Comments Add Comment

गोकुल बास्कोटातिर हेर्नेबितिक्कै चुप लाग्छन् : प्रधानमन्त्री

६ फागुन, धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार धुलिखेल नगरपालिकाको ३४औं स्थापना दिवसमा प्रमुख अतिथिकारुपमा निम्त्याइएका थिए । त्यस क्रममा उनले स्व. मदन भण्डारीको शालिक अनावरणसमेत गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले सँगै रहेका सञ्चारमन्त्री गोकुल बास्कोटाको प्रशंग कोट्याए ।

‘काभ्रे प्रतिभा जन्माउने ठाउँ हो । प्रतिभा जन्माउने जिल्ला हो । यो कुरा क्रमशः प्रकट हुँदै गएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘आज देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बास्कोटा र अर्काेतिर अरु सबैजस्तो देखिएको छ । सरकारको विरोध गर्नुपर्‍यो भने गोकुल बास्कोटातिर हेर्नेबितिक्कै चुप लाग्छन् ।’

प्रधानमन्त्री ओलीले नेपाल नगरपालिका संघका अध्यक्षसमेत रहेका धुलिखेल नगरपाकिलाका मेयर अशोक ब्याञ्जुको पनि प्रशंसा गरे ।

‘धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु देशभरका नगरपालिकाका अध्यक्ष हुनुहुन्छ । अशोक ब्याञ्जुलाई देशभरका जनप्रतिनिधिहरुले त्यसै अध्यक्षमा चुनेनन् होला, अशोक ब्याञ्जुमा केही क्षमता देखेर नै चुने ।’

प्रधानमन्त्रीले धुलिखेल नगरपालिकाको मुक्तकण्ठले प्रशंसा गरे । उनले भने, ‘केही समयको अन्तरालपछि धुलिखेल नगरपालिकामा मैले बेग्लै उत्साह, बेग्लै उमंग र विकासको बेग्लै संकल्प पाएँ । यहाँ परिवर्तन पाएको छु र अझै ठूला परिवर्तनको संकल्प पाएको छु ।’

प्रधानमन्त्रीले मदन भण्डारीको शालिक अगाडि तस्वीरसमेत खिचाए । कार्यक्रममा सहभागी हुन खानेपानी मन्त्री वीना मगर पनि प्रधानमन्त्रीसँगै धुलिखेल पुगेकी थिइन् । प्रधानमन्त्रीका साथमा राधिका शाक्य पनि थिइन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले जननेता मदन भण्डारीप्रति सम्मान ब्यक्त गर्न काभ्रे भञ्ज्याङ्गमा भण्डारीको शालिक स्थापना गरेकोमा नगरपालिका र वागमती प्रदेश सरकारलाई धन्यवाद दिए ।

भाषणका क्रममा प्रधानमन्त्रीले भने, ‘केही मानिस परिर्वतनबाट अत्तालिन थालेका छन् । सडकमा अब तारका झुप्पा देखिने छैनन् । सुरुङ्ग युगमा प्रवेश गरिएको छ । कोटेश्वर–धुलिखेल खण्ड फराकिलो बनाउँदै राजधानीसँग काभ्रेलाई सहज बनाइनेछ । देश विकासको सिँढी चढिरहेको छ । हरेक दिन युगान्तकारी विकासका काम अगाडि बढेको छ, एउटा नयाँ युगको प्रारम्भ भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment