+
+
Shares

टेलिकमका कर्मचारीप्रति मन्त्री बास्कोटाको आक्रोश– हिसाब किताब राम्रै गर्छु

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २२ गते १६:५६

२२ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकममा आन्दोलनरत कर्मचारीहरुसँग हिसाब किताब राख्ने चेतावनी दिएका छन् । उनले राजनीति गर्ने भए पार्टी कार्यालयमा जान निर्देशन समेत दिए ।

नेपाल टेलिकमको विनियमावलीको विरोध गर्दै कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् । बुधबारको १६ औं वार्षिक उत्सव समारोहमा पनि कर्मचारीहरुले प्रदर्शन गरेका थिए ।

पहेंलो रंगको कागजलाई टोपी जस्तो बनाइ लगाएर समारोहमा उपस्थित भएका आन्दोलनरत कर्मचारीहरुतर्फ हेर्दै मन्त्री बास्कोटाले भने, ‘स्यान्टा क्लज जस्तो बनाएर उभिनु भएको छ । राजनीति गर्नु छ भने पार्टी कार्यालय जानुस् । संस्थाभित्र चल्दैन ।’

राजनीतिका लागि गरिने राजनीति जसरी भए पनि पराजित गर्ने दृढता व्यक्त गर्दै मन्त्री बास्कोटाले भने, ‘यो विनाशकारी सोच हो, यो सोच त्याग्नुपर्छ । यसको हिसाबकिताब पनि म राम्रै गर्छु । अराजकता सहिन्न ।’

उनले विनियमावली सरकारले बनाउने नभइ लोक सेवा आयोगले बनाउने स्पष्ट पारे ।

कुनै पनि संस्थाको वार्षिक उत्सव आमाको जन्मोत्सव जस्तै भएको भन्दै मन्त्री बास्कोटाले कर्मचारीहरुलाई भने, ‘आमाको जन्मोत्सवमा त खुसी हुने हो, शंख बजाउने होइन । संस्थालाई माया गर्नुस् ।’

उनले भने, ‘टेलिकमलाई सरकारले कान्छा छोरा–छोरीलाईजस्तो माया गरेको छ, तपाईंले शोक मनाउने होइन । जन्मदिनको दिनमा पनि खुसी मनाउन नसक्ने कस्तो हो तपाईंहरुको प्रवृत्ति ?’

वार्षिक उत्सवलाई सम्बोधनको क्रममा आन्दोलनरत कर्मचारीहरुविरुद्ध खरो रुपमा प्रस्तुत हुँदै मन्त्री बास्कोटाले भने, ‘जसले स्पेसिफिकेसन बनाउन जान्दैन त्यो झण्डा बोकेर हिँड्या छ, ब्याट्रीसम्म चोर्नेहरु छन् । बिग्रेको टावर बनाउन नजान्ने इन्जिनियरहरु छन् । त्यस्तालाई म संरक्षण गर्दिनँ ।’

उनले राजनीति गरिरहे टेलिकम पनि टिम्बर कर्पोरेसन र गोरखकाली टावर उद्योग जस्तै धरासायी हुने र कर्मचारीहरु थोरै सेवा सुविधा लिएर बाहिरनु पर्ने चेतावनी दिए ।

आन्दोलन छाडेर सुधारमा ध्यान दिन सुझाव दिँदै मन्त्री बास्कोटाले कर्मचारीहरुलाई भने, ‘आज बेलुका सांगीतिक प्रस्तुतिसहितको पार्टी छ, त्यो पार्टीमा आउनुहोला ।’

तस्वीरहरुः शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?