Comments Add Comment

खुल्यो पीएन प्रशासनको तालाबन्दी

मासिक ज्याला दिने सहमतिपछि आंशिक प्राध्यापकले पढाउन थाले

२१ माघ, पोखरा । विभिन्न विद्यार्थी संगठनले पढाइ नियमित हुनुपर्ने मागसहित आइतबार लगाएको पृथ्वीनारायण (पीएन) क्याम्पस प्रशासन ताला खुलेको छ ।

आंशिक शिक्षकले करारमा नियुक्ति गर्नुपर्ने, दैनिक ज्यालादारी प्रथा अन्त्य गर्न माग राख्दै १ हप्तादेखि कक्षा बहिष्कार गर्दै आएका थिए । सोही विषयलाई लिएर पढाइ प्रभावित भएको र वार्ताद्वारा शीघ्र सहमति खोज्न माग राख्दै विद्यार्थी संगठनले प्रशासनमा तालाबन्दी गरेका थिए ।

विभिन्न मागसहित राजिनामा दिने धम्की दिएर कक्षा बहिष्कारमा उत्रिएका क्याम्पसका आंशिक प्राध्यापकले समेत मंगलबारबाट आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । आंशिक प्राध्यापकको आन्दोलन फिर्ता भएसँगै क्याम्पसको पढाइले निरन्तरता पाएको हो ।

त्रिभुवन विश्वविद्यालयक प्रतिनिधि, पृथ्वीनारायण क्याम्पस प्रशासन र आशिंक प्राध्यापक संघबीच सोमबार भएको त्रिपक्षीय वार्तामा आन्दोनमा उठेका विषयमा समाधान गर्ने सहमति भएपछि मंगलबारबाट कक्षा नियमित सञ्चालन भएको हो ।

आंशिक शिक्षकलाई व्यवस्थापन गर्न उठेको मागलाई त्रिभुवन विश्वविद्यालय र क्याम्पसले सकारात्मक रुपमा लिएपछि तत्कालका लागि आन्दोलन फिर्ता लिएको आशिंक प्राध्यापक संघका अध्यक्ष सुनिल गौतमले बताए ।

‘हाम्रो चाहना विद्यार्थीको पढाइ रोक्ने होइन । आन्तरिक परीक्षा र हिउँदे विदापछि पठनपाठन अस्तव्यस्त छ,’ गौतमले भने, ‘ती सबै कुरालाई व्यवस्थित गर्न पनि अहिलेलाई आन्दोलन फिर्ता लिएका हौं ।’ क्याम्पसमा कार्यरत २१८ जना आंशिक प्राध्यापकले सामूहिक राजीनामा दिने भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

पृथ्वीनारायण क्याम्पस प्रमुख प्राध्यापक चन्द्रबहादुर थापाले आंशिक प्राध्यापकमध्ये जो बढी कार्यभारमा छ उसलाई १ महिनाभित्र मासिक ज्याला दिने, करारमागको विषयमा त्रिवि सिनेटबाटै निर्णय आउनुपर्ने भएकाले सिनेटबाटै पारित हुने गरी सहमति भएको सुनाए । ‘करार प्राध्यापकको विषयमा त्रिवि सिनेटले नै रोकिराखेको रहेछ । अब आउने सिनेट बैठकमा करार विषयलाई लैजाने भन्ने सहमति भएको छ,’ उनले भने ।

क्याम्पसमा उठेको विवाद समाधान गर्न त्रिभुवन विश्वविद्यालयले ३ सदस्यीय कार्यदल गठन गरेर पोखरा पठाएको थियो । शनिबार भएको पहिलो वार्ता बिना निष्कर्ष टुंगिएपछि विद्यार्थी संगठनले प्रशासनमा तालाबन्दी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment