Comments Add Comment

बत्ती नभएपछि कलंकी अन्डरपास बन्यो दुर्घटनाको केन्द्र

सडक विभागमा डेलिगेसन जाने ट्राफिक प्रहरीको तयारी

२४ माघ, काठमाडौं । जाम घटाउन कलंकी चोकमा चीन सरकारले अन्डरपास बनाइदियो । रिंगरोडमा चल्ने गाडीहरु अन्डरपास भएर आवात-जावत गर्छन् । सरकारले आवश्यक न्युनतम् पूर्वाधारहरु नराख्दा यो अन्डरपास दुर्घटनाका हिसाबले भने ‘ब्ल्याक स्पट’ बनेको छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका निरीक्षक पुरुषोत्तम कार्की एक महिनाका बीचमा अन्डरपासभित्र ३ जनाले ज्यान गुमाइसकेको बताउँछन् । दर्जनौं घाइते भएको उनले बताए । कार्कीले हप्तैजसो अन्डरपासभित्र दुर्घटना भइरहेको भन्दै त्यसलाई रोक्न नसकेकोमा निरीहता प्रकट गरे ।

अन्डरपासभित्र दुर्घटना रोक्नका लागि तत्काल सुधारका काम नहुने संकेत पाएपछि ट्राफिक प्रहरीका अधिकारी यातायात विभागमा डेलिगेसन जाने तयारीमा छन् ।

अन्डरपासभित्रै दुर्घटना

बिहीबार विहान मात्रै बा ४ ख ८५७९ नम्बरको टिपरले अन्डरपास भित्रै प्रदेश २-०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै ज्यान गएको थियो । टिपरको ठक्करबाट रौतहट कटहरिया गाउँपालिका-४ का १९ वर्षीय राजेशकुमार चौधरी र पछाडि बसेका कटहरिया-७ का २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको हो । टिपरले ठक्कर दिएपछि मोटरसाइकलमा आगो लागेको थियो भने मृतकको कम्मरभन्दा मुनिको भाग आगोले जलेको थियो ।

सीसीटीभी फुटेजमा बाइकले लेन क्रस गरेर गलत लेनबाट जाँदै गरेको देखिएको छ । टि्रपर सही लेनबाट आइरहे पनि आफ्नै लेनमा बाइक आइरहेको देखेपछि बचाउनकै लागि अर्को लेनमा जान खाजेको देखिएको निरीक्षक कार्कीले बताए । बाइकले पनि टि्रपर देखेपछि आफ्नो लेनमा जान लाग्दा दुर्घटना भएको पाइएको छ ।

ट्राफिक प्रहरीका अनुसार यस्तो अवस्था आउनुमा मुख्य कारण अन्डरपासभित्रको कमजोर पूर्वाधार हो । यो अन्डरपासभित्रको सडकमा न लेन छुटि्टने गरी टल्किने रिफ्लेक्टर प्याड राखिएको छ, न पर्याप्त प्रकाश दिने विजुली बत्ती ।

‘साना-साना सीएफएलका भरमा अन्डरपास चलिरहेको छ । दिउँसो पनि अँध्यारो हुने अन्डरपासभित्रै पर्याप्त प्रकाश पुग्दैन,’ निरीक्षक कार्की भन्छन्, ‘रातको सयममा ओभर स्पीडमा आएका सवारी साधन अरुको लेनमा जाने गर्दा नै यहाँ बढी दुर्घटना भएका छन् ।’

केही समयअघि अन्डरपासभित्रै एउटा स्कुल बस र बूढानीलकण्ठ यातायातको बस जुधेका थिए । जसमा ड्राइभर च्यापिएपछि प्रहरीले निकै सकसपूर्ण तरिकाले उद्धार गरेको थियो । त्यसअघि टिपर र बोलेरो जिप पनि अन्डरपासभित्रै जुधेका थिए । त्यो दुर्घटनामा पनि बोलेरोका यात्रु भित्रै च्यापिएका थिए ।

निरीक्षक कार्की अन्डरपासभित्र भयानक दुर्घटना भइरहेको बताउँछन् । ‘बाहिर त गाडीहरु छुन्छन् मात्रै, यहाँ त राजमार्गमा जस्तै गरी जुध्छन्,’ उनले भने, ‘आफ्नो लेन क्रस गरेर अघि बढ्दै गर्दा अर्को गाडी आएपछि छल्न र बचाउन खोज्ने चक्करमा भएका दुर्घटनाले यहाँ धेरैको अंगभंग पनि भएको छ ।’

तत्काल बत्ती हाल्दैनौं : विभाग

सडक विभाग भने बत्ती नभएर मात्रै अन्डरपासमा दुर्घटना बढेको मान्दैन । प्रायः रातमा नै दुर्घटना भइरहेको भन्दै विभागले खास कारण खोज्नुपर्ने बताएको छ ।

चक्रपथ विस्तार आयोजनाका प्रमुख अमृतमणि रिमाल अन्डरपासभित्र पर्याप्त बत्ती नभएको स्वीकार्छन् । ‘तर, सचेत भएर चलाए दुर्घटना हुँदैन, रातमा ट्राफिक प्रहरीहरु सडकमा नबस्ने भएपछि रक्सी सेवन गरेर सवारी चलाउनेहरु बढी दुर्घटनामा परेका हुन् कि भनेर हेर्नुपर्छ,’ उनले भने । रिमालले पनि तत्कालै अन्डरपासभित्र बत्ती जोड्ने योजना नरहेको सुनाए ।

ट्राफिक प्रहरी निरीक्षक पुरुषोत्तम कार्की अन्डरपासलाई सुरक्षित बनाउन विभागमा आफैं डेलिगेसन जाने बताउँछन् । ‘अर्को हप्ता म आफैं विभागमा जान्छु र त्यहाँ गर्नुपर्ने सुधारबारे जानकारी गराउँछु,’ उनले भने ।

निरीक्षक कार्कीले सरकारले नगर्ने भए, सहयोग जुटाएर भए पनि अन्डरपासभित्र सुधारको काम गर्न अनुमति मागिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment