Comments Add Comment

बुटवलमा गर्भवती र सुत्केरीलाई घरमै पोषण र ‌‍औषधि

२२ माघ, बुटवल । बुटवलका विभिन्न सहरी स्वास्थ्य केन्द्रहरुमार्फत आधुनिक ल्याब सेवासहितको प्राथमिक स्वास्थ्य सेवा सञ्चालन भएपछि सेवाग्राहीको आकर्षण बढेको छ ।

सरकारी तबरका स्वास्थ्य संस्थामा सेवाग्राही विश्वस्त हुन नसकेको र सेवाप्रवाह पनि प्रभावकारी नभएका गुनासा आइरहेका बेला बुटवलमा भने सरकारीमै सेवा लिनेको संख्या उल्लेख्य छ ।

बुटवल उपमहानगरका १९ वटै वडाहरुमा मेडिकल अफिसर र जनस्वास्थ्य अधिकृतले आधुनिक ल्याबसहित नियमित सेवाप्रवाह गरिरहेका छन् ।

साना-साना स्वास्थ्य समस्यालाई लिएर पनि उनीहरु स्वास्थ्य संस्थामा जान थालेका छन् । उपमहानगरमा रहेको विभिन्न ९ वटा स्वास्थ्य संस्थामा कार्यरत ५५ जना स्वास्थ्यकर्मीहरु काममा खटिएका छन् ।

सहरी स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र तथा स्वास्थ्य चौकीमार्फत प्राथमिक स्वास्थ्य सेवालाई प्रभावकारी र विश्वसनीय बनाउने पहल थालिएदेखि नै नगरबासीको आकर्षण बढेको प्रमुख शिवराज सुवेदीको भनाइ छ ।

‘सेवाग्राहीको संख्या मात्रै होइन उनीहरुमा सन्तुष्टि पनि बढाउनेगरी सेवाप्रवाहलाई प्रभावकारी बनाउन पनि निर्देशन दिएका छौं,’ उनले अनलाइनखबरसँग भने ।

मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलब्ध गराउने कोसिस गरिएको उनले बताए ।

दैनिक बढ्दै सेवाग्राही

आर्थिक वर्ष २०७४/७५ मा नगरका सम्पूर्ण स्वास्थ्य संस्थाहरुबाट बहिरंग सेवा लिने २१ हजार चार सय ७३ जना रहेकोमा गत आव २०७५/७६ मा १० हजार भन्दा धेरैले बृद्धि भएका छन् । उक्त आवमा मात्रै कुल ३२ हजार आठ सय २१ जनाले सेवा लिएको उपमहानगरको शिक्षा, स्वास्थ्य तथा जनशंख्या महाशाखाको तथ्यांकमा छ ।

स्वास्थ्य संस्था नभएका वडाहरुमा वडाक्लिनिक सञ्चालनमा ल्याइएको छ । जसअन्र्तगत आव २०७४/७५ मा चार हजार सात सय चारजनाले सेवा लिएकोमा गत आव ०७५/७६ मा बृद्धि भइ नौ हजार पाँच सय ९० जना सेवाग्राही पुगेका छन् ।

‘सबैलाई पायक पर्ने मिलाएर १८ वटा संस्थामा सहित वडामा नभएका ठाउमा पनि स्वास्थ्य शिविर चलाएका छौं । उपमहानगरबाट ७२ प्रकारका औषधि निःशुल्क दिन्छौं,’ जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहले भने ।
एक्सरे, ल्याब, अल्ट्रासाउण्ड र ल्याबलाई सेवा उपलव्ध गराइएको मेडिकल अफिसर राजिव केसीले बताए ।

गर्भवती र सुत्केरीलाई घरमै पुगेर पोषण र औषधि

गर्भवती र सुत्केरीलाई घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको छ । पहिलो चरणमा सत्केरीलाई घरमै पुगेर पोषण सामग्री र भत्ता प्रदान गरिएको छ ।

यस्तै गर्भवतीलाई स्वास्थ्य संस्थामा आकर्षित गर्न क्याल्सियम चक्कीसहित पोषण साम्रागी सहयोग गरिएको छ ।

महिलामा स्वास्थ्य तथा सरसफाइ सम्बन्धी क्षमता अभिवृद्धि गराउने उद्देश्यले उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गर्नेमा बुटवल मुलुकमै नमूना भएका दाबी गरिएको छ ।

यस कार्यक्रम अन्र्तगत आव २०७५/७६ मा सात सय २० जना लाभान्वित भएका छन् । आव २०७४/७५ मा सात सय ७० जनाले मात्र गर्भजाँचको सेवा लिएकोमा आव २०७५/७६ मा एक हजार तीन सय १३ जनाले सेवा लिएका छन् ।

उपप्रमुख आचार्यले घरमै भेट्न गएर हालचाल सोधपुछ गर्ने र केही पोषण सामग्री प्रदान गर्दा उनीहरुमा सार्वजनिक स्वास्थ्यप्रति विश्वास बढेको पाइएको बताउँछिन् ।

प्रोटोकल अनुसार चारपटक गर्भजाँच गर्ने महिलाको संख्या पनि अघिल्लो वर्ष ३९५ रहेकोमा यो वर्ष ३२ प्रतिशतले वृद्धि भइ पाँच सय २३ पुगिसकेको छ ।

सबै वडालाई पायक पर्ने गरी सञ्चालन गरिएका स्वास्थ्य संस्था तथा विभिन्न समयमा गरिने स्वास्थ्य शिविरमा हरेक वर्ष समुदायको आकर्षण बढ्दै गएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए ।

नगरका स्वास्थ्य संस्थाहरुबाट ४० वर्षभन्दा माथिका नागरिकहरुलाई निःशुल्क सुगरको जाँच भइरहेको छ । यसखालको निःशुल्क सेवा मुलुकमै बुटवलले पहिलोपटक सुरु गरेको हो । यसअन्र्तगत करिब दुई हजार पँच सय जनाले यो सेवा लिइसकेको शिक्षा, स्वास्थ्य तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालको भनाइ छ ।

‘उपमहानगरका स्वास्थ्य संस्थाहरुबाट गर्भवती महिलाहरुको निशुल्क ल्याब परीक्षण गर्ने कार्यक्रम पनि बुटवलबाटै पहिलोपटक सुरु भएको हो, यसअन्र्तगत चालु आवको यो अवधिमा एक सय जनाले सेवा लिए,’ खनालले भने ।

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरदैलोमै चौमासिक रुपमा पुगेर स्वास्थ्य चेकजाँच र निःशुल्क औषधि उपलब्ध गराउने स्थानीय तहमा बुटवल अग्रणी मानिन्छ ।

‘नगरप्रमुख ज्यष्ठ नागरिक घरदैलो निःशुल्क स्वास्थ्य परीक्षण’ शीर्षकमा सुरु भएको यो कार्यक्रम अन्र्तगत एक हजार ३३२ जना ज्येष्ठ नागरिकले सेवा लिएको उपप्रमुख गोमादेवी आचार्यले बताइन् ।

ल्याबसँगै भौतिक विकास तथा स्तरोन्नती पनि

बुटवल वडा नं. १२ नयागाउंमा रहेको नगर स्वास्थ्य केन्द्रको भौतिक स्तरोन्नती गर्दै आधुनिक ल्यावसहित विशेषज्ञले सेवा प्रदान गर्दै आएका छन् । यस केन्द्रमा आयुर्वेद पद्दतिबाट पनि सेवा प्रदान हुँदै आएको छ ।

भवन बनेर पनि सञ्चालनमा नआएको यो केन्द्रलाई जनप्रतिनिधि निर्वाचित भएपछि तला थप गरेर नगर स्वास्थ्य प्रबर्धन केन्द्रका रुपमा विकास गरिएको छ । साथै आधुनिक ल्याबसहित विशेषज्ञको व्यवस्था गरेपछि अहिले दैनिक ४० देखि ६० जनासम्मले सेवा लिन थालेका छन् ।

यस्तै बुटवल १५, १६ र १७ लाई लक्षित गरेर सेमलार स्वास्थ्य चौकीमा तारबार, बाटो ग्राभेल गरिएको छ । बुटवल १८ र १९ लाई पायक पर्ने गरी मोतिपुर स्वास्थ्य चौकीमा कम्पाउण्ड वाल, ल्याब हल र रंगरोगन गरी चिटिक्क पारिएको छ ।

बुटवल ११ बुद्धनगर स्वास्थ्य चौकी निर्माण गरिएको छ भने वाउण्ड्री वालले सुरक्षित पारिएको छ । वडा न.४ मा शहरी स्वास्थ्य केन्द्रको स्थापना भइ सञ्चालनमा छ भने वडा न.७ शिवनगरमा ल्याबसहितको व्यवस्थित स्वास्थ्य केन्द्र सञ्चालनमा छ ।

खोप भण्डार केन्द्रदेखि योग र पञ्चकर्मको सेवा

खोपहरुको सुरक्षित भण्डारण गर्न बुटवलमै खोप भण्डारण केन्द्रको स्थापना भएको छ ।

सिद्धार्थ बाल तथा महिला अस्पतालमा यो केन्द्र स्थापना गरिएको छ । यस्तै लुम्बिनी आयुर्वेद औषधालयमा नियमित सेवाप्रवाहसहित ल्याबकोसमेत स्थापना गरिएको छ ।

योग एवम् पञ्चकर्मलाई पनि बुटवलले प्राथमिकतामा राखेको छ । स्कुले बालबालिकादेखि विभिन्न उमेर समूहकालाई योग र पञ्चकर्म सिकाइएको योगका प्रशिक्षक विष्णु आचार्य बताउँछन् ।

नगरका विभिन्न वडाहरमा ज्येष्ठ नागरिक स्वास्थ्य परिक्षण, महिला तथा बच्चाका लागि मातृशिशु स्वास्थ्य, महिलाहरुका लागि पाठेघर एवंम स्तन क्यान्सर स्कृनिङ, आँखाजँच, दन्त परिक्षण, छाला रोग र अपांगता सम्बन्धी शिविरहरु सञ्चालन गर्ने, नगरभित्रका सामुदायिक निमावि र माविमा सेनेटरी प्याड वितरण गर्ने र विभिन्न विद्यालयहरुमा आइरन चक्की वितरण भइरहेको उपमहानगरले जनाएको छ ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुको परिचयपत्र निर्माण गरी वितरण गर्ने काम भइरहेको छ । भने अस्पतालजन्य फोहोरमैला व्यवस्थापनका लागि कार्यदल मार्फत योजना निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

शिविरमार्फत १० हजारलाई सेवा

नगरका विभिन्न वडाहरुमा महिला तथा बच्चाका लागि मातृशिशु स्वास्थ्य परिक्षण शिविर, महिलाहरुका लागि पाठेघर एवम् स्तन क्यान्सर स्कृनिङ शिविर, ज्येष्ठ नागरिकका लागि स्वास्थ्य परीक्षण शिविरलगायत आँखाजाँच, दन्त परीक्षण, चर्मरोग, छाला रोग र अपांगता सम्बन्धी विभिन्न शिविरहरु सञ्चालन गरी करिब १० हजार जनालाई प्रत्यक्ष रुपमा सेवा प्रदान गरिएको छ ।

सेवा गरे पनि सम्मान पाउन नसकेको गुनासो गरिरहेका स्वास्थ्य स्वयमसेविकालाई बुटवलले भने सम्मान गरेको छ । उनीहरुलाई प्रोत्साहन भत्तादेखि पहिचानका लागि परिचयपत्रसमेत वितरण गरिएको छ ।

यहाँका एक सय ७४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुको परिचयपत्र वितरण गर्ने र यातायात तथा सञ्चार खर्च स्वरुप मासिक एक हजार प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment