Comments Add Comment

मध्यपूर्वमा अमेरिकी शान्ति योजना इस्लामिक देशद्वारा अस्वीकार

२१ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको मध्यपूर्वको शान्ति योजना इस्लामिक देशहरुले अस्वीकार गरेका छन् ।

इस्लामिक देशहरुको संगठन अर्गनाइजेशन अफ इस्लामिक कोअपरेसन (ओआईसी)ले मध्यपूर्वको शान्ति योजना अस्वीकार गरेको हो ।

ओआईसीले आफ्ना सबै सदस्य राष्ट्रहरुलाई मध्यपूर्वको शान्ति योजनामा कुनै पनि प्रकारको सहयोग नगर्न निर्देशन दिएको बीबीसीले लेखेको छ ।

ओआईसीमा विश्वका ५७ देशहरु संगठित छन् । ओआईसीले विश्वका करिब डेढ अर्ब मुसलमानहरुको प्रतिनिधित्व गर्दछ ।

सोमबार जेद्दामा भएको बैठकपछि ओआईसीले भनेको छ, ‘अमेरिका-इजरायल योजना अस्वीकार गर्दछ । किनभने यो योजनाले प्यालेस्टिनी जनताको वैध अधिकार र अपेक्षा पूरा गर्दैन । यसले शान्ति प्रक्रियाका शर्तहरुको पनि उल्लंघन गर्दछ ।’

अमेरिकी योजनाअनुसार पूरै जेरुसेलम शहरमा इजरायलको अधिकार हुनेछ र इजरायल प्यालेस्टिनी जमिनमा बसाइएको यहुदी बस्तीलाई पनि आफ्नो नियन्त्रमा लिन सक्नेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यस योजनाअनुसार इजरायलसँग अभिभाजित जेरुसेलम रहन्छ र प्यालेस्टिनले इजरायलको कब्जावाला पूर्वी जेरुसेलम नजिक राजधानी घोषणा गर्न सक्छ ।

इजरायलको कब्जामुक्त भएमात्र मध्यपूर्वमा शान्ति हुने ओआईसीको ठहर छ । मध्यपूर्वको संघर्षको जड नै इजरायल र प्यालेस्टाइनबीच जारी विवादलाई मानिएको छ ।

सोमबार जेद्दामा बसेको ओआईसीको बैठकमा इरान भने सहभागी थिएन । यद्यपि इरानले पहिलेदेखि नै अमेरिकाको शान्ति योजनाको आलोचना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment