News Summary
Generated by OK AI. Editorially reviewed.- भुवन केसीको फिल्म ‘बाटुलो जून’ छायांकनका क्रममा खिचिएका दृश्यहरू अनुमति बिना सामाजिक सञ्जालमा सार्वजनिक भएको भन्दै निर्माण पक्षले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
- निर्माण पक्षले ‘प्रतिलिपि अधिकार ऐन, २०५९’ अनुसार अनधिकृत प्रयोग दण्डनीय हुने बताउँदै त्यस्ता दृश्य हटाउन र पुनः अपलोड नगर्न आग्रह गरेको छ।
- अनुरोध बेवास्ता गरेर सामग्री सार्वजनिक गरिरहे प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाउने निर्माण पक्षले चेतावनी दिएको छ।
प्रदर्शनको तयारीमा जोडतोडले जुटेको छ, ‘बाटुलो जून’ टिम । भुवन केसीको यो फिल्मका मुख्य दुई आकर्षण हुन्, अनमोल केसी र प्रिन्सी खतिवडा । अनि उनीहरूको क्लासिक लभ स्टोरी । बि.सं. ४० को दशकमा हुने प्लेटोनिक प्रेम सायद यसमा देख्न सकिनेछ ।
तर, फिल्म प्रदर्शनको मिति नजिकिँदै जाँदा निर्माण पक्षको टाउको दुख्न थालेको छ । कारण, फिल्म छायांकन गर्दाताकाका भिडियोहरू धमाधम सामाजिक सञ्जालमा चुहिन थालेपछि निर्माण टिमलाई ऐठन परेको हो ।
निर्माण टिमले प्रेस विज्ञप्ति नै जारी गरेर यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ,
‘सनराइज पिक्चर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘बाटुलो जून’को छायांकनका क्रममा खिचिएका विभिन्न चल–अचल दृश्यहरू निर्माण पक्षको अनुमति र स्वीकृतिबिना सामाजिक सञ्जालमा सार्वजनिक भइरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
चलचित्र निर्माणका क्रममा खिचिएका दृश्यहरू ‘बिहाइन्ड द सिन्स’ (बीटीएस) चलचित्रको प्रचारप्रसार, कथावस्तुको गोपनीयता र निर्माण पक्षको व्यावसायिक रणनीतिसँग प्रत्यक्ष रूपमा जोडिएका हुन्छन् । निर्माण पक्षको अनुमतिबिना यस्ता दृश्यहरू रेकर्ड गर्ने, सार्वजनिक गर्ने, पुनः अपलोड गर्ने वा विभिन्न डिजिटल माध्यममा प्रसारण गर्ने कार्यले चलचित्रको प्रचार योजनामा असर पुर्याउनुका साथै सिर्जनात्मक कार्य र प्रतिलिपि अधिकारको समेत उल्लङ्घन हुन जान्छ ।
कसैको अधिकारप्राप्त सिर्जना बिना अनुमति प्रकाशन, प्रसारण गरिनु नेपालको प्रचलित कानुनअन्तर्गत आपराधिक र दण्डनीय कार्य हो । ‘प्रतिलिपि अधिकार ऐन, २०५९’ तथा नेपालको प्रचलित कानुनी व्यवस्थाअनुसार चलचित्र र त्यससँग सम्बन्धित संरक्षित सामग्रीको अनधिकृत प्रयोगको प्रकृति, सामग्रीमाथिको अधिकार र प्रयोगको अवस्थाअनुसार कानुनी कारबाहीको विषयसमेत बन्न सक्ने भएकाले यसप्रति सचेत रहन सम्बन्धित सम्पूर्णमा आग्रह गर्दछौँ ।
त्यसैले ‘बाटुलो जून’को छायांकनका क्रममा खिचिएका दृश्यहरू निर्माण पक्षको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जाल वा अन्य कुनै पनि माध्यममा सार्वजनिक नगर्न, अनधिकृत रूपमा सार्वजनिक गरिएका दृश्यहरू तत्काल हटाउन र आगामी दिनमा यस्ता सामग्री पुनः अपलोड वा प्रसारण नगर्न सम्बन्धित सबैलाई आग्रह गर्दछौँ । यस अनुरोधलाई बेवास्ता गरी अनधिकृत रूपमा सामग्री सार्वजनिक गर्ने कार्य निरन्तर रहेमा उपलब्ध प्रमाणका आधारमा प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाउन निर्माण पक्ष बाध्य हुनेछ ।
चलचित्र निर्माण एउटा सामूहिक सिर्जनात्मक प्रयास हो । यसको संरक्षण र प्रवर्द्धनमा दर्शक, सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको सकारात्मक सहयोगको अपेक्षासहित चलचित्र ‘बाटुलो जून’को आधिकारिक सामग्री निर्माण पक्षले सार्वजनिक गर्ने माध्यमबाटै प्राप्त गरी सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ । चलचित्रसँग सम्बन्धित आधिकारिक सामग्री सार्वजनिक गर्ने, प्रचारप्रसारको समय र स्वरूप निर्धारण गर्ने तथा चलचित्रको सिर्जनात्मक पक्षको संरक्षण गर्ने अधिकारप्रति सनराइज पिक्चर्स प्रा.लि. प्रतिबद्ध छ ।’
प्रतिक्रिया 4