Comments Add Comment

पाँच वर्षपछि सीतारामले ‘धुर्मुस कट्टु’ लगाउँदा…

मेरी बास्सैमा धुर्मुस–सुन्तलीको ‘नोस्टाल्जिया’

५ फागुन, काठमाडौं । कुनै समय चर्चाको शिखरमा थियो हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ । नेपाल टेलिभिजनबाट प्रशारण हुने टेलिश्रृंखलाले गाउँदेखि शहरसम्मका दर्शकको मन जितेको थियो ।

मेरी बास्सै’ अगाडि ‘तीतो सत्य’ र ‘जिरे खुर्सानी’ कमेडी खुराक पस्किरहेका थिए । यी दुवै सिरियलले शहरिया जनजीवनको कथा भन्थे । तर, ‘मेरी बास्सै’ले टिपिकल ग्रामीण परिवेशलाई हास्यकथामा उनेपछि दर्शकले नयाँ टेस्ट पाए ।

फलतः दीपकराज गिरीको ‘तितो सत्य’ र शिवहरि पौडेल–जितु नेपालको ‘जिरे खुर्सानीलाई उछिन्दै टेलिभिजन रेटिङमा ‘मेरी बास्सै’ अगाडि आयो ।

हुन त सुरुवाती पाँच एपिसोडमा ‘मेरी बास्सै’ पनि शहरी कथामा नै बनाइएको थियो । त्यसमा सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले काका र भतिजीको भूमिकामा अभिनय गरेका थिए । तर, यो त्यति जमेन । सिरियलले खासै दर्शक लोभ्याउन नसकेपछि निर्देशक दमन रुपाखेती, केदार घिमिरे (माग्ने बुढा) र सीतारामको त्रिपक्षीय गोलमेच बैठक बस्यो । वैठकले निस्कर्ष निकाल्यो, अब शहर छोडेर गाउँतिर लाग्ने ।

तीनैजना ग्रामिण पृष्ठभूमिकै कलाकार भएकाले उनीहरुलाई गाउँघरका कथाहरु टिप्न कठिन थिएन । यसअघि सीताराम र केदारले गाउँका दुई छिमेकीहरुको झगडाको विषयवस्तुलाई उनेर ‘दाइँजो’ नामको टेलिफिल्म बनाएका थिए । त्यही कथा मेरी बास्सैमा सापट लिएर सुरु गरियो । यही नै मेरी बास्सैका लागि नयाँ प्रस्थानविन्दू बन्यो । त्यसपछि त हरेक शुक्रबार राति नौबजे गाउँदेखि शहरसम्मका परिवार टेलिभिजन अगाडि झुम्मिन थालिहाले ।

निर्देशन दमन रुपाखेतीले गरे पनि यो श्रृंखलाका मास्टरमाइन्ड थिए, सीताराम र कुञ्जना । यो जोडी खुबै चम्कियो । सीतारामले निभाएको लठेब्रो गाउँले पात्र ‘धुर्मुस’ र केदारले निभाएको ‘माग्ने बुढा’ क्यारेक्टर पनि हिट भयो । अहिलेसम्म पनि यी दुई कलाकार धुर्मुस र माग्नेबुढाकै नामले चिनिन्छन् ।

तर, निकै चर्चित भइसक्दा पनि सीतारामलाई बाहिर हिँड्दा कसैले चिन्दैनथे । अहिलेजस्तो स्याउँस्याउँती मिडिया पनि थिएनन् । त्यसैले उनको वास्तविक अनुहार मानिसहरुलाई थाहै भएन । विस्तारै पत्रपत्रिकामा अन्तरवार्ताहरु आउन थालेपछि मात्रै उनी चिनिन थाले ।

मेरी बास्सैको सबैभन्दा रोचक ‘सिक्वेन्स’ थियो, धुर्मुस र सुन्तली (कुञ्जना घिमिरे) को उरन्ठेउलो । तर, निर्दोष प्रेम । उनीहरुको प्रेम सम्वन्धलाई लिएर दुई छिमेकी परिवारभित्र बारम्बार नोकझोक र खिचातानी भइरहन्थ्यो । पछि कथामा धुर्मुस–सुन्तलीको बिहे गराइयो ।

रिल मात्रै होइन, रियल लाइफमा पनि सीताराम–कुञ्जना प्रेममा डुब्न पुगे । रियल लाइफमा पनि उनीहरुको बिहे भयो । उनीहरु घरमा पनि श्रीमान–श्रीमती र सिरियलमा पनि श्रीमान–श्रीमती बने । तर, रिल लाइफको जोडीले भने निरन्तरता पाउन सकेन । कालान्तरमा उनीहरु मेरी बास्सैबाट अलग भए ।

अहिले पनि नेपाल टेलिभिजनमा ‘मेरी बास्सै’ प्रशारण भइरहेको छ, तर पहिलेजस्तो चार्म छैन । टिमभित्रको असमझदारी र निर्माण संस्था मिडिया हबको आर्थिक संकटले गर्दा पुरानो टिम तितरबितर भइसकेको छ । सुरुमा निर्देशक–कलाकार दमन रुपाखेतीले छोडे । त्यसपछि सीताराम र केदारले मिलेर निर्देशन गर्न थाले । तर, मिडिया हबबाट पैसा नपाएको भन्दै माग्ने बुढाले पनि आफ्नो बाटो तताए ।

त्यसपछि केही समय धुर्मुस–सुन्तलीले यसलाई अघि बढाए । अन्ततः उनीहरुले पनि छोडे ।

पछिल्लो समयमा केदार घिमिरे दीपकराज गिरी–दीपाश्री निरौलाको समूहमा मिसिएर चलचित्र निर्माणमा लागेका छन् । यो समूहले एकपछि अर्को ब्लक बस्टर दिइरहेको छ । सुरुमा धुर्मुस र सुन्तली पनि यही समूहमा थिए । तर, ६ एकान ६ र वडा नम्बर ६ पछि उनीहरु यो समूहबाट अलग भए ।

धुर्मुसहरु सामाजिक काममा बढी व्यस्त भएर चलचित्रलाई समय दिन नभ्याएको बताइए पनि सीतारामको असन्तुष्टि कथामा आफ्नो भूमिकालाई लिएर पनि थियो । उनी सिरियलमा हिट भएको ‘धुर्मुस’ टाइपको चरित्रबाट ‘मोनोटोनस’ भएका थिए र यसबाट बाहिर निस्किन चाहन्थे । फरक खालको भूमिका गर्ने इच्छा पूरा नभएपछि उनी टिमबाटै अलग्गिएको अनुमान पनि छ ।

दीपक–दीपाको समुहले ‘छक्का पञ्जा’ का तीनवटा सिरिज बनाएर पैसा बटुलिरहँदा सीताराम–कुञ्जना चाहिँ जनतासँग पैसा मागेर विभिन्न बस्ति निर्माणमा सक्रिय भए । बेलाबखत देश र विदेशका स्टेज कार्यक्रममा सहभागी हुनुबाहेक उनीहरुको कलाकारितामा लगभग विश्राम नै लाग्यो । जनसहयोग जुटाएरै उनीहरुले चारवटा बस्ति निर्माण गरिसकेका छन् । अहिलेचाहिँ देशकै पहिलो अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणमा अहोरात्र जुटिरहेका छन् ।

चितवनमा रंगशाला निर्माणको दबाब र व्यस्तताका बीच नै सीताराम–कुञ्जना पनि चलचित्र निर्माणमा अग्रसर भए । उनीहरुले निर्माण गरेको ‘सेन्टी भाइरस’ चलचित्र प्रदर्शनको संघारमा छ । चलचित्रमा लगानी भने डिण्डु लामाले गरेका छन् ।

अहिले रंगशाला निर्माणसँगै चलचित्र प्रदर्शनको चटारोमा छन् सीताराम–कुञ्जना । र, यही चलचित्रले पाँच वर्षको अन्तरालपछि यी दुईलाई ‘मेरी बास्सै’ मा फर्काएको छ । दर्शकहरुले मेरी बास्सैको आगामी एपिसोडमा उनीहरुलाई देख्न पाउने छन् । तर, केवल एक एपिसोड मात्रै । ‘सेन्टी भाइरस’ को प्रबद्र्धनका लागि यो श्रृंखला निर्माण गरिएको हो ।

****

पाँच वर्षपछि मेरी बास्सैको सेटमा फर्किँदा कस्तो अनुभव भयो ? अनलाइनखबरको कार्यालयमा झुल्किएका सीताराम–कुञ्जनालाई हामीले प्रश्न गर्‍यौं।

सीतारामले गम्भीर जवाफ दिए, ‘विदेशिएको छोरा धेरै वर्षपछि घर फर्केको जस्तो भयो ।’

अनि उनी नोस्टाल्जियामा पुगे । सीतारामले सम्झिन थाले ती दिनहरु, जब मेरी बास्सैको सुटिङ गर्दा गाउँका भिरपाखा र कान्लाहरुमा उनीहरु कुदाकुद गरिरहेका हुन्थे ।

‘वास्तवमा भन्नुपर्दा,’ सीतारामले भने, ‘धुर्मुसको लुगा लगाउनासाथ एक प्रकारले भावुक भएँ, ती दिनहरु सम्झेर ।’

केही समयदेखि जुँगा पाल्न थालेका सीतारामले धुर्मुसको भूमिकामा फर्किने भएपछि जुँगा काटे । यसो ऐनामा मुख बंग्याएर हेरे । पारा आइहाल्यो ।

तर, धुर्मुसको पुरानो लुगा हराएर तनाव भयो ।

कुञ्जनाले भनिन्, ‘धेरै समयदेखि धुर्मुसको लुगा प्रयोगमा आएको थिएन । त्यसलाई हामीले थन्क्याएर राखेका थियौं । तर, कहाँ थन्क्याएको भनेर बिर्सेकाले खोज्नै घन्टौं लाग्यो ।’

धन्न लुगा भेटियो । कुञ्जनाले यसो टक्टक्याइन् र सुँघिन् । गन्हाए झैं लाग्यो । छोरीले पनि हाच्छ्युँ गरिन् । कुञ्जनाले पर्फ्यूम छ्यासछ्यास पारिन् । मगमग बास्ना आइगो ।

तर, सुटिङस्थलमा सीतारामले जब ‘धुर्मुस लुगा’ लगाए, त्यतिबेला कुञ्जनालाई चाहिँ अलि कस्तो–कस्तो लागेछ ।

किन त ?

खासमा उहाँको छवि अहिले एउटा सामाजिक अभियन्ताको छ । मानिसहरुले हेर्ने नजर पनि बदलिएको छ । कार्यक्रमहरुमा गेष्ट बन्दा प्राय कोट पाइन्टमा देखिनुहुन्छ । त्यसैले धुर्मुसको कट्टु लगाउँदा मलाई चाहिँ अलि संकोच लागेजस्तो भयो । अब उहाँले यस्तो अफङ्गो भूमिका गर्न सुहाउँदैन कि भन्ने पनि लाग्यो,’ कुञ्जनाले आफ्नो अनुभूति सुनाइन् ।

मेरी बास्सैमा अहिले पुराना कलाकारहरु थोरै छन् । धुर्मुस–सुन्तली छँदा हिमाल असईको भूमिकासमेत निर्वाह गर्ने क्यामराम्यान मनराज श्रेष्ठ अहिले निर्देशक बनेका छन् । धुर्मुसको बुवाको भूमिकामा खेल्ने सुरविर पण्डित (दारी बा), सुन्तलीको बाबुआमा बन्ने सुरेन्द्र केसी (मुला साग) र पल्पसा डंगोल (चम्सुरी) अनि गोक्ते काजीको भूमिकामा देखिने रामचन्द्र अधिकारी अहिलेसम्म छन् । धुर्मुस–सुन्तलीलाई लामो अन्तरालपछि सेटमा पाउँदा उनीहरु चौपट्टै खुशी भए ।

हसनटारमा दिनभर भएको सुटिङमा निकै रमाइलोसँग बितेको सीताराम–कुञ्जनाले बताए । उनीहरुलाई पुराना दिनमा फर्केको आभास भयो । छोडेर गएका पुराना कलाकारहरुलाई पनि उनीहरुले मिस गरे ।

लामो अन्तरालपछि धुर्मुस–सुन्तलीको भूमिकामा अभिनय गर्नचाहिँ कत्तिको गाह्रो भयो ?

कुञ्जनाले अघि सरेर जवाफ दिइन्, ‘मलाईचाहिँ केहीबेर असहज लाग्यो । पहिलेको जस्तो एक्सप्रेसन दिन बिर्सेजस्तो, आवाज पनि नमिलेजस्तो भयो । तर, बिस्तारै लय समातेँ ।’

****

यो त भयो एक एपिसोडका लागि गरिएको सुटिङ । तर, यो जोडीलाई दर्शकले स्थायीरुपमै मेरी बास्सैमा फर्केको हेर्न चाहेका छन् । मेरी बास्सैका सुरुवाति पात्रहरुको धङधङी मेटिएको छैन ।

के फेरि त्यो टिम पुनर्गठन हुन सम्भव छ त ?

धुर्मुस–सुन्तलीको नियास्रो लाग्ने दर्शकहरुले आगामी मंगलबार प्रसारण मेरी बास्सैको प्रतिक्षा गर्दा हुन्छ

सीताराम भन्छन्, ‘वास्तवमा भन्नुपर्दा त्यो उत्कृष्ट टिम थियो । विभिन्न वाध्यता र परिवन्दले धेरैजनाको बाटो फेरियो । हामीलाई भित्री इच्छा छ, त्यही बेलाको लोकेसन, कथावस्तु र पात्रहरुलाई पुनर्जिवित गर्ने । तर, कति सम्भव होला, त्यो समयको हात छ । अहिले त खाँदा, बस्दा, उठ्दा, सुत्दा क्रिकेट रंगशालाको मात्रै ध्याउन्न हुन्छ ।’

मेरी बास्सैमा पनि सीतारामले धेरै क्यारेक्टर गरेका छन् । उनले गरेका खड्काजी, खडानन्द गुरु, मुस्कान पासा लगायतका क्यारेक्टर हिट पनि छन् । तैपनि सबैभन्दा डिमान्डचाहिँ धुर्मुस–सुन्तलीकै हुन्छ । स्टेज कार्यक्रममा धुर्मुस–सुन्तलीको क्यारेक्टरमा नआउँदासम्म दर्शकको धित मर्दैन । उनले अरु क्यारेक्टरमा अभिनय गर्दा पनि भन्ने गरिन्छ, ‘धुर्मुसे त यस्तो बनेछ नि !’

सीताराम भन्छन्, ‘दर्शकलाई मात्र होइन, हामीलाई पनि यो क्यारेक्टर प्रिय छ । यसमा हामी दुईजनाको ट्यूनिङ पनि मिल्छ । हामीलाई सुरुवातकै धुर्मुस–सुन्तली बन्न मन छ ।’

कुञ्जना थप्छिन्, ‘मलाई पनि उहाँको धुर्मुस क्यारेक्टरसँग माया छ । त्यही क्यारेक्टरले त हो उहाँलाई आज यो स्थानमा पुर्‍याएको ।’

पहिले–पहिले उनीहरु घरभित्र पनि धुर्मुस–सुन्तलीको लवजमा जिस्किन्थे । तर, आजकाल व्यस्तताले गर्दा त्यो बानी पनि छुट्यो । बरु उनीहरुको आवाज नक्कल गर्ने अनेक कलाकार बजारमा जन्मेका छन् ।

जे होस्, धुर्मुस–सुन्तलीको नियास्रो लाग्ने दर्शकहरुले आगामी मंगलबार प्रसारण मेरी बास्सैको प्रतिक्षा गर्दा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment