नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) नेपालका चार्टर्ड एकाउन्टेन्टहरुको छाता संगठन हो । ०३४ सालमा भएको एक्यान नेपालका सीएहरुको सबैभन्दा पुरानो संगठन हो । नेपालका लेखा व्यवसायीहरुको नियमनकारी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को स्थापना तत्कालीन एक्यान अध्यक्ष नेतृत्वको तदर्थ समितिमार्फत भएकाले एक्यानलाई आइक्यानको मातृ संस्था पनि मानिन्छ ।
नेपालको स्थायित्व र सम्वृद्धिको यात्रामा चार्टर्ड एकाउन्टेन्टहरुको भूमिकाको बिषयमा आम नागरिक तथा सरकार स्वयं पनि अनविज्ञ रहेको तथ्य छिपेको छैन । चार्टर्ड एकाउन्टेन्ट्स जो मूलतः लेखा, लेखापरीक्षण, वित्तीय विवरणहरुको प्रस्तुति, कर कानून, वित्तीय कानुन, वित्त व्यवस्थापन, वित्तीय सुशासन जस्ता जटिल तथा गहन विषयमा संसारभर विज्ञ मानिन्छन्, नेपालमा भने यस्ता दक्ष जनसक्तिहरुको उपयोग सीमित क्षेत्रमा मात्रै भएको अवस्था छ ।
हालको स्थिति हेर्दा सीए मुख्यतः दुई क्षेत्रमा आवद्ध भएको देखिन्छ । कि त उ कुनै बैंक तथा वित्तीय संस्था, वीमा कम्पनी वा अन्य कम्पनीहरुमा जागिरमा गएको देखिन्छ, या उनीहरु लेखापरीक्षण व्यवसाय (अडिट प्राक्टिस) मा आवद्ध भएका छन् । तर, त्यस्ता अन्य धेरै पक्षहरु छन्, उनीहरुको भूमिका अहम छ । तर, उनीहरुको क्षेत्राधिकार राज्यबाट सीमित पारिएको छ ।
उदाहरणका लागि नेपाल राष्ट्र बैंकले सहमत गरिसकेको विषय बैंक तथा वित्तीय संस्थाहरुको शाखाहरुको अनिवार्य लेखा परीक्षणको विषय अझै लागु हुन सकेको छैन । चार्टर्ड एकाउन्टेन्टहरु कर कानुनको विषयमा सबैभन्दा बढी ज्ञाता मानिन्छन् । तर, सो विषयसँग सम्बन्धित मुद्दा मामिला हेर्न अदालतमा प्रतिनिधित्व छैन । अन्य देशहरुमा सरकारले बाषिर्क बजेट बनाउँदै गर्दा चार्टर्ड एकाउन्टेन्टहरुको वित्तीय सुझाव अनिवार्यरुपमा लिने गरिन्छ । नेपालमा सोको सुरुवात भएकै छैन ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) मूलतः नेपालमा लेखा व्यवसायीहरुको नियमनकारी संस्था हो । एक्यानको भूमिका आइक्यानलाई बलियो बनाउन रचनात्मक भूमिका निर्वाह गर्नु नै हो । लेखा व्यवसायको विश्वासनीयताका लागि अनुशासन अत्यावश्यक छ । यसको पालना गराउने अंग पनि आइक्यान नै हो । यसका लागि आइक्यान बलियो हुनुपर्छ ।
एक्यानको भूमिका त्यहाँनिर आउँछ, जहाँ आइक्यानलाई बलियो बनाउने कुरा आउँछ । हामी आफैंमा जति संगठित हुन्छौं त्यति नै मजबुत हुन्छौं । एक्यान सीएहरुको बीचको सम्बन्धको कडी हो । हुन त एक्यानको भूमिका यहा प्रत्यक्षरुपमा नदेखिन सक्छ । तर, तात्विकरुपमा यो संगठन जति बलियो हुन्छ, आइक्यान त्यतिनै प्रभावकारी हुन्छ, यसमा दुईमत छैन ।
आजको दिनमा चार्टर्ड एकाउन्टेन्टहरु लेखा व्यवसायमा मात्र सीमित छन् भन्ने मान्यता हुनु हुँदैन र त्यो सत्य होइन । बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, हाइड्रो, उद्योग, संचार जस्ता क्षत्रमा सीएले पटक-पटक प्रमाणित गरिसकेका छन् कि नेपालको आर्थिक सम्वृद्धि चार्टर्ड एकाउन्टेन्टहरुको योगदानविना सम्भव छैन । तर, पनि राज्यका धेरै क्षेत्रमा उनीहरुको संग्लनता बान्छनीय ठानी सकिएको अवस्था छैन ।
त्यसैले नेपाल सरकार आर्थिक विकासमा सीएको भूमिकामा अझ स्पष्ट हुनु जरुरी देखिन्छ । यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ, कम्पनी रजिष्ट्रार, आन्तरिक राजस्व विभाग, अर्थ मन्त्रालय, राष्ट्र बैंक, महालेखापरीक्षकको कार्यालय, वीमा समिति जस्ता निकायहरुसँग सहकार्य तथा समन्वय हुनुपर्छ ।
नेपाल धितोपत्र बोर्डमा सुचीकृत भएका कम्पनीहरुले प्रमुख वित्तीय अधिकृत नियुक्त गर्दा सीएलाई विशेष ग्राह्यता दिनुपर्छ । यसले गर्दा सुचीकृत कम्पनीले एउटा सक्षम कर्मचारी पाउँछ भने एउटा चार्टर्ड एकाउन्टेन्टको सही ठाउँमा ‘जब प्लेसमेन्ट’ हुन्छ । यसका लागि धितोपत्र बोर्डसँग सहकार्य हुनुपर्छ ।
नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको साखा अनिवार्य लेखापरीक्षण लागु गर्ने सम्बन्धमा सहमत भैसकेको अवस्थामा यो व्यवस्था तुरुन्त लागु गरिनुपर्छ ।
नेपालको नयाँ संरचना अनुसार संघ, प्रदेश, स्थानीय तह गरी तीनै क्षेत्रको आर्थिक विकासका निमित्त यसका सरकारी कार्यालयहरुमा सीएको प्रतिनिधित्व आवश्यक छ । त्यसका लागि नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकारसंग पहल र समन्वय हुनु जरुरी छ ।
त्रिभुवन विश्वविद्यालयले साविकमा सीएलाई दिँदै आएको स्नातकोत्तर सरहको मान्यता स्थगन गर्यो । यो किन र कसरी गर्यो भन्ने विषय छलफलको विषय होला । तर, विश्वव्यापीकरणको युगमा यस विषयलाई हेर्दा अन्य धेरै देशमा यो व्यवस्था रही आएको छ र यो नेपालमा पनि लागु गरिनुपर्छ । यो विषयमा त्रिभुवन विश्वविद्यालयले तथा नेपालका अन्य विश्वविद्यालयहरुसँग व्यापक छलफल जरुरी देखिन्छ ।
आइक्यान तबसम्म बलियो हुँदैन, जबसम्म उसले आफ्ना सदस्यहरुको आवाज सुन्दैन । आइक्यानले कम्तिमा आफ्ना सदस्यहरुलाई कुरा राख्ने प्लेटर्फम दिनुपर्छ । आइक्यानमा वार्षिक साधारणसभा गर्ने व्यवस्था हुनुपर्छ । जहाँ सदस्यहरुले आफ्ना कुराहरु राख्न पाउन् । अन्य यस्ता धेरै पक्षहरु छन् जहा सुधारको खाँचो छ ।
जेजति सुधारको खाँचो लेखा व्यवसायमा छ, त्यति नै सुधार संगठनमा पनि छ । एक्यानका एजेन्डाहरुलाई कुनै पिकनिक, साइकलिंग, फुटसल वा गोष्ठीमा मात्र सीमित गरिनु हुन्न । एक्यान त देशको समग्र आर्थिक रुपान्तरणको कारण बन्नुपर्छ । एक्यानले गर्दै आएका कार्यक्रम सबै सही वा गलत छन् भन्ने होइन । तर, यसमा सुधार तथा परिमार्जनको खाँचो भने पक्कै छ ।
हामी अक्सर भन्ने गर्छौं कि नेपालमा नेताहरु गतिला भएनन् । उपयुक्त नेतृत्व कुनै पनि क्षेत्रको रुपान्तरणका निम्ति अत्यावश्यक हुन्छ । जसलाई हामी ‘गुड लिडरसिप’ भन्छौं । आज त्यसको आवश्यकता एक्यानमा पनि छ ।
(चार्टर्ड एकाउन्टेन्ट दीपक पाण्डे एक्यानका वर्तमान उपाध्यक्ष एवं फागुन १० मा हुने निर्वाचनमा अध्यक्षका प्रत्यासी हुन् )
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4