Comments Add Comment

महिला-पुरुषलाई समान ढंगले अगाडि बढ्नुपर्छ-मुख्यमन्त्री राउत

२ फागुन, वीरगञ्ज । मुख्यमन्त्री लालबाबु राउतले महिला र पुरुष समान ढंगले अगाडि नबढेसम्म समाजको विकास हुन नसक्ने बताएका छन् ।

गोतामे पत्रकारिता स्वर्ण पदक वितरण समारोहमा बोल्दै मुख्यमन्त्री राउतले दुवैलाई समान ढंगले अगाडि बढाउन प्रदेश सकारले प्रयास गरिरहेको बताए ।
कार्यक्रममा मुख्यमन्त्री राउतले पछाडि परेको समुदायको सशक्तीकरणका लागि प्रदेश नं २ सरकार लागि परेको दाबी गरे ।

‘समाजमा अझै पनि महिला दलित, समाजका कमजोर पक्ष, विपन्न, मुस्लिमलाई हेर्ने दृष्टिकोण त्रुटि छ । त्यसमा परिवर्तन नगरेसम्म समाज विकसित हुन सक्दैन । समाजलाई अगाडि बढाउन उनीहरुलाई सशक्त बनाउनुपर्छ,’ उनले भने ।

२१ औं शताब्दीमा पनि विभेद कायमै रहेको भन्दै उनले समाजमा हेपिएका मान्छेहरुको सशक्तीकरणकका लागि प्रदेश सरकारले काम गरिरहेको बताए ।
पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले नेपाल पत्रकार महासंघ पर्सा शाखामा पुरस्कार वितरण समारोहको आयोजना गरेको थियो ।

यसवर्ष झापाका अग्रज पत्रकार एवं साहित्यकार केशव आचार्यलाई गोतामे पत्रकारिता स्वर्ण पदक वितरण गरिएको छ ।

४० वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील आचार्य जनआन्दोलन साप्ताहिकका सम्पादक हुन् ।

पुरस्कृत भएका आचार्यले धेरै खुशी वा निराश हुँदा पत्रकारको कलम सुत्नुपर्ने बताए । कार्यक्रममा पत्रकार चन्द्र किशोरले गोपाल चन्द्र गोतामे र उनले विषम परिस्थितिमा गरेको सामुदायिक पत्रकारिताका बारेमा चर्चा गरेका थिए ।

प्रत्येक वर्ष सामुदायिक पत्रकारिताको माध्यमले समाजमा योगदान दिएर राष्ट्रिय स्तरमा ख्याती कमाउन सफल एक जना पत्रकारलाई एक तोला सुनको तक्मा र सम्मान पत्र पुरस्कार दिने गरिएको प्रतिष्ठानका सचिव केसि लामिछानेले जानकारी दिए ।

यसअघि मोफसलमा क्रियाशील ९ जना पत्रकारलाई पुरस्कार प्रदान गरिसकिएको प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment