Comments Add Comment

अस्ट्रेलियामा दुई दशकयताकै ठूलो पानी पर्‍यो, डढेलो निभ्यो तर जनजीवन प्रभावित

Photo Credit : ABC

२६ माघ, काठमाडौं । अष्ट्रेलियाको न्यु साउथवेल्स राज्यमा भारी वर्षा भएको छ । वर्षाका कारण राजधानी क्यानबेरासहित अधिकांश क्षेत्र जलमग्न भएका छन् ।

सडकहरु जलमग्न भएपछि यातायात सेवा प्रभावित भएको छ भने कतिपय क्षेत्रका बासिन्दा विद्युत सेवाबाट पनि बञ्चित भएका छन् ।

न्यु साउथवेल्स राज्यमा गत बुधबारदेखि नै पानी परिरहेको छ । शनिबार रातिको वर्षा दुई दशकयताकै ठूलो मापन गरिएको अधिकारीहरुले बताएका छन् ।

शनिबार रातिको भारी वर्षाका कारण झण्डै पाँच हजार हेक्टर वन क्षेत्र सखाप पारेको ठूलो डढेलो भने निभेको बताइएको छ । डुबान क्षेत्रमा एक व्यक्ति पौडिँदै फास्टफुड रेष्टुरेन्टमा पुगेको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भएको छ ।

उत्तरी सिड्नी र रिचमण्डको होचो भूभागमा बसोबास गरेकाहरुलाई सुरक्षित स्थानमा सारिएको छ । जलसतह बढेर उत्तरी रिचमण्ड पुललाई छोएपछि त्यहााबाट आवतजावत गर्न रोक लगाइएको छ ।

आइतबार दिउँसोबाट सिड्नी, सेन्ट्रल कोस्ट, हन्टर, ब्लु माउन्टेन्स र इलवारा क्षेत्रमा विद्युत सेवा बन्द भएको छ । बिजुली नहुँदा त्यहाँका हजारौं बासिन्दा समस्यामा परेका छन् ।

हावासहितको वर्षाका कारण सडक किनारको रुख ढल्दा एउटा कार थिचिएको तस्वीर न्यु साउथवेल्सको एम्बुलेन्स सेवाको ट्वीटर ह्याण्डलबाट सार्वजनिक गरिएको छ । सो घटनामा चार जना घाइते भएका छन् । उनीहरुको गर्धन र ढाडमा चोट लागेको छ ।

मौसमविदहरुले भारी वर्षा र बाढीका कारण स्थिति खतरनाक हुनसक्ने चेतावनी दिँदै पूर्वसतर्कता अपनाउन सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment