Comments Add Comment

लेखेर राख्नुस् राजपा सरकारमा जाँदैन : यादव

६ फागुन, काठमाडौं । समाजवादी पार्टी (सपा) ले सरकार छोडेको एक महिनापछि नै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरूलाई बोलाएर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले राजपाका नेताहरूलाई गत ६ माघमा सपथका लागि तयार हुन भनेका थिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजपाबीच राष्ट्रियसभाको निर्वाचनमा प्रदेश दुईमा भएको तालमेल, प्रतिनिधिसभा सभामुख निर्वाचनमा नेकपा उम्मेदवारलाई राजपाको समर्थन जस्ता घट्नाक्रम हेर्दा राजपा नेकपासँग नजिकिएको देखिन्छ । राजपा नेताहरू भने सरकारमा जाने वातावरण नबनेको बताउँछन् ।

‘हामी सरकारमा जानै चाहेका छैनौं त कसरी बन्छ वातावरण ?’ राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादव भन्छन्, ‘लेखेर राख्नुस् राजपा सरकारमा जाँदैन ।’

राजपा सरकारमा जान लाग्यो भनेर सञ्चार माध्यमले अनावश्यक हल्ला गरेको संयोजक यादवको आरोप छ ।

नेकपाका एक स्थायी कमिटी सदस्य भने राजपाको सरकारमा आउने ढोका बन्द भइनसकेको बताउँछन् । प्याकेजमा सहमति गर्न सजिलो होस् भनेर प्रतिनिधिसभाको उपसभामुख पद खाली राखिएको उनको भनाइ छ ।

नेकपासँग कुरा नमिलेपछि पार्टी एकतामा जोड

राजपा वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले पनि राजपामा केन्द्र सरकारमा जाने र प्रदेश २ को सत्ता समीकरणमा परिवर्तन हुने संभावना शुन्य प्रतिशत रहेको बताउँछन् । उनी भन्छन्, ‘व्यक्तिगत रुपमा कोही मन्त्री बन्छन् भने अलग कुरा संस्थागत रुपमा राजपा सरकारमा सहभागी हुने सम्भावना जिरो प्रतिशत छ ।’

‘फेस सेभिङ’ को अवसर नमिलेसम्म आफूहरू सरकारमा सहभागी नहुने राजपाका नेताहरूले नेकपालाई बताइसकेका छन् । ‘यत्तिकै सरकारमा जाँदा सपाकै हालत हुन्छ भन्नेे हामीले राम्रोसँग बुझेका छौं’ राजपा अध्यक्ष मण्डलका एक सदस्य भन्छन् ।

अध्यक्ष मण्डलका अर्का सदस्य राजेन्द्र महतो संविधान संशोधन, निलम्बित सांसद रेशमचौधरी लगायतको रिहाइ, आन्दोलनका घाइतेहरूको उपचार नभएसम्म सरकार जाने कुरा सोच्न पनि नसकिने बताउँछन् । आफूहरूले सरकारमा सहभागी हुने कुरालाई भन्दा बढी जोड पार्टी एकीकरणलाई दिएको उनको भनाइ छ ।

राजपाले सपाको सत्ता बहिर्गमनलाई पार्टी एकताको महत्वपूर्ण आधार बताउने गरेको थियो । तर, सपाले सरकार छाडे पनि औपचारिक रुपमा एकता वार्ता हुन सकेको छैन ।

अनौपचारिक छलफल भने निरन्तर चलिरहेको अध्यक्ष मण्डलका सदस्य महतो बताउँछन् । ‘दुवै पार्टीको बराबरी हैसियतमा एकता गर्नेबारे छलफल चलिरहेको छ’, उनी भन्छन्, ‘अनौपचारिक वार्ताबाट सहमतिमा पुगेपछि मात्रै औपचारिक वार्ता गर्छौं  ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment