Comments Add Comment
कांग्रेस बैठकमा गच्छदारको डेढघण्टा वयान :

राष्ट्रपतिलाई दुईचोटि भेटें, म पनि मन्त्री थिएँ भन्नुभाथ्यो : गच्छदार

विजय गच्छदारमाथि गगन थापाका दुई प्रश्न

२७ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको छायाँ बनेको ठहर गरेको छ ।यो प्रकरणमा अख्तियारले दायर गरेको मुद्दा आफैं विरोधाभासपूर्ण रहेको भन्दै उसले खेद व्यक्त गरेको छ ।

तर, यो मुद्दा कानूनीरुपमा अभियोग लागेका पार्टी उपसभापति विजयकुमार गच्छदार स्वयंले सामना गर्ने बताएको छ ।

ललितानिवास प्रकरणमा अख्तियारले गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा लगाएको छ । पूर्वाग्रही ढंगले मुद्दा लगाएको भन्दै लगातार संसद अवरुद्ध पार्दै आएको छ । यसबारे छलफल गर्न सोमबार केन्द्रीय समिति बैठक समेत बोलाएको थियो, जसमा गच्छदार स्वयंमले करिव डेढ घन्टा बोलेका थिए ।

एक केन्द्रीय सदस्यका अनुसार बैठकमा गच्छदारले ललिता निवास प्रकरणमा अख्तियारले मुद्दा दायर गर्नुअघि आफूले गरेको राजनीतिक दौडधुप सुनाएका थिए । दुईपटक आफूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको र आफूविरुद्ध मुद्दा लगाउने अनुमान सुनाएको बताए ।

त्यसबेला मन्त्री रहेकी भण्डारीले ‘म पनि मन्त्री थिएँ नि’ भन्दै केही हुँदैन भनेर ढाडस दिएको गच्छदारले बैठकमा सुनाए । आफूले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै कांग्रेसका नेताहरुलाई समेत भेटेको उनले बताए ।

‘मैले सबैलाई भेटेँ र आफ्नो कुरा भनेँ’ कांग्रेस बैठकमा गच्छदारले भनेे, ‘सबैले केही हुँदैन भनेका थिए । तर, पूर्वाग्रह राखेर मलाई मुद्दा लगाइयो ।’

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनअनुसार प्रस्ताव लगेको भन्दै गच्छदारले सानेपामा कागजातका मूठो नै देखाएका थिए । त्यसबेला प्रधानमन्त्री नेपालले लिखित निर्देशन दिनुका साथै हरेकपटक भेट्दा प्रधानमन्त्री निवास पञ्चायतकालमा बनेको र त्यहाँ कोही पनि पूरा कार्यकाल नटिकेकाले बस्न योग्य बनाउनुपर्छ भन्ने गरेको उनले सुनाए ।

‘मैले त सैद्धान्तिक सहमतिका लागि प्रस्ताव मात्र लगेको हुँ । त्यसमा मैले गलत नियत राख्न सक्ने अवस्था छैन’ गच्छदारले भने, ‘मैले प्रस्ताव लगेपछि भूमिसुधार मन्त्रालयमा गयो, फेरि क्याबिनेटमा आयो । लामो समय छलफल भयो, त्यसबेलाका सबै मन्त्रीलाई थाहा छ ।’

राजनीतिक पूर्वाग्रहका आधारमा कांग्रेसलाई फसाउने प्रारम्भ आफूबाट भएको गच्छदारले बैठकमा बताए । त्यसमा पार्टीले आफूलाई विश्वास गरेको र साथ दिएको भदै उनले धन्यवादसमेत दिएको एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।

गच्छदारलाई गगन थापाका दुई प्रश्न

बैठकमा डेढ घण्टा बोलेका गच्छदारलाई केन्द्रीय सदस्य गगन थापाले दुईवटा प्रश्न राखेका थिए । एक नेताका अनुसार थापाले आफ्नो मन्त्रालय अन्तरगत नपर्ने प्रस्ताव किन लैजानुभयो भनेर सोधे । साथै प्रस्ताव लैजाँदा कानून मन्त्रालयको सैद्धान्तिक सहमति लिनुभएको थियो कि थिएन भनेर गच्छदारलाई प्रश्न गरे ।

पार्टीका नेता भएकाले गच्छदार निर्दोष छन् भन्ने कांग्रेसको विश्वास भएको तर, दोषी कि निर्दोष भनेर प्रमाणका आधारमा अदालतले हेर्ने भन्दै थापाले ललितानिवास प्रकरणमा पार्टीको अडान के हो भन्ने प्रश्न गरेका छन् । एकातिर गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाइयो भन्ने र अर्कोतिर पूर्वप्रधानमन्त्रीलाई किन छाडियो भन्नु विरोधाभाषपूर्ण भएको बताउँदै थापाले बैठकमा भने, ‘तत्कालीन प्रधानमन्त्री र मन्त्रीहरु कसैले पनि बदनियत राखेको थिएन भन्ने कि सबैमाथि छानविन गर भन्ने हो ? हामीले भन्न खोजेको के हो ?’

मुद्दा लागिसकेकाले कानूनी लडाइँ गच्छदारले नै लड्नुपर्ने भन्दै अख्तियारलाई सरकारको एउटा विभाग जस्तो बनाउने खोजिएकोमा कांग्रेसले विरोध गर्नुपर्ने थापाले बैठकमा बताए । त्यसपछि अरु नेताहरुले पनि अख्तियारलाई स्वायत्त बनाउन जोड दिनुपर्ने बताए ।

कांग्रेसको निश्कर्ष- अख्तियारले दोहोरो मापदण्ड अपनायो

कांग्रेसको बैठकले अख्तियारको अभियोगपत्र आफैंमा विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्डयुक्त भएको ठहर गरेको छ ।

उपसभापति गच्छदारमाथि सरकारको प्रभाव र दबावमा मुद्दा दायर भएको पुष्टि भएको भन्दै कांग्रेसले भनेको छ, ‘यो कार्य राजनैतिक पूर्वाग्रह र वदनियतले प्रेरित रहेको ठहर गर्दै बैठक घोर भत्र्सना र खेद व्यक्त गर्दछ तथा यस्तो प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक रुपले प्रतिवाद गर्ने निर्णय गर्दछ ।’

साथै नेता गच्छदार कानूनीरुपमा सामना गर्दै निर्दोष सावित हुनुहुनेछ भन्ने विश्वास रहेको कांग्रेसले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment