
२८ माघ, कैलाली । पूर्व–पश्चिम राजमार्गअन्तरगत कैलालीको लम्की सडक-खण्ड अवरुद्ध भएको छ ।
कैलालीको लम्कीचुहानगरपालिका वडा नम्बर ३ गोराङ्गेमा सोमबार राति घाइते अवस्थामा फेला परेका बर्दिया रम्भापुरका शेरबहादुर शाहीको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।
ठक्कर दिने सवारी पत्ता लगाउन दबाव दिँदै स्थानीयले लम्की सडकखण्ड अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सडकमा घाइते भेटिएका ४५ वर्षीय शाहीलाई उपचार गर्न लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । ठक्कर दिने सवारी साधनको पहिचान गरी कारबाहीको माग गर्दै स्थानीय तथा मृतकका आफन्तहरूले सडक अवरुद्ध गरेका हुन् ।
सडक अवरुद्ध हुँदा दर्जनौँ सवारी साधन र सयौँ यात्रुहरू अलपत्र परेका छन् । सडक खुलाउन पहल भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए।
प्रतिक्रिया 4