Comments Add Comment

अहिलेको लोकतन्त्र, २००७ सालको प्रजातन्त्र

नेपालको प्रजातान्त्रिक, राजनीतिक विकासक्रमलाई केलाएर हेर्ने हो भने समाजिक तथा राजनीतिक आन्दोलन राज्यसत्ताको संरचनात्मक स्वरुप परिवर्तन गर्न धेरै सफल मानिन्छ । २००७ साल फागुन ७ राणा शासनको अन्त्यसँगै नेपालमा प्रजातान्त्रिक कालखण्डको शुत्रपात भएको दिन हो । यही परिवर्तनले नेपाली जनतालाई रैतीबाट नागरिक बनायो ।

झण्डै सात दशक लामो प्रजातान्त्रिक आन्दोलनमा थुप्रै उतार–चढाव पार गर्दै आज नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा पदारोहण गरेको छ । यद्यपि हाम्रो दैनिक जीवनशैली, प्रजातान्त्रिक अभ्यास, व्यवहार र संस्कृति अझै यसमा प्रतिविम्वित हुन सकेको छैन ।

प्रजातन्त्र प्राप्ति र पुनः प्राप्तिका लागि आन्दोलनको नेतृत्व गर्ने राजनैतिक नेतृत्व गणको आङ्खनो व्यवहार तथा जीवनशैली र लोकतान्त्रिक संस्कृतिलाई अझै आत्मसाथ गर्न नसक्दा एवं जनतालाई प्रजातान्त्रिक राजनीतिक अभ्यासमा प्रशिक्षित गर्न नसक्दा उनीहरुको शैली व्यक्तिगत र दलीय गुटको संस्कृतिको पक्षपोषणमा मात्र लिप्त भएको देखिन्छ । जसले गर्दा लोकतन्त्र प्राप्तिकोलागि संघर्ष गर्ने नेपाली जनतामा केही नैराश्यता भएको देखिन्छ ।

०६२/०६३ को जनआन्दोलनमा नेपाली जनता होमिँदै गर्दा प्रजातन्त्रबाट लोकतन्त्रमा फेरवदल शब्दकोषमा मात्र खोजेका थिएनन् । उनीहरुले देशको आर्थिक राजनीतिक सामाजिक र सांस्कृतिक रुपान्तरण सँगसँगै नयाँ नेपालको निर्माण गर्ने परिकल्पना पनि गरेका थिए । तर नेपाली जनताले आफूले सोचेजस्तो अनुभूत हुनेगरी केही कुरामा पनि महसुस गर्न पाएका छैनन् ।

देश लोकतन्त्रमय भयो । तर, निरंकुशताबाट पिल्सिएका पार्टीहरु अझै लोकतान्त्रिक बन्न सकेनन् । नेपालका मुख्यतः दुई ठूला दल सत्ताधारी नेकपा कम्युनिष्ट र प्रतिपक्ष पार्टी नेपाली कांग्रेस दुबै आफैभित्र पूर्ण लोकतान्त्रिक हुनु नै लोकतन्त्रको सफलताको पहिलो सर्त हो । यसले मात्र देशमा सुशासन र विकासको जगलाई मजबुत बनाउन सक्छ । गरिब असहायको पिर मर्का बुझ्न सक्छ, समग्र राष्ट्रको नेतृत्व लिन सक्छ ।

जसरी व्यवस्था परिवर्तनमा उपयोगी र उनीहरुको ज्ञान, सिप, जाँगर र नयाँ राजनीतिक व्यवस्थालाई स्थापित गर्न सफल भयो त्यसै गरी यसको सफल कार्यान्वयनमा केही चुकेको देखिन्छ । आफ्नै पार्टीभित्र थुप्रै योग्य र दक्ष कार्यकर्तालाई व्यवस्थित गर्न सकेको देखिँदैन । आन्दोलनमा सडक तताउन युवाको भावना बुझ्न सकेको देखिँदैन । लोकतन्त्रमा जनताको जीत हुनुपर्छ । तर, आज देशको ठूलो हिस्सा गरिवीबाट पीडित छ । लाखौं मानिसहरु घरबारविहीन छन् ।

हजारौं बालबालिका विद्यालयजना वञ्चित छन् । दशौं लाख मानिसहरु रोजगारीका लागि विदेशिएका छन् अहिलेसम्म देश विकासले गति लिन सकेको छैन । शिक्षामा पर्याप्त अवसर छैन । देश निर्माणको प्राथमिकता निश्चित मानिसको स्वार्थमा केन्द्रित छ । साँचो अर्थमा भन्नु पर्दा नागरिक राज्यबाट प्रताडीत छन् । जसरी सबै दलको संयुक्त नेतृत्वबाट जनआन्दोलन सफल भई संघीय लोकतान्त्रिक गणतान्त्रिक निर्माण भयो । तर, लामो संक्रमणकालपछि बनेको वर्तमान नेकपा कम्युनिष्ट सरकारको कार्यशैली र व्यवहार त्यसदिशातर्फ उन्मुख भएको देखिँदैन ।

नेतृत्वको लोकतन्त्रप्रतिको सैद्धान्तिक निष्ठा, आदर्श, संस्कार संस्कृतिमा देखिएको विकृतिले अवश्य नै नेपाली जनतामा निराशा उत्पन्न गराएको छ । यति ठूलो राजनीतिक परिवर्तन पछि बनेको प्रचण्ड बहुमतको सरकारले सर्वसाधारण जनताको दैनिक जीवन परिवर्तन हुने गरी खासै केही राम्रो काम गर्न नसकेको स्थिति छ । लोकतान्त्रिक मूल्य मान्यतामा ह्रास भएको देखिन्छ ।

प्रजातन्त्र वा लोकतन्त्रमा जतिसुकै भ्रम भए पनि प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । विगतको निरंकुश राजतन्त्र फासीवाद, नाजीवाद जस्ता बीसौं शताब्दीका घोर प्रजातन्त्र विरोधी व्यवस्थाले आफ्नो वैधता गुमाइसकेका छन् । प्रजातान्त्रिक पद्दति अंगाल्ने मुलुकको संख्या बढ्दो अवस्थामा छ । विश्व राजनीति धेरै प्रजातन्त्रतर्फ बगेकाले साम्यवादी मुलुकले आफ्नो अस्तित्व टिकाउन अनेक प्रपञ्च रचेको देखिन्छ । जस्तो चीनजस्ता साम्यवादी मुलुक आफ्नो आर्थिक आडमा र उत्तर कोरियाजस्ता साम्यवादीमूलक आफ्नो आणविक भरमा सत्ता टिकाउन प्रयासरत छन् ।

नेपालका नेकपा कम्युनिष्ट सरकारको पनि आफ्नो शक्ति र सत्ताको आडमा जनतालाई डर त्रास देखाएर टिकिरहेका छन् । तर, सबै क्रियाकलाप अलोकतान्त्रिक र असंवैधानिक देखिन्छन् । प्रजातन्त्र मूलतः राजनीतिक विषय हो । राजनीतिमा सबै काम जायज हुन्छ भन्ने केहीको बुझाइ छ । यही सुत्र प्रयोग गरेर प्रजातन्त्रका पक्षापतीहरुले प्रजातन्त्रका मूल्य मान्यतामाथि आक्रमण गरेको देखिन्छ ।

प्रजातन्त्रप्रति जनताका वितृष्णाका स्वर व्यवस्थाप्रति नभएर शासन गर्ने व्यक्तिप्रतिको कार्यशैली नै हो । त्यसैले प्रजातन्त्रलाई निरपेक्ष राजनीतिमात्र बुझ्दा त्यसभित्र केही असंगत पक्षहरु पनि देखिन्छन् । राजनीतिक आँखामा प्रजातन्त्रको सोझो अर्थ भनेको बहुमतको शासन हो । चाहे खराब नै किन नहोस्, बहुमत छ भने जेजस्तो तरिकाले शासन चलाए पनि हुन्छ भन्ने मान्यताले राज गर्दा प्रजातान्त्रिक शासन व्यवस्थामा केही विकृति र विसंगति देखिएका छन् । तर, प्रजातन्त्रमा प्रजातान्त्रिक मूल्य मान्यताविपरीत काम गर्ने छुट छैन ।

प्रजातन्त्रले प्रजातान्त्रिक पद्दतिको विरोध गर्न छुट दिन्छ । त्यसैले आज प्रजातन्त्रमा बेलाबखत अराजकताले स्थान पाउँछ । आज त्यही प्रवृत्ति मौलाएको छ । लोकतान्त्रिक शासन व्यवस्थालाई टेकेर बनेको वर्तमान कम्युनिष्ट सरकारको आवरण चाहिँ निरंकुशतावादी देखिन्छ किन ? मुलुकमा शान्ति सुरक्षा र सुशासन, विकासको गति अगाडि बढ्न सकेको छैन भने प्रजातन्त्रको हिमायती नेपाली कांग्रेसले पनि सशक्त प्रतिपक्षको भूमिका निभाउन नसकेको टीकाटिप्पणीमा रुमलिएको देखिन्छ ।

गणतन्त्र नेपालको राष्ट्रपतिको कार्यशैली पनि पुरातन राजतन्त्र शैलीको जस्तै नै देखिनाले जनताको आशा र भरोसामा तुसारापत भएको पाइन्छ । त्यसैले प्रजातन्त्रलाई सुन्दर बनाउन विधिको शासनमा जोड दिनु नै पर्छ र प्रजातन्त्रका नाममा देखिने अराजकतालाई चिर्नु नै पर्छ ।

कोही पनि व्यक्ति कानुनभन्दा माथि हुँदैन । कानुनको आ“खामा सबै समान हुनुपर्छ । तर, यहाँ ठूलालाई चैन र सानालाई ऐन लागेको देखिन्छ । निर्धारित कानुनद्वारा नै नागरिक र सरकार सबै समानरुपमा शासित हुने मान्यता नै कानुनी शासन हो । निरंकुशता र स्वेच्छाचारिताको अन्त्य, कानूनका अगाडि सबै समान, संवैधानिक सर्वोच्चता आदि नै लोकतान्त्रिक मूल्य मान्यता हुन् । प्रजातन्त्रमा यी सबै विशेषता भएमा मात्र पूर्ण प्रजातन्त्र हुन्छ र त्यो प्रजातन्त्रमा मात्र जनताको सुन्दर भविष्य निर्माण हुन्छ ।

त्यसैले, २१ औं शताब्दीको लोकतन्त्रमा कानुनी शासन र मानव अधिकारको अति आवश्यकता रहेको छ । यो कुरा राज्य चलाउनेले आफ्नो आचरण र संस्कार देखाउन सके मात्र २००७ सालको प्रजातन्त्रले निरंकुशताबाट पाएको मुक्ति अनि लोकतन्त्रबाट जनताले गरेको अपेक्षाले सार्थक रुप लिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment