Comments Add Comment

रामेछापको माझी गाउँमा एकीकृत नमुनाबस्ती बन्ने

२३ माघ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–३ डफ्काको माझी गाउँमा एकीकृत नमुनाबस्ती बन्ने भएको छ । बागमती प्रदेश सरकार र गाउँपालिकाको लगानीमा सो स्थानमा एकीकृत नमुनाबस्ती बन्न लागेको हो ।

बस्ती निर्माणका लागि गाउँपालिकाले ७५ लाख रुपैयाँ विनियोजन गरेको छ । एकीकृत बस्ती निर्माण गर्न बागमती प्रदेश सरकारले डेढ करोड रुपैयाँ प्रदान गरेको छ ।

नमुनाबस्ती निर्माण गर्न बागमती प्रदेशको कृषि निर्देशनालय र खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङबीच द्विपक्षीय सम्झौता भएको छ ।

बस्ती निर्माण गर्दा जग्गा प्राप्ती र घर निर्माणको लागि करिब ६ करोड रुपैयाँ लगानी हुने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । तीन महिनाभित्र एकीकृत बस्ती निर्माण हुने लक्ष्य गाउँपालिकाले लिएको छ ।

एकीकृत पर्यटकीय बस्ती निर्माणसँगै डफ्काका सीमान्कृत माझी समुदायको जीवनस्तर उकास्न सहयोग पुग्ने बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए । चलिरहेको वीपीमार्ग र निर्मार्ण भइरहेको मध्यपहाडी मार्गका कारण सुनकोसी किनारको माझी बस्तीको आर्थिक उन्नतिको आधार तयार भएको उनले बताए ।

नयाँ निर्माण हुने एकीकृत बस्तीलाई होमस्टेको रूपमा विकास गर्ने गाउँपालिका अध्यक्ष   तामाङले बताए । निर्माणाधिन मध्यपहाडी मार्गमा पर्ने सो बस्तीलाई माझी संस्कृतिको पर्यटकीय थलोको रुपमा विकास गर्ने योजना रहेको उनले बताए ।

एकीकृत बस्तीमा ४२ वटा २ कोठे घर निर्माण हुनेछन् । बस्ती निर्माणको लागि स्थानीय माझी समुदायले २६ रोपनी जग्गा उपलब्ध गराइसकेका छन् । बस्तीभित्र ४२ वटा घरहरुका साथै सभा हल, स्विमिङ पुल लगायतका सुविधाहरु हुने छन् । साथै सुनकोसी नदीमा डँगा र र्‍याफ्टिङ समेत गर्न पाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment