
६ फागुन, विराटनगर । प्रसुति गराउने क्रममा आमा र शिशुको मृत्यु भएपछि मोरङको रंगेली अस्पतालमा मंगलबार पनि तनावग्रत भएको छ । सोमबार बिहान प्रसुतिका लागि अस्पताल भर्ना भएकी रंगेली नगरपालिका – ९ की रवीना सरदार र उनले जन्म दिएको छोराको मृत्यु भएको थियो ।
मृत्युपछि आफन्त र स्थानीयले सोमबार दिनभर अस्पतालमा प्रदर्शन गरेका थिए । चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको दाबी गर्दै उनीहरुले मंगलबार पनि प्रदर्शन गरेका छन् ।
नर्मल डेलिभरीमार्फत छोरा जन्माएकी रंगेली–९ दोहमनाकी २५ वर्षीया रवीना सरदार र उनीबाट जन्मिएका नवजात शिशुको सोमबार मृत्यु भएपछि प्रदर्शन भएको हो ।
रवीनालाई सुत्केरी व्यथाले च्यापेपछि सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो । बिहान १० बजे नर्मल डेलिभरीमार्फत उनले दोस्रो सन्तानका रुपमा छोरा जन्माइन् ।
उनीहरुले सुत्केरी र शिशुको शव बुझ्न अस्वीकार गरेका छन् । आन्दोलित बनेका आफन्तले मृत्युको वास्तविक कारण पत्ता लगाएर दोषी चिकित्सकमाथि कारबाही हुनु पर्ने र आगामी दिनमा यस्तो गल्ती दोहोरिन नहुने माग राखेका छन् ।
चिकित्सकका अनुसार रवीनाले मृत छोरालाई जन्म दिएकी थिइन् । छोरो जन्मिएपछि उच्च रक्तस्राव भएको थियो । रक्तस्राव नरोकिएर अवस्था गम्भीर बनेपछि बिहान ११ बजे विराटनगर रेफर गरेपछि रवीनालाई विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । कोसी अस्पतालमा पनि उपचार सम्भव नभएपछि नोवेल शिक्षण अस्पताल पुर्याइयो । नोवेल पुर्याइएको केही बेरमै सुत्केरीलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले सोमबारबाट सुरु विरोध सामधान हुने क्रममा रहेको बताए । मृतकका आफन्तसँग छलफल सुरु भएको बताए । स्थानीय प्रशासन, स्थानीय सरकार र मृतकका आफन्तबीच छलफल सुरु भएकाले केही समयपछि सामधान हुने उनले बताए ।
प्रतिक्रिया 4