Comments Add Comment

राप्ती र्‍यापिड्सले जित्यो चितवन प्रिमियर लिगको उपाधि

२४, माघ, चितवन । राप्ती र्‍यापिड्स, पहिलो संस्करणको चितवन प्रिमियर लिग (सीपीएल) को च्याम्पियन बनेको छ । नारायणगढको क्याम्पाचौरमा शुक्रबार भएको फाइनल खेलमा सौराहा स्याण्ड्सलाई पराजित गर्दै राप्तीले उपाधि जितेको हो ।

सौराहाले दिएको १४० रनको लक्ष्य राप्तीले १७ ओभर ४ बलमामात्र २ विकेट गुमाउँदै पूरा गर्‍यो । राप्तीको जीतमा कप्तान आकाश थापाले ५७ बलमा ७४ रनको महत्वपूर्ण योगदान गरे । उनले १० चौका र २ छक्का प्रहार गरे ।

टस जितेर पहिले ब्याटिङ गरेको सौराहाले २० ओभरमा ४ विकेट गुमाउदै १३९ रन बनाएको थियो । सौराहाका ओपनरद्वय रित गौतम र राजेश ढकालले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए । म्यान अफ दि म्याच राप्तीका कप्तान आकाश थापा घोषित भए । उनले २ हजार प्राप्त गरे ।

बिजेता बनेको राप्तीले २ लाखसहित ट्रफी र मेडल पाएको छ भने उपविजेता सौराहाले एक लाख रुपैयाँ पाएको छ । राप्तीका हरिबहादुर चौहान प्लेयर अफ दि सिरिज घोषित भई १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

यस्तै, भरतपुर गुर्खाजका कृजन गुरुङ उत्कृष्ट बलर घोषित भए । उनले प्रतियोगितामा १३ ओभर ५ बल बलिङ गर्दै ७६ रन खर्चिएर ९ विकेट लिए । प्रतियोगिता भर ७३ बलमा १३१ रन बनाएका राप्तीका भीम सार्की उत्कृष्ट ब्याट्सम्यान घोषित भए ।

राप्तीकै कप्तान आकाश थापा उत्कृष्ट अलराउण्डर घोषित हुँदै चार हजारसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गरेका ३ जना खेलाडी एभरेष्ट प्रिमियर लिगमा चितवन टाइगर्सको ट्यालेन्ट हन्टमा छनोट भएका छन् । यसरी छानिने खेलाडीमा राप्तीका कप्तान आकाश थापा, उत्कृष्ट बलर भरतपुर गुर्खाजका कृजन गुरुङ र सौराहाका राजेश ढकाल छन् । यस्तै, भरतपुर गुर्खाजका कप्तान संघर्ष पौडेल वैकल्पिकमा परेका छन् ।

माघ १७ गतेबाट शुरु भएको प्रतियोगितामा चितवनका ५ टिम भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स, राप्ती र्‍यापिड्स, इच्छाकामना वारियर्स र माडी टाइगर्स सहभागी थिए । नारायणी एड्भरटाइजिङ एण्ड इभेन्ट्सको आयोजनामा सम्पन्न सीपीएलको सहआयोजकमा चितवन क्रिकेट संघ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment