Comments Add Comment

बेइजिङको निर्देशन– बिदा मनाएर फर्किएकालाई क्वारेन्टाइनमा राख्नू

३ फागुन, काठमाडौं । सबैभन्दा ठूलो आवादी क्षेत्रमध्येको एक बेइजिङमा कोरोना भाइरस फैलन नदिन चीनले थप सतर्कता अपनाएको छ ।  नियन्त्रण अभियानअन्तर्गत निगरानीका अनेक उपाय अवलम्बन गरेको चीनले पछिल्लाेपटक भने देशका अन्य भागबाट बेइजिङ फर्किएकाहरू १४ दिन क्वारेन्टाइनमा   बस्नैपर्ने नियम बनाएकाे छ ।

चीनको बेइजिङ भाइरस प्रिभेन्सन वर्किङ ग्रुपले शुक्रबार एक सूचना जारी गर्दै नयाँ वर्ष मनाएर फर्किएकाहरूमा संक्रमण हुनसक्ने भएकाले यस्ताे कदम चालिएकाे जनाएकाे छ ।

यो निर्णयसँगै अब बिदा मनाएर फर्किएकाहरू सेल्फ क्वारेन्टाइन वा त्यसका लागि तोकिएका स्थानहरूमा १४ दिनसम्म बस्नुपर्नेछ ।

चिनियाँबीच घुमफिर गरेर नयाँ वर्ष मनाउने संस्कृति छ । कोरानो भाइरस फैलिएपछि चीनले घुमफिरमा नजान र यसविरुद्धका अभियानमा सरिक भइदिन आग्रह गरेको थियो । यद्यपि, यस्तो आग्रहपछि पनि बेइजिङबाट मानिसहरू घुम्न निस्किएका थिए ।

२० मिलियन भन्दा बढी मानिसको बसोबास रहेको बेइजिङमा घुमफिरमा गएकाबाट संक्रमण सर्ने भएपछि यस्तो सतर्कता अपनाइएको हो ।

चिनियाँ नेसनले हेल्थ कमिसनले शनिबार जनाएअनुसार काेराेनाबाट थप १४३ जनाको ज्यान गएको छ । योसँगै भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५ सय २३ पुगेको छ । ६६ हजार ४ सय ९२ जना यसबाट संक्रमित छन् ।

चीनसँगै अन्य २४ देशमा ५ सय भन्दा बढी कोरोनाबाट संक्रमित भएकाे बीबीसीले जनाएकाे छ ।  चीनबाहिर ३ जनाको ज्यान गएको छ । हङकङ, फिलिपिन्स र जापानमा कोरोना संक्रमितको ज्यान गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment