+
+
Shares

अनिल सिंहले किन गरे ‘लडाईं’ र ‘आत्मसमर्पण’को कुरा ?

गायक र म्युजिक कम्पनीबीच कपिराइटको लफडा

दिप्सन लुईंटेल दिप्सन लुईंटेल
२०७६ माघ २१ गते १९:३९

२१ माघ, काठमाडौं । गायक अनिल सिंहले मंगलबार आफ्नो फेसबुक पेजमा अलिक असामान्य लाग्ने स्टाटस लेखे । ‘म जाबो तुच्छ नेपाली कलाकार’ शीर्षकमा उनले अबको २४ घन्टाभित्र ‘आत्मसमर्पण’ गर्ने बताएका छन् ।

‘आफूले गरेको अपराधको अडियो प्रमाणसहित आत्मसमर्पण गर्न चाहन्छु,’ उनी लेख्छन्, ‘नेपाल सरकार सम्मानित अदालतको कानून बमोजिम कडाभन्दा कडा सजायका लागि अपिल गर्दै प्रस्तुत भएको छु ।’

अबको आफ्नो लडाईंले राजनीतिक रुप लिन सक्ने भन्दै उनले राष्ट्रपति विद्या भण्डारीदेखि सांसद/गायिका कोमल ओलीसम्मको ध्यानाकर्षण गराएका छन् ।

‘मेरो अपराधको लागि नेपाल सरकारको कानून र नेपाली जनताले तय गरे अनुरुपको सजाय पाउनुपर्ने मेरो निवेदन छ,’ उनी लेख्छन् ।

यो स्टाटसले धेरैलाई कन्फ्यूज्ड र चिन्तित बनायो । यस्ता शब्दहरु कसैले ठट्टामा लेख्न सक्दैन । अनिल सिंहले भनेको अपराध, आत्मसर्पण र लडाईको आशय के हो त ?

झ्वाट्ट यो स्टाटस हेर्दा मानिसहरु अन्योलमा परे पनि सोमबारदेखि नै अनिलले फेसबुकमा केही कुराहरु लेखिरहेका थिए । उनले एउटा म्युनिजक कम्पनीमाथि आफ्नो गीतमा अनाधिकृत रुपले व्यापार गरेको आरोप लगाएका छन् ।

इमेज च्यानल, म्युजिक डट कम र इन्द्रेणी क्यासेट सेन्टरले आफ्ना पूराना गीतहरु स्वीकृतिबिना नै बेचिरहेको उनको दावी छ ।

उनले ‘युद्ध शंखघोस’ भन्दै लेख्न सुरु गरेको स्टाटसको अन्त्यमा ‘आफ्नो जीवन संकटमा भएको’ समेत उल्लेख गरेका छन् ।

विवादको नालीबेली

अनिल सिंहले २०५८ सालमा आफ्नो १० वटा गीतहरु संग्रहित एल्बम ‘गायक’ को कपिराइट २०५८ साल वैशाख ९ गते इन्द्रेणी क्यासेट सेन्टरलाई बेचे । सम्झौताअनुसार उक्त गीतहरु मास्टर कपीबाट अन्य चक्काहरुमा रेकर्डिङ गर्ने तथा रेकर्ड गरिएका चक्काहरु विक्री गर्ने अधिकार इन्द्रेणीसँग थियो ।

ती गीतको म्युजिक भिडियो के हुने भन्ने सम्झौतापत्रमा उल्लेख छैन । गायक सिंह भने आफ्नै खर्चमा बनाएको भिडियोको अधिकार आफैंसँग रहने बताउँछन् । सिंहका अनुसार उनले इमेज च्यानललाई ८० हजार रुपैयाँ दिएर सो गीतको भिडियो बनाएका थिए ।

‘सुरुमा प्रेम पत्रको भिडियो बनाएका हौं, आलोक नेम्वाङलाई मैले ६० हजार र इन्द्रेणीले मेरो रोयल्टीबाट काटिने गरी २० हजार तिरेर प्रेमपत्रको भिडियो बनाएका थियौं,’ उनले भने ।

इमेजलाई अरु कसैले चलाउने शर्तमा इमेजलाई सो गीत दिएको सिंह बताउँछन् । तर, यसमा कुनै लिखित सम्झौता भएको थिएन । इमेजले अरु कसैलाई नदिने आफूसँग मौखिक बाचा गरेको सिंहको भनाइ छ ।

त्यसको एक वर्षपछि म्युजिक डट कमले अनिल सिंहसँग मिलेर ‘मेगाहर्ज’ नामक एल्बम निकाल्यो । त्यसका लागि सिंह र म्युजिक डट कमका राजेश वंशलबीच सम्झौता भएको थियो । जालझेल गरेर एग्रिमेन्ट गरेको सिंहको दावी छ ।

‘एउटा गीत एक लाखमा किन्ने भनिएको थियो । पछि बजारबाट गीतहरु किनेर मेगाहर्ज एल्बम निकाल्नुभयो,’ उनले भने ।

त्यसपछि म्युजिक डट कमले इमेज च्यानललाई झुक्याएर आफ्नो दुई गीत (‘प्रेम पत्र’ र ‘परी’) को म्युजिक भिडियो पनि हात पारेको सिंहले बताए ।

तर, इमेज च्यानलले भने आवश्यक कागजात देखाएपछि आफूहरुले केही रकम लिएर म्युजिक डट कमलाई दुई गीत दिएको बताएको छ । म्युजिक डट कमका सञ्चालक राजेश बंशलले सिंहसँग गरिएको सम्झौता देखाएर इमेजबाट गीत लगेका थिए । यसका लागि ३० हजार रुपैयाँ इमेजलाई दिएको राजेशले बताएका छन् ।

उनले भने, ‘यस गीतको भिडियो इमेजसँग थियो । उहाँहरुले सिडी बनाएर बेचिरहनुभएको थियो । त्यसको अडियो अधिकार हामीसँग भएका कारण हामीले पनि बेच्दा फरक पर्दैन भन्ने लागेर उहाँहरुलाई केही पैसा दिई लिएका हौँ ।’

अनिलले बनाएको भिडियोमा म्युजिक डट कमले लामो समय व्यापार गर्‍यो । सिडी, डिभिडी बनाएर बजार बेचियो । युट्युबमा पनि उक्त भिडियो हालियो, तर आफूले कत्ति पनि पैसा नपाएको अनिल बताउँछन् ।

२०१७ मा आएर बल्ल म्युजिक डट कमले सिंहको अनुरोधमा उक्त भिडियो यूट्यूबबाट हटायो । अनिल भन्छन्, ‘आफ्नो लगानीमा बनेको भिडियो हटाइदिनुस् भनेर मैले हात जोड्नु पर्‍योे । बारम्बारको विन्तीपछि उहाँहरुले हटाउनु भयो ।’

अनिलले दुई गीतको भिडियो फिर्ता पाए पनि यसबीचका करिब १५ वर्ष आफ्नो गीतमाथि गरिएको व्यापारको क्षतिपूर्ति मागेका छन् । क्षतिपूर्तिबापत ‘मेघाहर्ज’ एल्बमको अडियो अधिकार फिर्ता पाउनुपर्ने उनको माग छ । तर, म्युजिक डट कमका सञ्चालक यसमा सहमत छैनन् ।

अनिलले च्याते सम्झौतापत्र

अनिललाई अहिले आफ्नो पूरानो गीतहरुमा आफ्नै अधिकार होस् भन्ने इच्छा छ । त्यसैले उनले म्युजिक डट कमसँगको सम्झौता खारेज गर्न चाहेका छन् ।

अनिल भन्छन्, ‘लामो समय मेरो अधिकारमा रहेको भिडियो प्रयोग गरेर लाखौ पैसा कमाइसक्नु भइको थियो । त्यसैले पनि मैले उहाँहरुसँग मेरो एल्बमको अडियो अधिकार फिर्ता मागेको हुँ । तर, उहाँहरुले मान्नु भएको छैन ।’

दुई पक्षको कुरा नमिलेपछि म्युजिक नेपालले उनीहरुबीच मध्यस्थता गर्न खोजेका थिए । म्युजिक नेपालको एक कोठामा सांगीतिक क्षेत्रमा विभिन्न व्यक्तित्वहरुसँग बसेर छलफल भयो । त्यही छलफलका क्रममा अनिलले म्युजिक डट कमसँग भएको ‘सम्झौतापत्र’ च्यातिदिए ।

अनिल भन्छन्, ‘मैले रिसको झोकमा नक्कली सम्झेर च्यातेको थिएँ, त्यो सक्कली नै परेछ । मेरो उद्देश्य भनेको सम्झौता खारेजी गर्नु थियो ।’

तर, अनिलले च्यातेको सम्झौता सक्कली नभएको म्युजिक डट कमका बंशलले बताए ।

‘त्यो फोटोकपि थियो, सक्कली सम्झौता हामीसितै छ,’ उनले भने ।

म्युजिक डट कमले २४ घण्टाभित्र फोन गरेर सम्झौता खारेजीको विषयमा जानकारी दिने भने पनि फोन नआएपछि फेसबुकमा लेख्न थालेको अनिलले बताए ।

सम्झौतापत्र च्यात्नु आफ्नो गल्ती भएको महसुस गर्दै त्यसमा सजायको भागीदार बन्न तयार रहेको सिंह बताउँछन् । त्यसैले ‘आत्मसमर्पण’ को कुरा गरेको उनको भनाइ छ ।

उनले भने, ‘मैले गरेको सानो गल्ति स्वीकार नगर्दा ठुला गल्ती गर्नेहरु झनै बलियो हुने बुझेँ । त्यसैले आत्मासमर्पणको कुरा लेखेको हुँ ।’

आफूले गल्तिको सजाय पाउँदा सर्जकहरुलाई पिडित बनाउनेहरुलाई पनि कारबाही हुनपर्ने उनको माग छ ।

 बंशल भन्छन्ः गीत फिर्ता गर्न सक्छौं

म्युजिक डट कमका बंशल सिंहले आफूहरुलाई बेचिसकेका गीतहरु पुनः फिर्ता माग्नु अस्वाभाविक भएको बताउँछन् ।

उनले भने, ‘रोयल्टीमा दिनुभएको भए यति वर्षका लागि भन्ने हुन्छ । तर, उहाँले त यो बेचेको कुरा हो । बेचिएको कुरा त लाइफटाइम नै हुन्छ होला ।’

अनिलले फेसबुकमा आफू असुरक्षित रहेको भन्दै पोष्ट गरेका कुराहरुले राजेश अचम्मित छन् । ‘हामीले उहाँलाई त्यस्तो केही भनेका पनि छैनौँ गरेका पनि छैनौँ’, राजेशले भने, ‘हामी भनेको कलाकारलाई माया गर्ने मान्छे, कलाकारलाई राम्रो भए मात्र हामीलाई राम्रो हुने हो । कलाकारको सम्मान हामीले बुझेका छौं।’

यदि बसेर छलफल गर्ने र सकारात्मक पक्षबाट जाने हो भने गीत फिर्ता गर्न पनि म्युजिक डट कम तयार रहेको उनले बताए ।

‘केही पटक बसेर कुराकानी पनि भइसकेको तर निश्कर्षमा पुग्न सकिएको छैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?