Comments Add Comment

चीनले भन्यो : वुहानबाट नेपालीलाई उद्धार गर्ने भए तयारी पूरा गर्नू

२१ माघ, काठमाडौं । चीनले कोरोना प्रभावित वुहानमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित रहेको बताएको छ । यदि उनीहरुलाई उद्धार गर्ने हो भने विमानस्थल क्वारेन्टाइन, महामारी रोकथामको तयारी पूरा गर्न र विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)का नेपाल प्रतिनिधिसँग परामर्श गर्न सुझाएको छ ।

मंगलबार काठमाडौंमा केही सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी चीनमा रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको बताएकी हुन् ।

वुहानमा रहेका नेपाली विद्यार्थीहरुको समस्या समाधान गर्न बेइजिङस्थित नेपाली दूताबाससँग चिनियाँ विदेश मन्त्रालयको सम्वन्धित विभाग नियमित सम्पर्कमा रहेको भन्दै राजदूत यान्छीले भनिन्, ‘हुवेई प्रान्त र वुहान नगरपालिकाका विदेश मामिला कार्यालय र सम्वन्धित विश्वविद्यालय उनीहरुलाई राम्रो बन्दोबस्ती उपलब्ध गराउने प्रयासमा छ ।’

महामारी रोकथामका लागि केही रोक लगाउनु स्वाभाविक भएको उनले बताइन् । केही नेपालीलाई चीनमा रोकिएको विषयमा सोधिएको प्रश्नमा उनले विमानस्थलमा चेकजाँच गर्दा उनीहरुको तापक्रम सामान्यभन्दा बढी पाएको बताइन् । उनले भनिन्, ‘यो उनीहरु स्वयं र अरुका लागि जरुरी छ ।’

राजदूत यान्छीले वुहानमा रहेका नेपालीहरुलाई उद्धार  गर्ने विषय आफूले पनि सुनेको बताइन् । यसका लागि कूटनीतिक माध्यमबाट कुराकानी गर्नुपर्ने भन्दै उनले भनिन्, ‘यदि नेपालले आफ्ना नागरिकलाई उद्धार गर्न चाहन्छ भने हाम्रो सल्लाह छ कि नेपाली पक्ष विमानस्थल क्वारेन्टाइन, महामारी रोकथाम तथा नियन्त्रणमा पूर्ण तयार रहनुपर्छ र महामारी रोकथामका लागि डब्लूएचओका प्रतिनिधिसँग सल्लाह गर्नुपर्छ ।’

यो पनि पढ्नुहोस चीनबाट नेपाली फर्काउन मन्त्रिपरिषदले आदेश जारी गरिसक्यो : मन्त्री ढकाल यो पनि पढ्नुहोस चीनबाट नेपाली विद्यार्थीको उद्धारमा कुन जहाज जाँदैछ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment