Comments Add Comment

यी हुन् दुनियाँका पुराना ५ सहर

विश्वको केही सहरहरू यस्ता छन् जो आजभन्दा हजारौं वर्ष पहिले नै बनेका थिए । त्यहाँ हजारौं वर्षअघि पनि मानिसहरूको बसोबास थियो । विश्वमा ११ हजार वर्ष पूरानो सहर समेत अहिले अस्तित्वमा छ । हजारौँ वर्ष पूराना विश्वका पाँच सहर यी हुन्ः

१. दमास्कस : सिरियाको राजधानी दमास्कस विश्वको सबैभन्दा पूरानो सहर हो, जहाँ ११ हजार वर्षदेखि निरन्तर मानव बसोबास रहेको छ । यसको अवस्थिति र विद्यमानताका कारण यो सहर धेरै मानव सभ्यताहरू आउने जाने क्रमको केन्द्र बनिरहेको छ ।

अहिले पनि यो सहरमा २५ लाख मानिस बस्दछन् । सन् २००८ मा दमास्कसलाई संस्कृतिको अरबी राजधानी घोषणा गरिएको थियो ।

२. जेरिको सहर : प्यालेस्टाइनको जेरिको सहर विश्वको सबैभन्दा प्राचीन सहरमध्येको एक हो । यो सहरमा आजभन्दा ११ हजार वर्षअघि समेत मानिसहरूको बसोबास रहेको प्रमाणहरू फेला परेका छन् । अहिले उक्त सहरको ठाउँमा एउटा गाउँ छ, जहाँ झण्डै २० हजार मानिसहरू बसोबास गर्दछन् ।

यो सहर विश्वको पहिलो पर्खालले घेरिएको सहर हुनुका साथै समुद्री स्तहभन्दा होँचो ठाउँको सहर हो ।

३. एलेप्पो सहर : सिरियाको एलेप्पो सहर करीब ८ हजार वर्षअघि स्थापना भएको मानिन्छ । तर केही उत्खननहरूबाट चाहीँ यो सहर आसपासमा १३ हजार वर्षअघि समेत मानव बसोबास रहेका प्रमाण फेला परेका छन् । भूमध्यसागर र मेसोपोटामियाको बीचमा रहेको र सिल्क रोडको अन्तिम विन्दुको रुपमा रहेको हुँदा प्राचीन कालदेखि नै यो सहर युरोप र एसियाको बीचको व्यापारिक केन्द्रको रुपमा रहेको थियो । तर सन् २०१२ देखि सिरियामा सुरु भएको गृहयुद्धका कारण यो सहर तहसनहस भएको छ । युद्धका कारण यो सहरका प्राचीन सम्पदाहरू ध्वस्त भएका छन् ।

४. एथेन्स : दर्शनशास्त्रको उद्गमस्थल तथा पश्चिमी सभ्यताको जन्मस्थान मानिने ग्रिसको राजधानी एथेन्स सहर ७ हजार वर्षअघि स्थापना भएको मानिन्छ । सुकरात, प्लेटो तथा अरस्तु जन्मिएको एथेन्सको बीचमा चट्टानी पहाडमा रहेको एथिना मन्दिर तथा एक्रोपोलिस स्मारकका साथै विश्वकै पूरानो रंगमञ्च समेत प्रमुख आकर्षणको केन्द्र रहेको छ ।

५. आर्गोस : ग्रिसको आर्गोस सहरमा पनि ७ हजार वर्ष देखि मानव बसोबास रहेको विश्वास गरिन्छ । उर्वर भूमि तथा अवस्थितिका कारण यो सहर इतिहास देखि नै सम्वृद्ध तथा शक्तिशाली रहेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment