Comments Add Comment

हामीले राम्रो गर्‍यौं भनेका छौं, तर जताततै निराशा छ : प्रचण्ड

'भक्ति गाउनेहरुबाट नेताहरु खतरामा'

नेकपा अध्यक्ष प्रचण्ड । फाइल फोटो

२४ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको घोषणा र जनताले गरेको अनुभूतिबीच ठूलो विरोधाभास रहेको बताएका छन् । राष्ट्रिय उद्योग व्यवसायी महासंघले शुक्रबार गरेको कार्यक्रममा उनले आफूले माथिबाट गरेको घोषणा र तल पिँधमा जनताले गरेको महसुसको बीचमा ‘कन्ट्राडिक्सन’ देखेको बताए ।

प्रचण्डले भने, ‘जनताले अर्कै महसुस गरिरहेको छ । हामीमाथि निकै राम्रो गरेका छौं भन्ठानेका छौं । हाम्रो नियत खराब छैन होला, हामीले राम्रो गर्न खोज्यौं होला, तर राम्रो गर्न खोज्नु एउटा कुरा हो । राज्यको हैसियतले जनताले त्यो कुरा महसुस गर्नु अर्को कुरा हो ।’

जनताले महसुस नगर्दासम्म हामीले राम्रो गर्‍यौं भन्नुको औचित्य पुष्टि नहुने प्रचण्डले बताए । प्रचण्डले सरकारको काम कारबाही उल्टो दिशामा त छैन भन्ने प्रश्न पनि उठाए ।
‘कतै हामी उल्टो दिशामा हिँडेका त छैनौं ? हामीले झन् मध्यमवर्गलाई करमाथि कर थोपरेर उनीहरुको ढाड सेक्ने दिशामा त छैनौं,’ प्रचण्डले प्रश्न गरे, ‘दलाल नोकरशाहहरुले मज्जाले एकाधिकार कायम गर्ने वातावरण बनेको त छैन ?’

सरकारले यस्ता विषयमा निर्ममतापूर्वक आत्मचिन्तन र आत्मसमीक्षा गर्नुपर्ने प्रचण्डले बताए । ‘हामीले भन्न त भनेका छौं भ्रष्टाचार गर्दैनौं र गर्न पनि दिँदैनौं, यो घोषणा आफैंमा राम्रो कुरा हुँदै हो,’ प्रचण्डले भने, ‘तर राज्यको समग्र व्यवहारमा स्थानीय तहदेखि संघसम्म भ्रष्टाचार रोकिन थालेको छ भन्ने अनुभूति जनताले गरे कि गरेनन् भन्यो भने ग्राफचाहिँ राम्रो आउँदैन ।’

वरिपरि बस्ने र भक्ति गाउनेहरुबाट नेताहरुसमेत खतरामा रहेको भन्दै प्रचण्डले धर्ती छोड्ने र आकाशमा पुग्ने खतरा नेतामा झन् बढी हुने टिप्पणी गरे

‘जनताले कम्युनिस्ट पार्टी भन्दैमा भोट दिँदैनन्’

जनताले भ्रष्टाचार झन् बढेको महसुस गरिरहेको भन्दै प्रचण्डले कर प्रणाली पनि जनताको पक्षमा नभएको टिप्पणी गरे । ‘कर प्रणाली जनताको पक्षमा भन्दा जनताको विरोधीको पक्षमा हुन थाल्यो कि क्या हो भन्ने जस्तो देखिन्छ,’ उनले भने, ‘जसलाई उत्थान गर्नुपर्ने हो त्यसलाई सुविधा दिनतिर केन्दि्रत भयौं कि त्यसले झन् असुविधा महसुस गरेर कता-कता उकुसमुकुस भएजस्तो स्थिति छ ।’

नाकाबन्दीविरुद्धको संघर्षमा जनताले भोकभोकै पनि साथ दिएको भन्दै प्रचण्डले अहिले बेस्सरी गर्‍यौं भनेका बेलामा जताततै निराशा देखिएको बताए । ‘अहिले बेस्सरी गर्‍यौं भनेका छौं तर जताततै निराशा छ भने यहाँ केही चिज ठीक भइराख्या छैन भन्ने देखाउँछ,’ उनले भने ।

कम्युनिस्ट पार्टीको सरकारले राष्ट्रिय पूँजीपति र गरिबलाई नरम खालको कर नीति लागू गर्नुपर्नेमा यस्तो महसुस नभएको प्रचण्डले बताए ।

आफूले सरकारप्रति सकारात्मक सोचका साथ यी कुरा भनेको भन्दै प्रचण्डले भने, ‘जति खुलेर छलफल गर्‍यो, जति गर्न सक्यो त्यति सरकारलाई र पार्टीलाई फाइदा हुन्छ ।’

वरिपरि बस्ने र भक्ति गाउनेहरुबाट नेताहरुसमेत खतरामा रहेको भन्दै प्रचण्डले धर्ती छोड्ने र आकाशमा पुग्ने खतरा नेतामा झन् बढी हुने टिप्पणी गरे ।

आउने दुई/तीन वर्ष राम्रो काम गर्न नसकेमा जनताले कम्युनिस्ट पार्टी भन्दैमा भोट नदिने पनि प्रचण्डले बताए । ‘जनतालाई कम्युनिस्ट र कांग्रेस त्यतिधेरै मतलब हुँदैन भन्ने देख्यौं नि त हामीले, जनताले जसलाई पनि उखेलेर फालिदिन्छ,’ उनले भने, ‘कम्युनिस्ट साइनबोर्ड र संविधानमा लेखिएको नाराले हामीलाई बचाउँदैन, हाम्रो व्यवहारले बचाउने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment