Comments Add Comment

खरिपाटी क्वारेन्टाइन ! (भिडियोसहित)

मेयर भन्छन्- संघीय सरकारले छलफल गरेन

२७ माघ, काठमाडौं । भक्तपुरको खरिपाटीमा अवस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र परिसरमा सरसफाइ गर्न कामदारलाई भ्याई-नभ्याई छ । दराज लगायतका सामानहरु बाहिर चौरीमा निकालिएका छन् । चोटा-कोठा धमाधम सफा पारिँदैछ । हतारमा यसो गर्नुको कारण हो- चीनको वुहानबाट ल्याइने विद्यार्थीलाई १४ दिन ‘क्वारेन्टाइन’ मा राख्ने बन्दोबस्तको तयारी । सरकारले फागुन ३ गते वाइड बडी विमान चीन पठाउँदैछ ।

चीनमा कोरोना भाइरसको संक्रमण देखिएपछि विभिन्न देशले आफ्ना नागरिकहरु स्वदेश फिर्ता लगिसकेका छन् । नेपाल सरकारले पनि अहिले चीनको वुहानबाट आफ्ना नागरिक फर्काउने तयारी गरिरहेको छ । उनीहरुलाई ल्याएर खरिपाटीमा रहेका प्राधिकरणका भवनहरुमा राखिनेछ ।

चीनमा रहेका नेपालीलाई फर्काएर केही समय राख्नका लागि खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणका दुइटा भवन खाली गराइएको छ । प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराइएको हो ।

चीनबाट नेपाल ल्याइने नागरिकलाई राख्ने विषयले अहिले खरिपाटीका वासिन्दामा चिन्ता फैलिएको छ । आखिर के हुँदैछ त खरिपाटीमा अहिले ? चीनबाट ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न नदिने बताउँदै आएका स्थानीय बासिन्दा के भन्छन् ? सुनौं स्थगलत रिपोर्टिङ


आइतबार दिउँसो अनलाइनखबरको टोली विद्युत प्राधिकरणको भवनमा पुग्दा कर्मचारीहरुले भित्र प्रवेश गर्न दिएनन् । हामीले बाहिरी अवस्थाको रिपोर्टिङ गर्‍यौं । स्थानीयबासीहरु एवं चाँगुनारायण नगरपालिकाका मेयरसँग पनि कुराकानी गर्‍यौं । प्राधिकरण परिसरको दृश्य झल्किने केही तस्वीरहरु खिच्यौं । भित्र धमाधम सरसफाइ भइरहे पनि बाहिरचाहिँ विरोधमा काला ब्यानर र नाराहरु देखिए ।

एक स्थानीय हजुरबाले अनलाइनखबरसँग भने, ‘अब त सरकारले गाउँ नै सोत्तर पार्ला जस्तो छ, ओली सरकारले हामीलाई त जनता नै होइन जस्तै व्यवहार गर्‍यो ।

उनको अनुहारमा केही आक्रोश पनि देखिन्थ्यो । ती वृद्धसँगै तालिम केन्द्रको गेट नजिकै थप केही व्यक्तिहरु कोरोना भाइरसकै विषयमा कुराकानी गरिरहेका थिए ।

वृद्धले आफ्नो परिचय दिए । नाम विष्णुप्रसाद लामिछाने, उमेर ७१ वर्ष ।

उनको अनुहार चिन्ताले ग्रसित थियो । र, उनी चिन्तित हुनुको मुख्य कारण थियो- चीनबाट फर्काउन लागिएका नेपाली । क्वारेन्टाइनबारे नबुझेका वृद्ध अनावश्यक भ्रमका कारण त्रसित देखिन्थे ।
यो पनि पढ्नुहोस चीनबाट उद्धार गरिने नेपालीलाई चार स्थानमा राखिने

सोही ठाउँका अर्का वृद्धा रामहरी थापा पनि चिन्ता पनि उस्तै थियो । चीनबाट नेपाली ल्याएर राखिदिए गाउँ नै रोगले थलिने चिन्ता उनमा रहेछ । सरकारले यही ठाउँ मात्रै किन देख्यो भन्दै उनले आक्रोश पोखे ।

‘अन्त एकान्त ठाउँ पनि थियो होला, हाम्रै गाउँको वीचमा ल्याएर राख्नुपरेको किन ?’ उनले भने, ‘अब सबै रोगी भए सरकारले के गर्छ ?’

तालिम केन्द्रको ठीक अगाडि चिया तथा किराना पसल सञ्चालन गरिरहेका अर्जुन थापाको चिन्ता पनि उस्तै देखियो । बोल्दाबोल्दा आफूहरु थाकिसकेको भए पनि सरकारले गुनासो नसुनेको उनले बताए ।

‘यहाँ आन्दोलन नै भयो, हामीले नगरपालिका घेर्‍यौं, तर खै सुनुवाई भएन, ल्याएर राख्ने नै भए’ थापाले भने, ‘यहाँ धुलोको शिकार भएको ७ वर्ष भइसक्यो, सरकारले त्यता ध्यान दिँदैन बरु अर्को भाइरसको पीडा थप्ने कोशिस गरिरहेको छ ।’

स्थानीय विष्णुप्रसाद, रामहरी र अर्जुन थापा प्रतिनिधि पात्र मात्र हुन् । यहाँका सबै स्थानीयको गुनासो उस्तै छ । सबैले सरकारसँग दुःखेसो गरे ।

स्थानीय जनता मात्र होइन, यहाँको स्थानीय सरकारसमेत विरोधमा छ । चाँगुनारायण नगरपालिकाले चीनबाट ल्याएका नेपालीहरुलाई खरिपाटीमा राख्न नदिने भन्दै नगरसभाबाटै निर्णय नै गराइसकेको छ ।

मेयर भन्छन्- मैले पनि समाचार पढेर थाहाँ पाएँ

चीनमा रहेका नेपालीलाई खरिपाटीको विद्युत् प्राधिकरणमा ल्याएर राख्ने विषयमा स्थानीय सरकार पनि असन्तुष्ट छ । नगरपालिकाले खरिपाटीमा राख्न नदिने भन्दै नगरसभाबाटै निर्णय गराएको छ ।

सो निर्णयको जानकारी नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा समेत गराएको छ । खरिपाटीमा राख्ने विषयमा संघीय सरकारले कुनै पनि किसिमको छलफल आफूसँग नगरेको स्थानीय सरकारको गुनासो छ ।

नेकपाका नेतासमेत रहेका चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र यस विषयमा सञ्चारमाध्यम हेरेर मात्रै आफूले जानकारी पाएको बताउँछन् । उनले संघीय सरकारले कुनै किसिमको सल्लाह नगरी स्थानीयलाई नबुझाई चीनबाट नेपालीहरु ल्याउन लागेकाले पनि सर्वसाधारणले विरोध गरेको र नगरले बाध्य भएर निर्णय नै गराउनुपरेको बताए ।

‘यहाँ राख्न लागिएको भन्ने कुरा पनि मैले त, तपाईहरुले लेखेपछि थाहा पाएँ’ मेयर मिश्र भन्छन्, ‘प्राधिकरण संघीय सरकार मातहतको भएर होला, नगरपालिकालाई केही खबर नै गरेको छैन ।’

मिश्रले चीनबाट फर्काइएका नेपालीका लागि खरिपाटीमा क्वारेन्टाइन राख्ने सरकारको निर्णय कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको नगरसभाले ठहर गर्दै त्यसको विकल्प खोज्न आग्रह गरेको दोहोर्‍याए ।
यो पनि पढ्नुहोस वुहानका नेपालीको उद्धारका ‘मुख्य मापदण्ड’ पूरा गर्नै बाँकी !

चाँगुनारायणको केन्द्र र बस्तीको बीचमा रहेको यो क्षेत्र कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको भन्दै यो क्षेत्रमा क्वारेन्टाइन राख्दा स्थानीयवासीबाट आउने अवरोध र संकटलाई मध्यनजर गर्दै सरकारलाई अन्यत्र विकल्प खोज्न आग्रह गरेको मिश्रको भनाइ छ ।

तर, चीनबाट ल्याएका नेपालीहरुलाई राख्नै नदिने मनसाय स्थानीयको नभएको उनी बताउँछन् । सरकारले स्वास्थ्य सुरक्षाको ग्यारेन्टी भने दिनुपर्ने उनी बताउँछन् ।

‘सकेसम्म यस्तो वस्तीको वीचमा होइन, एकान्त ठाउँ खोज्नुपर्‍यो, यदि यहीँ राख्ने नै भए यहाँका जनताको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी सरकारले गर्नुपर्‍यो,’ मिश्रले भने ।

बुझाउन नसक्नु सरकारको कमजोरी

खरिपाटीका स्थानीयको चिन्ताको विषय भनेको रोग फैलिएर गाउँ नै सखाप होला कि भन्ने छ । तर, ल्याउन लागिएका नेपालीहरु कोरोना संक्रमित होइनन् । संक्रमित नभए पनि १४ दिनसम्म सरकारले उनीहरुलाई छुट्टै क्वारेन्टाइनमा राख्न खोजेको हो ।

तर, धेरै स्थानीयले बिरामीलाई नै ल्याएर राख्न लागिएको बुझेका छन् ।

बौद्धिक वर्गलाई भने संक्रमित नभएका निरोगीलाई नै ल्याउन लागिएको भन्ने थाहा छ । तर, उनीहरुले स्थानीयलाई बुझाउन सकेका छैनन् । स्थानीय विरोध गरेकोमा खरीपाटीका स्थानीयबासीमा मानवता नभएको भन्दै चीनमा रहेका विद्यार्थीले गुनासो गरेका छन् ।
यो पनि पढ्नुहोस चीनमा रहेका छोराछोरी नेपाल ल्याउन माग गर्दै स्वास्थ्य मन्त्रालय घेराउ

तर, यो विषयमा सरकारकै पनि कमजोरी देखिएको छ । सरकारले स्थानीयलाई राम्ररी बुझाउन नसक्दा त्रास फैलिएको छ । स्थानीय व्यवसायी अर्जुन थापा भन्छन्, ‘सरकारले रोग नलागेकालाई ल्याउने त भनेको छ, तर भोलि कसैलाई लाग्यो भने संक्रमण फैलिन नदिन के हुन्छ भन्ने कुरा आएको छैन ।’

स्थानीय ईश्वरीप्रसाद लामिछानेको चिन्ताको विषय पनि उस्तै छ । ‘जहाँका जो भए पनि हाम्रै नेपाली दाजुभाइ, दिदीबहिनी हुन्, हामी घरभित्रै राख्न परे पनि राख्छौं’ ईश्वरीप्रसाद भन्छन्, ‘हामीमा मानवता छ, तर संक्रमण भइहाले कसरी जोउने भन्ने त स्पष्ट हुन पर्‍यो नि ।’
यो पनि पढ्नुहोस ‘बाँसुरी बजाउन समय छ, हामीलाई भेट्न फुर्सद हुन्न’

सरकारले यहाँका सर्वसाधारणलाई वास्तविकता बुझाउन नसकेको स्थानीय बोधनाथ लामिछाने बताउँछन् । सरकारले स्थानीयलाई केही नभनी ल्याएर राख्न खोजेको उनले बताए । सरकारले रोग लागिहाले के गर्ने भन्ने विषयसम्म बुझाउन नसकेका कारण स्थानीयमा त्रास फैलिएको उनी बताउँछन् ।

फोटो/भिडियो : शंकर गिरी/अनलाइनखबर

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment