Comments Add Comment

निफमा ‘बुलबुल’को डबल ह्याट्रिक

‘नेपाल अन्तरराष्ट्रिय फिल्म फेस्टिभल निफ’मा चलचित्र ‘बुलबुल’ले डबल ह्याट्रिक गरेको छ । नेपाल पनोरमाको फिचरतर्फ ‘बुलबुल’ले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उकृष्ट अभिनेत्री, जुरी च्वाइस अवार्ड अभिनेता र जुरी च्वाइस महिला गरी ६ वटा अवार्ड जितेको हो ।

विनोद पौडेल निर्देशित यो चलचित्रमा विनोदले उत्कृष्ट निर्देशक र पटकथाको अवार्ड थाप्दै गर्दा स्वस्तिमा उत्कृष्ट अभिनेत्री घोषित थिइन् । यसै चलचित्रबाट मुकुन भुषाल र लक्ष्मी बर्देवालाई जुरीले उत्कृष्ट अवार्ड प्रदान गरेका थिए । यस्तै, निफमा चलचित्र ‘गोपी’ले पनि ह्याट्रिक गरेको छ । उत्कृष्ट चलचित्र जुरीतर्फ ‘गोपी’ छनोट भएको थियो । ‘गोपी’बाटै विपिन कार्की उत्कृष्ट अभिनेता ठहरिए । गोपी खिच्ने शैलेन्द्र डी कार्कीले उत्कृष्ट छायांकारको अवार्ड जिते ।

कार्यक्रममा नेपाली सर्ट चलचित्रतर्फको जुरी अवार्ड केदार श्रेष्ठ निर्देशित ‘जुनुको जुत्ता’ले पाएको थियो भने इन्टरनेसनल सर्ट चलचित्रतर्फको जुरी मेन्सन अवार्ड युक्रेनको ‘अन्ना’ले पाएको थियो । नेपाली सर्ट चलचित्रतर्फ प्रविण कुमार राउत निर्देशित ‘कलम’ उत्कृष्ट भयो भने यसै चलचित्रबाट प्रविण उत्कृष्ट निर्देशक बने । सर्ट चलचित्रतर्फको जुरी मेन्सन अवार्ड श्रीलंकाको ‘दिअदर हाफ’ले पाएको थियो ।

अन्तरराष्ट्रिय सर्ट फिल्मको विधातर्फ भारतिय चलचित्र ‘नुरी’ उत्कृष्ट भएको छ । चलचित्रमा भारत पाकिस्तान बोर्डरमा चेपिएकी एक युवतीको कथा पेश गरिएको थियो । बाग्मती अवार्ड नाम दिइएको यो पुरस्कारको राशी ५ सय अमेरिकी डलर छ ।

बहुपतिप्रथाको कथा समेटिएको गणेश पाण्डे निर्देशित ‘को हस्बेन्ड’ डकुमेन्ट्री विधातर्फ उत्कृष्ट ठहरिएको थियो । माउन्ट एभरेस्ट अवार्ड नाम दिएको यो पुरस्कारको राशी १ हजार अमेरिकी डलर रहेको थियो ।
यही वर्षबाट थपिएको एनिमेटेड विधाको अवार्ड भने चीनको ’स्प्रिट अफ दि ड्रइङ गर्ल’ले पायो । मञ्जुश्री अवार्ड नाम दिएको यो पुरस्कारको राशि ७ सय अमेरिकी डलर रहेको छ ।

समारोहको सबैभन्दा ठुलो पुरस्कार गौतम बुद्ध अवार्ड टर्कीको ‘ट्रयाप’ले पायो । जितसँगै फिल्मले १५ सय अमेरिकी डलर हात पार्यो ।

फिचर चलचित्रतर्फ प्रकाश झा मुख्य जुरी थिए । जुरीमा मन्जुकुमार श्रेष्ठ, गौरी मल्ल, जाओ पाउलो मकाइदो र थिबाउट ब्राकले गरेका थिए । श्रीलंकाका डकुमेन्ट्री मेकर अनोमा राजाकरुणाले नेतृत्व गरेको डकुमेन्ट्री विधातर्फको जुरी सदस्यमा करुण थापा, युनी हाडी सदस्य थिए ।

राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाम थिएटरमा ५ दिनसम्म चलेको यस फेस्टिभललाई नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment