १३ हजार प्रयोगकर्ता एनसेलका मात्रै छन् । ६ महिनाअघि एनसेलका प्रयोगकर्ता २६ लाख ७५ हजार मात्रै थिए । एनसेलका थ्रीजीका प्रयोगकर्ता फोरजीमा बदलिएका छन् ।

पहिलोपटक आफैंले सेवा सुरु गरेको नेपाल टेलिकमले उपत्यका र पोखराबाहेकका क्षेत्रमा फोरजी सेवा विस्तारमा ढिलाइ गरेपछि एनसेलले टेलिकमभन्दा उच्च संख्यामा फोरजी ग्राहक बटुल्न सफल भएको छ । कात्तिकसम्म टेलिकमसँग जम्मा ८ लाख ३९ हजार मात्रै फोरजीका प्रयोगकर्ता थिए । पछिल्लो समय टेलिकमले देशका ५९ शहरमा फोरजी विस्तार गरेकाले अहिले फोरजी प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको अनुमान गरिएको अर्यालले बताए ।

स्मार्ट टेलिकमले पनि २ लाख ३८ हजार फोरजी प्रयोगकर्ता बनाइसकेको छ । मोबाइल ब्रोडब्यान्डमा ई-भिडियो प्रयोग गर्नेहरु १ लाख ३६ हजार छन् ।

तारसहितको फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्नेको संख्या देशमा ४५ लाख २३ हजार छन् । दूरसञ्चार प्राधिकरणका अनुसार यस्तो एउटा इन्टरनेट कनेक्सनमा औसत ५ जना प्रयोगकर्ता हुन्छन् । यस्तो सेवा लिनेको संख्या कुल जनसंख्याको १५.३३ प्रतिशत छ ।

फिक्स्ड ब्रोडब्यान्डमा हाल इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरु अग्रपंक्तिमा छन् । आईएसपीहरुले ३४ लाख ७३ प्रयोगकर्ता बनाएका छन् । नेपाल टेलिकमको एडीएसएल सेवा प्रयोग गर्नेको संख्या ९ लाख ९४ हजार छ भने एफटीटीएच सेवामा जम्मा ५४ हजार ८ सय प्रयोगकर्ता आवद्ध छन् ।

यसैगरी २ लाख ३६ हजार तहाररहित फिक्स्ड इन्टरनेट प्रयोगकर्ता छन् । ६ महिनाअघि यस्तो संख्या ३ लाख ५० हजार थियो । यसले अब ताररहित फिक्स ब्रोड ब्यान्ड प्रयोग गर्नेहरु घट्दै गएको देखाउँछ । त्यसमा पनि वाइफाइ (रेडियो)को प्रयोगकर्ताको संख्या १ लाख ४७ हजार छ भने ८९ हजारले वाईम्याक्स प्रयोग गर्छन् ।

०.८० प्रतिशत जनसंख्याले ताररहितको फिक्स्ड इन्टरनेट लाइन प्रयोग गर्छन् ।

इन्टरनेट सेवा प्रदायकका अनुसार गणना गर्दा १ करोड ३ लाख प्रयोगकर्ता नेपाल टेलिकमसँग आवद्ध छन् । टेलिकमले मोबाइल (टुजी, थ्रीजी र फोरजी)सहित एडीएसएल, एफटीटीएच, वाइम्याक्स र ई-भिडियोसहितको सेवा प्रदान गर्छ ।

यसैगरी थ्रीजी र फोरजी सेवा मात्रै दिइरहेको एनसेलसँग ६९ लाख २४ हजार इन्टरनेट प्रयोगकर्ता छन् । स्मार्ट टेलिकमले पनि २ लाख ३८ हजारलाई मोबाइलबाटै फोरजी इन्टरनेट सेवा दिँदैछ । आईएसपीहरुले वाइफाइ र एफटीटीएच गरी ३५ लाख २८ हजार प्रयोगकर्ता बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment