Comments Add Comment

सानेपाको निचोड- गच्छदार आफैं लड, अरुका लागि कांग्रेस लड्छ !

संसदको अवरोध हटाउन कांग्रेस तयार

२७ माघ, काठमाडौं । नेपाली कांग्रेसले पार्टी उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाएको भन्दै गरिरहेको संसदको अवरोध हट्ने भएको छ । यद्यपि यसबारे औपचारिक निर्णय भने संसदीय दलले गर्ने छ ।

अख्तियारले २२ माघमा ललिता निवास जग्गा प्रकरणमा तत्कालीन भौतिक योजनामन्त्री गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसको भोलिपल्ट कांग्रेसले आयोग सरकारको छायाँ बनेको भन्दै स्वीकार्य नहुने बतायो । त्यसयता उसले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

तर, सोमबार कांग्रेसका शीर्षनेताहरुबीच संसदको अवरोध हटाउने सहमति जुटेको छ । पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्नुपूर्व शीर्ष नेताहरुले यसकबारे छलफल गरेका थिए ।

लगत्तै बसेको केन्द्रीय समिति बैठकमा भने बैठकमा उपसभापति गच्छदारले डेढ घन्टा लामो सम्बोधन गरेका थिए । राजनीतिक प्रतिशोधका आधारमा कांग्रेस नेताहरुलाई फसाउने श्रृंखला आफूबाट सुरु भएको समेत उनको दाबी थियो ।

स्रोतका अनुसार गच्छदारको बचाउमा वक्तव्यको मस्यौदासमेत तयार भएको थियो । तर, केन्द्रीय सदस्यहरुले विरोध गरे । गगन थापाले आफ्नो मन्त्रालय अन्तरगत नपर्ने प्रस्ताव किन लैजानुभयो र प्रस्ताव लैजाँदा कानून मन्त्रालयको सैद्धान्तिक सहमति लिनुभएको थियो कि थिएन भनेर गच्छदारलाई प्रश्न गरे ।

एकातिर गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाइयो भन्ने र अर्कोतिर पूर्वप्रधानमन्त्रीलाई किन छाडियो भन्नु विरोधाभाषपूर्ण भएको बताउँदै थापाले बैठकमा भने, ‘तत्कालीन प्रधानमन्त्री र मन्त्रीहरु कसैले पनि बदनियत राखेको थिएन भन्ने कि सबैमाथि छानविन गर भन्ने हो ? हामीले भन्न खोजेको के हो ?’

मुद्दा लागिसकेकाले कानूनी लडाइँ गच्छदार स्वयंमले लड्नुपर्ने भन्दै उनले संवैधानिक निकाय अख्तियारलाई सरकारको एउटा विभागजस्तो बनाउने खोजिएकोमा भने पार्टीले विरोध गर्नुपर्ने धारणा राखेका थिए ।

बैठकले ललिता निवास प्रकरणमा अख्तियारको अभियोगपत्र आफैंमा विरोधाभाषपूर्ण रहेको र गच्छदारमाथि सरकारको दबाव र प्रभावमा मुद्दा दायर भएको ठहर गरेको छ ।

प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक रुपमा प्रतिवाद गर्ने र यो मुद्दाको कानूनीरुपमा गच्छदार स्वयंले सामना गर्ने उसले बताएको छ । निर्णयमा भनिएको छ, नेता विजयकुमार गच्छदार कानूनीरुपमा सामना गर्दै निर्दोष सावित हुनुहुनेछ भन्ने नेपाली कांग्रेसको विश्वास छ ।’

गच्छदार आफैं लड, अरुका लागि कांग्रेस लड्छ !

कांग्रेसको यो निर्णयसँगै अब गच्छदारले यो मुद्दाको सामना कानूनी रुपमा आफैं गर्नेछन् । तर कांग्रेसले अख्तियार सरकारको छायाँ बनेको मुद्दालाई भने उठाउने छ ।

सम्भवत पर्सि बस्ने बैठकले योसहितका मुद्दालाई लिएर दबावमूलक कार्यक्रम घोषणा गर्नेछ ।

एक नेताकाअनुसार बैठकमा सरकारले राज्यका संयन्त्रहरुलाई प्रयोग गरेर आफूमाथि राजनीतिक प्रतिशोध साँध्नेछ भन्ने डर प्रष्ट देखिन्छ । सुरुमा कमजोर छवि भएका नेता छान्दै हान्ने र अरुलाई पनि यसरी नै सिध्याउने उनीहरुको विश्लेषण छ ।

त्यसैले कांग्रेसले ललितानिवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, विष्णु पौडेलहरुमाथि पनि मुद्दा चलाऊ वा गच्छदार निर्दोष हुन भन्ने छैन । बरु अख्तियार सरकारको छायाँ बन्यो भन्ने मुद्दालाई जनतामा स्थापित गराउने प्रयास गर्नेछ । ता कि भोलि अरु नेताहरुमाथि उसकै शब्दमा राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाउने आँट नगरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment