Comments Add Comment

क–कसले पाए प्रदेश ५ सरकारको पदक ?

४ फागुन, बुटवल । प्रदेश ५ सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ३५ जनालाई पदक वितरण गरेको छ ।

प्रदेश सरकारले संविधान दिवसको अवसरमा पदकको घोषणा गरेको थियो । त्यसको केही महिनापछि प्रदेश सरकारले पदक वितरण गरेको हो ।

संघको सिको गर्दै ११ विधामा पहिलोपटक पदक वितरण गरिएको हो । पदक पाउनेमा राजनीतिज्ञ, धार्मिक अभियन्ता, खेलाडी, किसान, पत्रकारदेखि सामाजिक अभियान्ताहरूसम्म छन् ।

प्रदेश प्रमुख जनसेवा प्रथम पदक साहित्यकार मोदनाथ प्रश्रितले पाएका छन् । यद्यपि, उनी पदक वितरण समारोहमा उपस्थित भएनन् । प्रदेश प्रमुख जनसेवा पदक द्वितीय पत्रकार एवं साहित्यकार कृष्ण सेन इच्छुक (मरणोपरान्त) र प्रदेशको प्रथम आवधिक योजना तर्जुमा योगदान पुर्‍याएबापत प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठलाई दिइएको छ ।”

संघीयता र गणतन्त्र प्राप्तिको आन्दोलनमा उल्लेख्य योगदान गरेबापत दाङका भगौता थारुलाई प्रदेश प्रमुख जनसेवा पदक तृतीय तथा पूर्वी रुकुमका सूर्यप्रकाश पुन र परम्परा गौतम (श्रीमान–श्रीमती) लाई मरणोपरान्त प्रदेश प्रमुख जनसेवा तृतीय दिइएको छ ।

लुम्बिनीको विकासमा योगदान पुर्‍याएका र लुम्बिनीमा शान्ति स्तुपा बनाउँदै गर्दा हत्या गरिएका जापानी भिक्षु नावातामेलाई बुद्ध शान्तिपदक (मरणोपरान्त) दिइएको छ । त्यसैगरी, प्रदेशको विकासमा योगदान गरेको भन्दै दाङका स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार ओलीलाई मुख्यमन्त्री प्रज्ज्वलद्वीप पदक प्रथम दिइएको छ । प्रमुख सचिवमा खेलेको भूमिकालाई लिएर डा. तीर्थ ढकाललाई प्रदेशसेवा समर्पण प्रथम र प्रदेशसभा सचिवको रुपमा काम गरेका सुरेन्द्र अर्याललाई प्रदेश सेवा समर्पण पदक द्वितीय दिइएको छ ।

दाङका पुराना पत्रकार नारायणप्रसाद शर्मालाई समाजसेवाश्री प्रथम पदक दिइएको छ । गुल्मीका शमशेरबहादुर खत्रीलाई समाजसेवाश्री द्वितीय (मरणोपरान्त) र संस्कृत शिक्षा विकासको क्षेत्रमा विशिष्ट योगदान गरेकी दाङकी हिमा उपाध्याय (मरणोपरान्त) सम्मान गरिएको छ । बाँकेका अशोककुमार क्षेत्रीलाई पनि पदक दिइएको छ । उनलाई प्रजातान्त्रिक आन्दोलनमा खेलेको भूमिकाको मूल्यांकन गर्दै पदक दिइएको हो ।

त्यसैगरी, समाजसेवाश्री पदक तेस्रोबाट दुर्गम क्षेत्रमा रहेर स्वास्थ्य सेवामा उल्लेखनीय योगदान गरेका डा. लेखराज सुवेदी, समाजसेवाको क्षेत्रमा विशिष्ट योगदान गरेका पाल्पाका घण्टप्रसाद अर्याल, स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गरेका गौतमबुद्ध मुटु अस्पताल बुटवलका अध्यक्ष एजाज आलमले पाएका छन् ।

थारू भाषा साहित्यको क्षेत्रमा उत्कृष्ट योगदान गरेबापत दाङका महेश चौधरीलाई प्रदेश रत्न प्रथम, शिक्षा र सामाजिकक्षेत्रमा विशिष्ट योगदान गरेका गुल्मीका परमानन्द भण्डारीलाई प्रदेश रत्न द्वितीय (मरणोपरान्त), कृषि क्षेत्रमा विशिष्ट योगदान गरेका रूपन्देहीका अस्ट्रिचपालक किसान सीपी शर्मा र नेपालकै ठूलो गाई फार्म सञ्चालक शशिधर पौडेलले प्रदेश रत्न द्वितीय पाएका छन् ।

त्यसैगरी, प्रदेश रत्न तृतीय पाउनेमा भाषा साहित्यबाट कपिलवस्तुका डा. विष्णुराज आत्रेय, चित्रकला र मूर्तिकला क्षेत्रबाट रूपन्देहीका नर्वु लामा, शिक्षा क्षेत्रबाट अर्घाखाँचीका बुद्धीबहादुर रायमाझी, अल्लो उद्यम व्यवसायमा उल्लेखनीय योगदान गरेकी चित्रकली बुढा, खेलकुद क्षेत्रमा उल्लेख्य योगदान गरेका गुल्मीका क्रिकेट खेलाडी सोमपाल कामी छन् । यसैगरी, पुथाश्री शिखर द्वितीय पदक पर्यटन क्षेत्रमा योगदान गरेका बाँकेका कृष्णलाल चौधरीले पाएका छन् ।

प्रदेश प्रज्ञा द्वितीयबाट लुम्बिनी वाणिज्य क्याम्पस र प्रदेश प्रज्ञा तृतीयबाट रेसुङ्गा माध्यमिक विद्यालयलाई विभूषित गरिएको छ । प्रजापति गौतमी तृतीयबाट महिला सशक्तीकरणको क्षेत्रबाट दाङकी पिमकुमारी गिरी र रोल्पाकी भागिरथी घर्तीलाई प्रदान गरिएको छ । दङ्गीशरण बलिहाङ प्रथमबाट थारू भाषा साहित्यमा उत्कृष्ट योगदान गरेका सगुनलाल चौधरी (बेपत्ता), दङ्गीशरण बलिहाङ द्वितीयबाट मगर भाषा साहित्यमा उत्कृष्ट योगदान गरेका जितबहादुर थापामगर (मरणोपरान्त) लाई दिइएको छ ।

त्यसैगरी दङ्गीशरण बलिहाङ तृतीयबाट थारू भाषा प्रवद्र्धनमा उल्लेखनीय योगदान गरेका बर्दियाका एकराज चौधरी, उर्दु भाषामा उल्लेख्य योगदान गरेका बाँकेका अब्दुल लतिफ सौफ र अवधि भाषा साहित्यमा योगदान गरेका नवलपरासीका कौशलेन्द्र श्रीवास्तवलाई पनि पदक प्रदान गरिएको छ । प्रदेश स्थापना दिवस मूल समारोहमा प्रदेश प्रमुख धर्मनाथ यादव र मुख्यमन्त्री शंकर पोखरेलले पदक बाँडेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment