Comments Add Comment

सूर्य बोहराले ‘ओ प्रिया’ बनाउने, घोषणा मै सीमित छन् केही फिल्म !

एभरेष्ट सूर्य बोहराको निर्देशनमा चलचित्र ‘ओ प्रिय’ बन्ने भएको छ । मंगलबार कमलादी मन्दिरमा पूजा गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो ।

’सिनेम्याक्स लण्डन’को ब्यानारमा बन्ने यस चलचित्रमा ‘विरन्जना इन्टरटेन्टमेन्ट’ र ’इबिएस फिल्मस्’ले सहकार्य गरेका छन् । निर्देशक बोहराकै लेखन रहने उक्त चलचित्रकी मुख्य निर्मात्री हिराल जोशी हुन् । सृजना जोशी कार्यकारी निर्माता रहने यस चलचित्रमा सबिता गुरुङ सह–निर्माताको रुपमा रहेकी छिन् ।

वास्तविक प्रेमकथामा आधारित रहेर निर्माण गर्न लागिएको यस चलचित्रको लागि कलाकारको छनोट भने भइसकेको छैन । चलचित्रको लागि हाल कलाकार छनोटको काम भइरहेको निर्देशक बोहराले बताए ।

सन् २०२० को मे महिनाबाट छायांकनको तयारीमा रहेको यस चलचित्रलाई नेपाल, लण्डन, क्यानडा, स्कटल्याण्ड लगायतका ठाउँमा खिचिने छ । चलचित्रलाई २०२१ को भ्यालेनटाइन डेमा रिलिज गर्ने लक्ष्य निर्माण पक्षको छ ।

घोषणा मै सीमित छन् सूर्यका चलचित्र

चलचित्र ‘भैरे’ रिलिज भएपछि निर्देशक सूर्य बोहराले ‘भैरे–२’ बनाउने घोषणा गरेका थिए । तर, घोषणाको लामो समय बितिसक्दा पनि यस चलचित्र निर्माणको अत्तोपत्तो छैन ।

बरु यस बीचमा उनले ‘हेल्लो जिन्दगी’ नामक चलचित्र निर्देशन गरे । यस चलचित्रको छायांकन सकिइसकेको छ । तर, कहिले रिलिज हुने हो भन्ने कुरा अन्योलमा नै छ । निर्देशक बोहरा यस चलचित्रको भिएफएक्समा काम भइरहेको बताउँछन् ।

हेल्लो जिन्दगीको दुई गीत खिच्न बाँकी नै छ । गीतलाई लण्डनमा खिच्ने दाउमा छन्, बोहरा । अहिले लण्डनको मौसम नराम्रो भएका कारण छायांकन गर्न नसकिएको उनले बताए ।

सूर्यले चलचित्र ‘आइडी नम्बर ८८४८’ र ‘चलखेल’ पनि निर्देशक गर्ने समाचार बाहिरिएको थियो । तर, अहिले ती चलचित्रको पनि अत्तोपत्तो छैन । निर्देशक सूर्य बोहरा भने घोषणा गर्न मै मस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment