Comments Add Comment

प्रदेश २ प्रति संघीय सरकारको गिद्धेनजर छ : मुख्यमन्त्री राउत

२१ माघ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूहरुमाथि सं‌घीय सरकारको गिद्धेनजर रहेको भन्दै गल्ती नगर्न मन्त्रीहरुलाई आग्रह गरेका छन् ।

प्रदेशसभा गठनको २ बर्ष पूरा भएको अवसरमा प्रदेशसभा सचिवालयले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले गत वर्ष योजनाको भुक्तानीमा समस्‍या आउनुमा मन्त्रीहरुको गल्ती रहेको भन्दै यस्ता गल्ती नदोहोर्‍याउन आग्रह गरे ।

‘यही प्रदेशमाथि संघीय सरकारको गिद्दे नजर छ र, हामीले नै गल्ती गरेमा तत्कालै औंला उठाइन्छ’ उनले भने, ‘यसैले गल्ती नगरी इमान्दारीपूर्वक काम गर्नु जरुरी छ ।’

गत आर्थिक वर्षमा मन्त्रीहरुले लिखित अख्तियारीविना मौखिक रुपमा विभिन्न योजना कार्यान्वयन गराएका कारण भुक्तानीमा समस्या आएको मुख्यमन्त्री राउतले बताए ।

‘मौखिक अख्तियारी दिएरै काम गराएका कारण यो अवस्था आएको हो’ मख्यमन्त्री राउतले भने, ‘योजनाहरुको लिखित अख्तियारी दिएर समयमै टेण्डर लगाइदिएको भए यो अवस्था आउने थिएन ।’

गत बर्ष सम्पन्न भएका ८ सय ४२ वटा योजनाको झण्डै ८३ करोड रुपैयाँ उपभोक्ता समितिले हालसम्म पाउन सकेका छैनन् । जसले गर्दा प्रतिपक्षीका साथै सत्तारुढ सांसदले समेत प्रदेशसभा बैठक अवरुद्व गर्दै आएका छन् । पछिल्लो तीन महिनायता प्रदेशसभाको बैठक बस्न सकेको छैन् । सांसदले भुक्तानी नदिएसम्म संसद चल्न नदिने चेतावनी दिँदै आएका छन् ।

मुख्मयन्त्री राउतले जनताको विश्वास गर्न इमान्दारीपूर्वक काम गर्नु आवश्यक रहेको बताए । उनले भने, ‘यस्ता समस्या आगामी दिनमा पनि आउने भएकाले विकास निर्माणका योजनाहरु समयमै टेण्डर गराउनु जरुरी छ । मौखिकभन्दा लिखित अख्तियारी दिनुपर्छ ।’

उनले अख्तियारी नपठाएसम्म कुनै पनि काम नगराउन मन्त्रीहरुलाई निर्देशन दिए । ‘ज–जसले अख्तियारी पठाउनुभएको छैन, पठाइहाल्नुस्’ उनले भने, ‘नभए कसैको हित हुँदैन ।’

मुख्यमन्त्री राउतले प्रतिपक्षीले आफूहरुलाई एकदमै सहयोग गरेको समेत बताए । ‘हामीलाई प्रतिपक्षीले राम्रो सहयोग गर्नुभएको छ’ उनले भने, ‘त्यसका लागि उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।’

सत्ता साझेदार राजपाका संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले संघीय सरकारको आलोचना गरे । उनले संघीयता आएको दुई बर्ष बित्दा समेत संघीय सरकारले कुनै अधिकार नदिएको बताए ।

आफूहरु संघीय सरकारसँग सहकार्य गरेरै काम गर्न खोजे पनि सबै अधिकार आफ्नै जिम्मामा राखेको उनले बताए ।

सभामुख सरोजकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उप–नेता रामकुमार यादव लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

बाहिर उपभोक्ताको प्रदर्शन

प्रदेशसभाभित्र आयोजना गरिएको कार्यक्रममा मुख्यमन्त्रीले सम्बोधन गरिरहँदा बाहिर उपभोक्ता समितिका पदाधिकारीहरुले प्रदर्शन गरेका छन् । गत बर्ष गरिएको कामको भुक्तानी हालसम्म नपाएको भन्दै उपभोक्ताले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

भित्र कार्यक्रम भइरहँदासम्म बाहिर उनीहरुले धर्ना दिँदै प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । यसअघि भुक्तानी नदिएको भन्दै उपभोक्ताले मुख्यमन्त्रीसहित मन्त्रीहरुको तस्वीर अंकित व्यानरमा जुत्ताले प्रहार समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment