+
+
Shares

ग्यास अभाव चाँडै हट्ने मन्त्री साहको दाबी : दैनिक १६० बुलेट ल्याउने प्रबन्ध भइसक्यो

निवर्तमान मन्त्रीको बहिर्गमनपछि मन्त्रालय सम्हाल्न आइपुगेका साहले आफ्नो कुर्सी जोगाउन र जनविश्वास जित्न पनि ग्यासको नियमित वितरणलाई पहिलो प्राथमिकतामा राखेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १९:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले २–३ दिनसम्म भारतबाट दैनिक १ सय ६० ग्यास बुलेट ल्याएर आपूर्ति सहज बनाउने दाबी गरेका छन् ।
  • मन्त्री साहले डिपोमा रित्तो सिलिन्डर राखेर घण्टौं पालो पर्खनुपर्ने उपभोक्ताको समस्या छिट्टै अन्त्य हुने बताए ।
  • साहले चिनी अभाव र मूल्यवृद्धिको व्यवस्थापन पनि केही दिनमै समाधान हुने थप दाबी गरेका छन् ।

३० भदौ, काठमाडौं । बजारमा देखिएको खाना पकाउने एलपी ग्यास अभाव सम्बोधन गर्दै नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले आपूर्ति प्रणाली तत्कालै सहज बनाउने दाबी गरेका छन् ।

यसका लागि भारतबाट अबको २-३ दिन दैनिक १ सय ६० ग्यास बुलेट भित्र्याउने तयारी भइरहेको उनले जानकारी दिएका हुन् ।

मंगलबार दिउँसो पत्रकारहरूसँगको कुराकानीमा मन्त्री साहले ग्यास डिपोहरूमा रित्तो सिलिन्डर राखेर घण्टौं पालो पर्खनुपर्ने उपभोक्ताको सकसपूर्ण अवस्था अब छिट्टै अन्त्य हुने आश्वासन दिए ।

‘आगामी केही दिनसम्म लगातार १ सय ६० बुलेटका दरले ग्यास ल्याउने सम्पूर्ण प्रबन्ध मिलाइसकिएको छ,’ मन्त्री साहले भने, ‘यो परिमाणको ग्यास बजार पुगेपछि उपभोक्ताको माग सहजै पूरा हुने हाम्रो विश्वास छ ।’

यसअघिकी विभागीय मन्त्री गौरीकुमारी यादवले ग्यास संकट समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना खेप्नुपरेको थियो, जसको दबाब स्वरूप उनले पदबाटै हात धुनुपरेको थियो ।

निवर्तमान मन्त्रीको बहिर्गमनपछि मन्त्रालय सम्हाल्न आइपुगेका साहले आफ्नो कुर्सी जोगाउन र जनविश्वास जित्न पनि ग्यासको नियमित वितरणलाई पहिलो प्राथमिकतामा राखेका हुन् ।

हाल ग्यास आपूर्तिको मुख्य तगारो पृथ्वी राजमार्गको कृष्णभिरमा खसेको पहिरो बनेको छ । पहिरोका कारण मुख्य मार्ग (पृथ्वी राजमार्ग) ठप्प भएपछि तराईका रिफिलिङ सेन्टरबाट ट्रकमार्फत सिलिन्डर बोकाएर काठमाडौं ल्याउने गरिएको छ ।

यद्यपि, ट्रकको ढुवानीले मात्र उपभोक्ताको अत्यधिक माग धान्न नसकेको गुनासो ग्यास उद्योगीहरूले गर्दै आएका छन् ।

मन्त्रीले ग्यास सँगसँगै अहिले बजारमा उपभोक्ताले गुनासो गरिरहेको चिनी अभाव र मूल्यवृद्धिको व्यवस्थापनका लागि आफूले सक्दो प्रयास गरिरहेको र केही दिनमै यो समस्या पनि समाधान हुने थप दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?