+
+
Shares

गृहमन्त्रीका सल्लाहकारले २५ लाख लिएको हल्ला छ : सांसद सुब्बा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १ गते १९:२०

१ फागुन, काठमाडौं ।  गृहमन्त्री रामबहादुर थापाका प्रमुख सल्लाहकारले नेपाल रेडक्रस सोसाइटीभित्रको भ्रष्टाचार र अनियमितता छिपाउन २०/२५ लाख लिएको हल्ला चलेकोसत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद बिजय सुब्बाले बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै उनले गृहमन्त्रालयले रेडक्रसको विधान संशोधन गर्ने प्रक्रिया अगाडि बढेका बेला गृहमन्त्रीकै सल्लाहकार नै ‘सेटिङ’ मा लागेको आरोप लागेको बताए ।

सांसद सुब्बाले सल्लाहकारको नाम भने लिएनन् ।

‘भनेकै हो हामीले गृहमन्त्रीज्यूलाई, तपाईंको प्रमुख सल्लाहकार जो राजनीतिक व्यक्ति हुन् । तिनले तपाईंलाई मिस गाइड गर्दैछन् । बजारमा २० लाख कि २५ लाख खाएको हल्ला छ ।’

रेडक्रसभित्रको अनियमितता बाहिर आउन नदिन र हालको विधानलाई छिटो संशोधन नगराउन गृहमन्त्रीका सल्लाहकारले मात्रै नभएर न्यायाधीशले पनि पैसा खाएको हल्ला चलेको सांसद सुब्बाले  बताए । उनले आफूले हल्ला सुनेको भन्दै आधिकारिक हो कि होइन थाहा नभएको बताए ।

सीआईबीले हेरेन 

सांसद सुब्बाले सेटिङमा रेडक्रसभित्र भ्रष्टाचार भइरहेको र यसबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हेर्न नसकेको प्रतिक्रिया दिएको बताए ।

रेडक्रसको रक्तसञ्चार केन्द्र, जग्गाखरिद लगायतका विषयमा करोडौं भ्रष्टाचार भएको उनले बताए । ‘यो बारेमा सीआईबीमा म आफैं पनि गएको थिएँ ।

सीआईबीले हामीले हेर्न सकेनौं भन्छ । अदालतमा गयो, अदालतले मुद्दा कमजोर छ भन्दिन्छ सरकारी वकिलले, महान्याधिवक्ताले । सबै सेटिङले त्यहाँ पनि हराइदिहाल्छ’ सांसद सुब्बाले भने ।

रेडक्रसमा विधान संशोधन हुन नदिने र एकै व्यक्ति वर्षौसम्म नेतृत्वमा रहिरहन सेटिङ मिलाउने गरिएको उनले आरोप लगाए । ‘वर्तमान अध्यक्ष १२ वर्ष भइसक्यो । फेरि अध्यक्ष हुने प्रयत्नमा छन् । यो सारा सेटिङ मिलाउने करोडौं पैसा खर्च गरेर आफू फेरि नेतृत्वमा टिक्न खोज्ने उनको योजना त्यही हो ।’

सांसद सुब्बाले वर्तमान अध्यक्षले भूकम्प पीडितको सहायताका लागि आएको रकमसमेत हिनामिना गरेको आरोप लगाए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखले रेडक्रसको भ्रष्टाचारको बारेमा हेर्न नमिल्ने जवाफ पाएको पनि सांसद सुब्बाले बताए । सांसद सुब्बाले रेडक्रसका विषयमा राज्य व्यवस्था समितिले छानबिन गर्नुुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?