Comments Add Comment

फिल्ममा फ्लप, रियालिटी शोमा हिट केकीको डफ्फा

कमेडी च्याम्पियन चलाउनेहरुको दुःखसुख

नायिका केकी अधिकारीले एक वर्ष अगाडि एउटा कमेडी चलचित्र निर्माण गरिन्, ‘कोहलपुर एक्सप्रेस’ । तर, यो चलचित्रले उनलाई सोचेजस्तो सफलता दिलाएन । एउटा विदेशी फिल्मको नक्कल गरेको आरोप पनि लाग्यो ।

कोहलपुर एक्सप्रेस सोचेजस्तो नदौडिए पनि यो चलचित्रले एउटा उत्साही र सिर्जनशिल टिम निर्माण गरेको थियो । टिममा थिए, निर्देशक विशाल भण्डारी, नायिकाहरु ऋचा शर्मा, रिमा विश्वकर्मा लगायत । पहिलो चलचित्र फ्लप भए पनि कमेडी यो टिम आफ्नो क्षमतामा भने ढुक्क थिए ।

कोहलपुर एक्सप्रेसबाट पाठ सिक्दै यसका कमी–कमजोरी सच्याएर नयाँ चलचित्र निर्माण गर्न उनीहरुले स्कृप्टमा काम सुरु गरे । तर, निर्देशक विशाल भण्डारीको दिमागमा भने अर्कै कुरा घुम्न थाल्यो । उनी चलचित्र होइन, टेलिभिजन रियालिटी शोको परिकल्पनामा डुब्न थाले ।

नेपाली टेलिभिजनमा रियालिटी शोहरुको लोकप्रियता बढिरहेको थियो । केही रियालिटी शोमा आबद्ध भएर काम पनि गरेसकेकाले विशालमा अनुभवको कमी थिएन । ‘रियालिटी शो त गर्ने, तर कस्तो ?’ यो प्रश्नमा उनी निकै घोत्लिए ।

चलिरहेका शो भन्दा फरक गर्नुपर्ने चुनौती थियो । यहाँ गायन रियालिटी शो छ, डान्सिङ रियालिटी शो छ, साहासिक रियालिटी शो पनि छ । उनले झट्ट सोचे, ‘कमेडीको रियालिटी त छैन !’

विशालको मन कमेडी रियालिटी शोमा अड्कियो । टिममा छलफल गरे । सबैजना सहमत भए । नाम जुराइयो, ‘कमेडी च्याम्पियन’ ।

कमेडी रोज्नुको कारणबारे विशाल भन्छन्, ‘गायन रियालिटी शोहरुमा पनि कमेडीलाई निकै महत्व दिइएको हुन्छ । त्यसो भए सिंगै कमेडी शो गर्दा किन नचल्ला त भन्ने निष्कर्षमा पुग्यौं ।’

केमडी शो सुरु गर्ने भएपछि उनले त्यसमा अध्ययन गरे । आफ्नो सोच अनुसारको प्रतियोगीहरु नेपालमा छन् कि छैनन् भन्ने उनको पहिलो चिन्ता थियो । त्यसमा विश्वस्त भएपछि विशालको आँखा केही विदेशी कमेडी शोहरुमा पुग्यो ।

विशाल भन्छन्, ‘सबैभन्दा कान्छो इन्डस्ट्री भएको फाइदा त उठाइहाल्छौँ । बाहिरी शोहरु हेरेर त्यसबाट केही रिफ्रेन्स लिइयो ।’

कमेडीमा जे–जति रिफ्रेन्स लिए पनि विषयबस्तु विल्कुलै फरक हुने विशालको अनुभव छ । उनी भन्छन्, ‘कमेडीको बेसिक फम्र्याट त उस्तै नै हुन्छ । तर, प्रतियोगीले दिने प्रस्तुती भने अर्गानिक हुनुपर्छ । नत्र दर्शक हाँस्ने छैनन् ।’

चलचित्र बनाएर घाटा खाएकी केकीलाई कमेडीको तलतल मेटिएको थिएन । तर, अर्को धक्का खान पनि उनी चाहन्नथिइन् । त्यसैले सुरुमा विशालले ल्याएको प्रस्तावमा उनी हच्किइन् ।

विशालले भने, ‘उनलाई हामीले जबरजस्ती निर्माता बनाएका हौँ । निर्माता बन्न तयार नै थिइनन् ।’ विशालको कुरामा केकीले सहमति जनाइन् ।

तर, जवरजस्ती गरेकै भरमा उनले पैसा खन्याएकी भने होइनन् । केकीले भनिन्, ‘दर्शकले कमेडी रुचाइरहेको कुरामा हामी जानकार नै थियौँ । युवाहरुले स्ट्याण्डअप कमेडीमा चासो राखेको पाएँ । त्यसैले अन्ततः म पनि लगानी गर्न तयार भए ।’

साथै, निर्देशक विशालको क्षमतामाथि केकीको विश्वास थियो ।

उता फ्रेन्चाइज शो ‘नेपाल आइडल’ होस्ट गरिरहेकी रिमा विश्वकर्मा पनि यस टिममा आबद्ध थिइन् । कमेडी रियालिटी शोका लागि उनी नेपाल आइडल छोड्न तयार भइन् । तर, यो निर्णय लिन उनलाई कति गाह्रो भयो ?

रिमा भन्छिन्, ‘तपाई बस्ने होटल जतिसुकै सुविधासम्पन्न होस् न तपाईलाई आफ्नो घर नै प्यारो लाग्छ । यो हाम्रो घर हो । त्यसैले यतै आएँ ।’

रिमा आफ्नै वृत्तिविकासको लागि पनि चुनौती लिएको बताउँछिन् ।

‘हाम्रो टिम नै विकासोन्मुख छ । आफ्नो विकासको लागि पनि मैले मेरो कन्फर्ट जोन छोडेर बाहिर आउनु पर्ने हुन्थ्यो । त्यसमाथि केकी र विशालजी माथि म आँखा चिम्लेर विश्वास गर्न सक्छु । त्यसैले मैले नेपाल आइडल छोड्ने निर्णय लिएँ,’ रिमाले भनिन् ।

उनी अब आफूहरु काम खोजेर बस्ने भन्दा पनि काम सृजना गर्ने अवस्थामा पुगिसकेको दाबी गर्छिन् ।

‘अब अरुको भर पर्ने भन्दा पनि हामी आफैँ काम सृजना गर्ने र हामी जस्तै यो क्षेत्रमा आउन चाहानेहरुको लागि पनि अवसर सृजना गरिदिने सोचेर यो सुरु गरेका हौँ’, रिमाले भनिन् ।

खर्च कति ?

रियालिटी शो सञ्चालन गर्न सबैभन्दो पहिलो लगानी त सेटमै गर्नुपर्ने हुन्छ । सेट कति भव्य छ भन्नेले पनि रियालिटी शोको स्तर निर्धारण गर्छ ।

सेटको विषयमा रिमा बारम्बर भनिरहन्छिन्, ‘यो सेटमा लागेको खर्चले त एउटा नेपाली चलचित्र नै बन्छ’ ।

त्यो सत्य नै भएको निर्देशक विशाल बताउँछन् । उनले भने, ‘हाम्रो दर्शकले विभिन्न विदेशी शोहरु हेरिरहनु भएको छ । उहाँहरु त्यहाँको भव्य सेटसँग परिचित हुनुहुन्छ । त्यसैले हामीले पनि सेट बनाउदाँ त्यो लेभलको बनाउन सकेनौँ भने हामीलाई स्वीकार्नु हुन्न भन्ने लागेर राम्रै खर्च गरेर सेट बनाएका छौँ ।’

सुरुवाती एपिसोडमा सोचेजस्तो सेट नहुँदा दर्शकको चित्त बुझाउन नसकिएको अनुभव टिमको छ । तर, पछि परिवर्तन गर्दा सबै दंग भए ।

केकीलाई उक्त सेटमा विश्वास गर्न गाह्रो परिरेहको थियो । सेट छिर्दा उनको मनमा प्रश्न उब्जिन्थ्यो, ‘यो हाम्रै सेट हो ?’ तर, यसमा भएको लगानीले उनी केही डराएकी थिइन् ।

झण्डै ‘सटर बन्द’

कोहलपुर एक्सप्रेस टिमले रियालिटी शो ‘कमेडी च्याम्पियन’ ल्याउने कुराहरु समाचार बनिसकेको थियो । तर, कमेडी च्याम्पियनको सुरुवाती यात्रा भने पक्कै सहज थिएन । एकपटक त यसलाई बीचैमा छोड्ने मनस्थितिमा समेत उनीहरु पुगेका थिए ।

विशालले भने, ‘दशैंतिर एउटा यस्तो फेज आएको थियो, त्यसमा हामी सबै आत्तिइसकेका थियौँ । जति लगानी भयो, त्यसलाई माया मारिदिउँ भन्नेसम्म भएको थियो । तर, फेरि सबैले मन बलियो बनायौं ।’

केकी शो यो स्थानसम्म आइपुग्नुको जश विशाललाई दिन्छिन् ।

‘यो शोलाई यदी कसैले धानेर यहाँसम्म ल्याएको हो भने त्यो विशाल जी नै हो’, केकी भन्छन्, ‘हामी त डराइसकेका थियौँ । उहाँले पनि हात उठाउनु भएको भए शो त्यही बेला बन्द हुने थियो । उहाँले नै धकेलेर शोलाई यहाँ ल्याउनु भएको हो ।’

रिमा पनि विशाललाई धन्यवादको पात्र सम्झिन्छिन् । उनी भन्छिन्, ‘केही गलत भइरहेको छ कि भनेर सल्लाह गरिरहेका हुन्थ्यौँ । तर, विशालजीले सुरुमा यस्तै हो, यति भएपछि राम्रो हुन्छ भन्नुहुन्थ्यो । हामीलाई केही सान्त्वना मिल्थ्यो ।’

टिमलाई सान्त्वना दिदैँ गर्दा विशाल आफैं भित्रभित्र डराइरहेका हुन्थे ।

उनी भन्छन्, ‘म पनि आत्तिएको उनीहरुलाई देखाएँ भने त सबै बिग्रिन्छ । त्यसैले उनीहरुलाई डराएको जस्तो देखाइनँ । सबैलाई सम्झाइरहेँ ।’

ऋचाको छनोटमा उठेको प्रश्न !

च्याम्पियनमा चारजना जज छन्– सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा ।

सन्तोष पन्त पुराना हास्यकलाकार हुन् । मनोज गजुरेल स्ट्याण्डअप कमेडीमा चिनिएको नाम । अनि प्रदीप भट्टराई हिट कमेडी चलचित्रका निर्देशक ।

‘ऋचा शर्मालाई चाहिँ किन जज बनाएको ?’ धेरैले गरेको प्रश्न हो यो ।

निर्देशक विशालका अनुसार ऋचा पहिल्यै तय भएकी जज हुन् । कोहलपुर एक्सप्रेसको टीममा भएकाले ऋचालाई जजको रुपमा छनोट गरिएको थियो ।

विशाल भन्छन्, ‘हामीलाई एकजना खुलेर हाँस्ने केटीमान्छे चाहिएको थियो । त्यसमा ऋचाजीलाई भेट्ने अरु कोही होला जस्तो लागेन ।’

कोहलपुर एक्सप्रेस सुटिङ भएको कोहलपुर गाउँमा ऋचाको हाँसो चर्चित थियो । त्यसैले ऋचाको हाँस्ने कलामा सबै ढुक्क थिए ।

ऋचाको विषयमा रिमाको बुझाई भने अर्कै छ । उनले भनिन्, ‘हामी कुरा गरिरहेको बेला पनि ऋचा दिले निकै समिक्षात्मक पाराले बोल्नु हुन्छ । त्यसैले पनि उहाँले समिक्षा गर्न सक्नुहुन्छ भन्ने लागेर उहाँलाई राखेका हौँ ।’

सबै जजहरुले सजिलै विशालको प्रस्तावलाई स्विकारेका थिएनन् । विश्वास गरिहाल्नुपर्ने अवस्था पनि थिएन । त्यसैले ६–७ वटा मिटिङ बसेपछि मात्र विशाल र अन्य जजहरुबीच सम्झौता भयो ।

विशाल सम्झिन्छन्, ‘मनोज दाई त उत्साहित नै हुनुहुन्थ्यो । सन्तोष सरलाई पनि कन्भिन्स गर्न सकियो । तर, प्रदीप सरले चाहिँ शंका गर्नुभएको थियो । त्यही शंकाले हामीलाई राम्रो पनि गरेको छ ।’

रिमाको ‘होस्टिङ’

कमेडी च्याम्पियन हेर्दै गर्दा धेरैले भन्ने गर्छन्, रिमालाई होस्ट नराखेको भए हुने । कमेडी शो होस्ट गर्न त ‘कमेडी बेस्ड’ मान्छे नै राखेको भए हुने थियो ।

तर, रिमा यस कुरालाई मान्न तयार छैनन् । उनी भन्छिन्, ‘होस्टको काम भनेको हँसाउने होइन नि । हँसाउन त प्रतियोगीहरु हुनुहुन्छ । एउटा सञ्चालकको काम भनेको दर्शकलाई जोड्ने हो । मेरो ध्यान यत्ति हुन्छ कि, मैले बोलिरहेको बेला अरुको ध्यान नभड्कियोस् ।’

आएका नकारात्मक प्रतिकृयाबाट पनि रिमालाई कुनै असर परेको छैन । ‘यदी तपाईंले आलोचना र समीक्षा स्विकार्न सक्नुहुन्न भने तपाईंको प्रगति नै हुँदैन,’ रिमा भन्छिन्, ‘मिडियामा यत्रो वर्ष भइसक्यो । यसले मलाई के कुरा लिने, के कुरा नलिने भन्ने कुरा सिकाइसकेको छ । त्यसैले नराम्रो प्रतिक्रियाले मलाई असर गर्दैन ।’

सुरुवाती दिनमा रिमाको होस्टिङमा प्रश्न उठाउनेहरुले अहिले बधाई दिइरहेको रिमा बताउँछिन् । यदि रिमा टिममा नभएको भए पनि कमेडी च्याम्पियनको होस्टमा उनको विकल्प नै नभएको केकी बताउँछिन् । उनले भनिन्, ‘रियालिटी शो होस्ट गर्नेहरुमा रिमा जत्तिको ट्यालेन्ट मान्छे हामीले देखेका छैनौँ ।’

त्यसो त होस्टिङका लागि केकीको नाम पनि आएको थियो । तर, केकीको भन्दा सेन्सअफ ह्युमर रिमाको बढी देखियो । विशाल थप्छन्, ‘कम्पिटिसन गरेर नै हामीले रिमालाई ल्याएका हौँ ।’

खोजे जस्तै कमेडियन

डिजिटल अडिसन गरेर विभिन्न ठाउँबाट प्रतियोगीहरु यस शोमा भाग लिन आइपुगेका थिए । निर्देशक विशाल भण्डारी शोमा आफूहरुले खोजेजस्तै प्रतियोगीहरु पाएको बताउँछन् ।

उनले भने, ‘हामीसँग अर्बन कमेडी गर्ने सजन श्रेष्ठ, आदर्श मिश्रहरु हुनुहुन्छ । एकदमै फरक कमेडी गर्ने अमोघ अर्याल हुनुहुन्थ्यो । खड्गबहादुर पुन, विष्णुप्रसाद गौडेल र सुमन कोइराला अर्गानिक कमेडियन हुनुहुन्छ । हिमेश पन्त र सुमन कार्की जस्ता क्यारिकेचर गर्नेहरु पनि छन् । त्यसैले हामी भन्न सक्छौँ, हाम्रो शो फूल इन्टरटेन्टमेन्ट प्याकेज नै बनेको छ ।’

केकी त्यही फरक–फरक कमेडी गर्नेहरु शोमा भएका कारण दर्शकले रुचाएको तर्क गर्छिन् । उनले भनिन्, ‘एउटै धारको कुरालाई हेरिरहन दर्शकलाई उत्साह हुन्न । फरक–फरक भएर नै दर्शकले त्यसलाई रुचाउनु भएको हो ।’

कमेडियनलाई विषयबस्तु टिमले नै छानिदिन्छ । लेख्ने काम प्रतियोगीकै हो । विशाल भन्छन्, ‘उहाँहरुले लेखेको कुरालाई हाम्रो एउटा टिमले केही छाँटकाँट र परिस्कृत गरिदिनुहुन्छ । नत्र सबै उहाँहरुले नै लेख्ने हो ।’

नतिजाले खुसी छ मन

सुरुवाती दिनको दुःखलाई अहिले टिमले भुल्न थालिसकेको छ । देश–विदेशबाट आएको सकरात्मक प्रतिक्रियाले मन प्रफुल्लित बनाएको छ । आफ्नो काम र मेहनतको फल पाइरहेको अनुभूति गरिरहेको छ, कमेडी च्याम्पियन टिम ।

निर्देशक विशाल यो शो यति हिट होला भनेर सोच्दै नसोचेको बताउँछन् । उनले भने, ‘हामीले चुनौती नै लिएका थियौँ । लागेको थिएन, यतिसम्म हिट हुन्छ । तर, अहिले देश–विदेशबाट सकरात्मक प्रतिक्रियाहरु पाइरहँदा मन साँच्चिकै खुसीले गद्गद् भएको छ ।’

केकी कमेडी च्याम्पियनको सफलतालाई विश्वास गर्नै सकिरहेकी छैनन् । भन्छिन्, ‘मलाई धेरै जनाले च्याम्पियनको बिषयमा म्यासेज गर्नुहुन्छ । प्रायः म्यासेजहरु यति सकारात्मक हुन्छन् कि मलाई विश्वास गर्नै कठिन हुन्छ ।’ केकीले म्यासेजको स्कृनसट गरेर टिममा पठाउँछिन् र सोध्छिन्, ‘के साँच्चिकै यस्तै राम्रो भइरहेको छ र ?’

यो शो धेरैको थकान मेट्ने आधार बनेको केकीको बुझाई छ । उनलाई आएका म्यासेजहरुले पनि त्यहीँ बताइरहेको छ । केकीले थपिन्, ‘अब त हामी कसैको थकान मेट्ने आधार बनिसकेछौँ । यो भन्दा खुसी के हुन्छ होला र !’

रिमा आफूले कमाएको सम्मान र माया अहिले दर्शकलाई फिर्ता गरिरहेको बताउँछिन् । उनी भन्छिन्, ‘हामीले हाम्रो कामको सम्मान र माया पाइरहेका थियौँ । अहिले उहाँहरुले दिनुभएको प्रतिक्रियाबाट हामीले उहाँहरुलाई माया फिर्ता दिइरहेको जस्तै लागेको छ । उहाँलाई खुसी बनाउनु पर्ने हाम्रो जिम्मेवारी पुरा गरेको जस्तो लागेको छ ।’

अझ, टिमलाई खुसी बनाउने अर्को कुरा छ, ‘कसैको सपनाको सारथी बन्नु’ । हो, कमेडी च्याम्पियन शोमा भाग लिन आएका प्रतियोगीहरुको सपनाको साथी बनेको छ ।

‘जो जतिले हामीलाई विश्वास गरेर शोमा भाग लिनु भएको छ नि, यो उहाँहरुको लागि प्रतियोगिता मात्र होइन । यो त उहाँहरुको करिअर हो, सपना हो,’ केकी भन्छिन्, ‘हामी फेल भयौँ ठिक छ, अर्को काम गर्न सक्छौँ । तर, उहाँहरुको के होला ? भन्ने प्रश्नले हामीलाई पोलिरहेको हुन्थ्यो । अहिले शो हिट हुँदै गर्दा उहाँहरुको सपना पनि पुरा हुँदै गएको छ । उहाँहरुको सपनाको हिस्सा बन्न पाउँदा हामी खुसी छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment