Comments Add Comment

शिक्षामन्त्रीले चलाएको कम्युन !

माओवादीका कम्युन मासिए, एकताकेन्द्रको बाँकी छ

६ फागुन, बर्दिबास (महोत्तरी) । बर्दिबास बजारदेखि केही माथि समथर भुभागमा छ गौरीडाँडा । यहीँ डाँडामा बाटाको दुबैतर्फ जस्ताको छाना भएका एकतले चार वटा पक्की घरहरु छन् । एउटा घरमा भान्सा र डाइनिङ । बाँकी तीनकोठे तीनवटा घर सुत्ने ठाउँ ।

अर्को छेउमा दुईतले पक्की भवन छ । भवनको भित्तामा साइनबोर्ड झुण्डिएको छ, जहाँ लेखिएको छ, सामाजिक स्थान्तरणका लागि सामुहिक अभ्यास, आधारशिला ।

साइनबोर्डको दुई छेउमा रातो–रातो कागजमा दुईवटा कोटेसन उभिएका छन् ।

लोकतन्त्र नै समाजवाद पुग्ने बाटो हो – कार्ल मार्क्स  ।

आजसम्म भएको समाज परिवर्तनको इतिहास वर्ग संघर्षको परिणाम हो – फ्रेडरिख एङ्गेल्स ।

यही भवनमा छन् बैठक कोठा, पुस्तकालय र पाहुना सत्कार कोठा । यी दुई भवनवीचमा एउटा बाटो छ । र, एक छेउमा बगैंचा । बगैंचामा दुई सेता खरायो खेलिरहेका छन् ।

बगैंचा छेउमै प्रतिक्षालय छ । खरले छाएको गोलो आकारको प्रतिक्षालय । डेढ कट्ठा जमिनमा फैलिएको यो आधारशिला हरियाली र सफाचट छ, जससँग १५ परिवार जोडिएका छन् ।

आधारशिला एउटा जनकम्युन हो । यसले १७ वर्षे यात्रा पार गरिसकेको छ । आधारशिलाका सदस्य इन्द्रराज लामा भन्छन्, ‘जीवन निजी हो र त्यसको प्रयोग सामुहिक हो भन्ने हाम्रो सिद्धान्त छ । त्यसैले, कम्युन बन्ने दिशामा अगाडि बढिरहेका छौँ ।’

बहालवाला शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि यही कम्युनका सदस्य हुन् । संस्थापक हुन्, जो अहिलेसम्म अविवाहित छन् ।

प्राध्यापन गरी भर्खरै फर्केर प्रतीक्षालयमा थकाइ मारिरहेका इन्द्रराज भन्छन्, ‘राजनीति र अन्य विभिन्न कामले गर्दा धेरै बाहिर हुनुभएकाले अहिले १५ जना मात्र यहाँ नियमित बस्छौँ,’ खासमा आधारशिला ४५ जनाको परिवार हो ।

इन्द्रराजले कम्युनमा शिक्षा विभाग सम्हालेका छन् । उनी बिहानै उठेर सात बजेसम्म ब्रेक फास्ट लिन्छन् । त्यतिबेलासम्म तीन आमा (पुनम महत्व, पुष्पलता घिमिरे र आशा गिरी) ले ब्रेक फास्ट तयार पारिसकेका हुन्छन् ।

ब्रेकफास्टपछि दुई विद्यार्थी कलेज जान्छन् । पुष्पलता बसपार्कतर्फको हेस्टेलमा पुग्छिन् । उनको नेतृत्वमा कम्युनले बर्दिवास बजारमा केटा र केटीका होस्टेल सञ्चालन गरेको छ । इन्द्रराज दुईवटा कलेजमा पार्टटाइम पढाउन त्यतै लाग्छन् र १० बजे फर्कन्छन् ।

त्यतिबेलासम्म पुनम र आशाले बिहानको खाना तयार पारिसकेका हुन्छन् । पुनमका श्रीमान शंकर शिक्षामन्त्रीका स्वकीय सचिव छन् । उनी पनि इन्द्रराज परिवारसँगै बसेर खाना खान्छन् । पुनमका छोराछोरी विद्यालय जान्छन्, इन्द्रराज पढाउनका लागि मोटरसाइकल चढेर देउराली मावितर्फ लाग्छन् ।

खासमा बालबालिकाको शिक्षा र स्याहारलाई केन्द्रमा राखेर यो आधारशिलाको आधार तयार भएको थियो ।

तत्कालीन राजा ज्ञानेन्द्रले ०५९ मा राजनीतिक ‘कु’ गरे । मुलक गृहयुद्धमा थियो । नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को नेतृत्वको एकता केन्द्र मसाल पार्टीसमेत भूमिगत थियो ।

एकता केन्द्रको सगरमाथा, कोशी र जनकपुर अञ्चलसहितको पूर्वाञ्चल व्युरोको कमाण्ड गिरिराजमणि पोखरेलले सम्हालेका थिए । ‘कतिपय साथीहरु होलटाइमर बन्नुभयो । कतिपय क्रान्तिमा मारिनुभयो । थुप्रै नेताहरुलाई आफ्नो भन्दा पनि छोराछोरीको भविश्यबारे चिन्ता थियो’, मन्त्री पोखरेल आधारशिलाको आधार सम्झन्छन्, ‘त्यसपछि १८ जना होलटाइमर नेता कार्यकर्ता र सहिदका बच्चाहरु राखेर आधारशिलाको शुरुवात गर्‍यौँ ।’

त्यतिबेला आधारशिलाको सेल्टर सिराहाको गोलबजारमा थियो । उक्त आधारशिला ठेक्कामा थियो । सेल्टर नजिकै उच्च मावि थियो । बाबुआमा राजनीतिमा होलटाइमर थिए, छोराछोरी त्यही विद्यालयमा पढ्थे ।

आधारशिलाका बालबालिकाले बोर्डिङ स्कुल पढ्न नपाउने नीति छ । आफ्ना बालबालिकालाई बोर्डिङ स्कुल पठाउनुको सट्टा अविभावकहरु विद्यालय सुधारमा लागे ।

आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुको तर्क यसरी पेस गर्छन् इन्द्रराज, ‘हामीले कुनै पनि बालबाबालिकालाई बोर्डिङ स्कुल पढाउँदैनौँ । हाम्रो मूल ध्येय भनेकै सामुदायिक विद्यालयलाई राम्रो बनाउने हो । यसो भएन भने शिक्षामा विकास सम्भव छैन ।’

सुरुवाती चरणमा निकै कष्टप्रद ढंगले वामे सर्‍यो आधारशिला । गिरिराजमणिकै नेतृत्वमा पार्टीको जनवर्गीय संगठनहरुबाट आर्थिक संकलन गरी कम्युनिष्टको आस्था आधारशिला टुकुर–टुकर गर्दै थियो । खासगरी सहकारी अवधारणामा शुभेच्छुक र पार्टी कार्यकर्ताहरुबाट सहयोग त आउँथ्यो, व्यक्तिगत आम्दानीको पनि केही हिस्सा परिवारका सदस्यले लगानी गर्थे । तर, त्यो पर्याप्त थिएन ।

इन्द्रराज भन्छन्, ‘कहिलेकाँही ड्रेस फाटेका बेला विद्यार्थीलाई ड्रेस किन्न सकिएन । बच्चाको शुल्क तिर्न नसकेर प्राचार्यले परीक्षा रोकेको अवस्था पनि बेहोर्‍यौँ ।’

तैपनि सामुहिक जीवनको एउटा उज्यालो बाटो पनि छ भन्दै आधारशिला अगाडि बढिरह्यो । चाइना र पेरिसको कम्युनबाट प्रेरित भएर तीन परिवारसँग विस्तारै अन्य परिवार पनि जोडिन आइपुगे ।

०६२ पछि देश शान्ति प्रक्रियामा अगाडि बढ्यो । बन्दुकको नालबाट सत्ता कब्जा गर्ने आदर्श बोकेको माओवादी पनि सरकारलाई हतियार बुझाएर लोकतन्त्रिक अभ्यास स्वीकार्‍यो । नारायणकाजी नेतृत्वको पार्टी माओवादीमै एकीकृत भयो ।

यता आधारशिलाले ०६७ सालमा फड्को हान्यो ।

निजीकरणलाई अन्त्य गर्दै सर्वाहाराकरणको दिशातिर जाने उद्देश्य बोकेर आधारशिलाका सबै परिवारले आफ्नो भागमा परेको अंश आधारशिलामा राखेर अगाडि बढ्ने निर्णय गरे ।

कतिपय बालबालिका र अभिभावक यो विचारसँग सहमत भएनन् । तर, व्यक्तिगत चिज केही पनि नराख्ने, सबथोक समाजलाई दिने आदर्शले प्रेरित भएकाहरु आधारशिलालाई कम्युनको दिशामा अगाडि बढाउन उद्दत भए ।

अनि गौरिडाँडामा आधारशिलाले आफ्नै नयाँ घर पायो ।

आधारशिलाले नयाँ घर पाउनुमा चर्चित रंगकर्मीहरु सुनील र निशा पोखरेलको पनि ठूलो देन छ । तत्कालीन गुरुकुल नाटकघरका सुनिल र निशा पोखरेलले नाचघरमा ‘पुतलीको घर’ नामक नाटक प्रदर्शन गरेका थिए । उक्त नाटकमा टिकटवापत आएको दुई दिनको सम्पूर्ण रकम आधारशिलालाई उपलब्ध गराएका थिए । त्यतिबेला सुनिल पोखरेलले उपलब्ध गराएको डेढ लाख रुपैयाँले आधारशिलाले एक कठ्ठा जमीन पायो ।

अर्को दुई वर्ष आधारशिलाले देउसी खेल्यो र केही रकम संकलन गर्‍यो । अनि गौरिडाँडामा १३ कट्ठा जमिन किनियो । प्रतिक्षालयमा बसेका इन्द्रराजले पछाडितर्फ औँला तेर्साए, ‘उ त्यहाँसम्म हाम्रो जमिन हो ।’

जमिन अहिले खाली छ । यो मौसममा पानीको अभावले खेती हुँदैन । तर, रहरको दालका सुकेका ठोसा देखिन्छन् । दाल आधारशिलाले आफ्नो भण्डारमा राखिसकेको छ । तीन/चारवटा साना गह्रामा प्याज रोपिएको छ । केही समय पहिले यहाँ भण्टा र काउलीलगायतका तरकारी थिए । छेउमा अम्बा र कागतीको बोट देखिन्छन् ।

जमिनकै एक छेउमा दुईवटा गोठ छन् । जहाँ एउटा गाई र बाच्छी छन् । यही गाईको दूध खान्छन् आधारशिलाका परिवार । पुनम महत्वले भनिन्, ‘हामीले गाईफार्म पनि शुरु गरेका थियौँ । तर, त्यसमा सफल हुन सकेनौँ ।’ त्यसैले यो गोठ नभएर व्यवसायिक फार्मको आधारमा डिजाइन गरिएको छ ।

 

आधारशिलाले मसला उद्योग पनि सञ्चालन गरेको थियो । बर्दिबासमा मसला उत्पादन गथ्र्यौं र काठमाडौंमा निर्यात । यो आधारशिलाको अर्को आम्दानीको स्रोत थियो । तर, तीन तहको चुनावमा पुरै आधारशिला होमियो । पार्टीका कार्यकर्ता र नेताको जमघट र बास हुने ठाउँ पनि आधारशीला नै बन्यो । परिणामतः छ वर्षदेखिको मसला उद्योगको चेन चुँडियो ।

तर, आधारशिलाले धनुषाको लालगढमा एकविघा जमिन ठेक्कामा लिएको छ । त्यहीँ उत्पादन भएको चामलले उनीहरुलाई वर्ष दिनभरि खान पुग्छ । खेती गरेवापत जग्गाधनीलाई आधारशिलाले वार्षिक १५ हजार रुपैयाँ बुझाउनुपर्छ ।

०००

आधारशिला गौरिडाडामा त आयो तर, नजिकैको जनता माध्यामिक विद्यालयमा पढाइ राम्रो थिएन । विद्यालयमा न झ्याल ढोका थिए, न विद्यालय आउने–जानेको कसैले गणना गर्थे । झुप्रोजस्तो विद्यालयको छाना पनि गतिला थिएनन् । प्रतिक्षालयबाटै देखिने विद्यालयको ठूलो भवन देखाउँदै इन्द्रराज भन्छन्, ‘यहाँ आइसकेपछि सबैभन्दा पहिला हामीले यही स्कुलबाट रुपान्तरणको शुरुवात गरेका हौँ ।’

अहिले जनता माध्यमिक विद्यालय उच्चमावि भएको छ । विद्यालयसँग चारवटा त पक्की भवन नै छन् । १२ कक्षासम्म विज्ञान, डिप्लोमा एग्रीकल्चर र भेटेरिनरी पढाइ हुन्छ । दुई नम्बर प्रदेशकै मोडल स्कुल हो यो । किनकि तीनपटक एसईईमा विद्यालयले प्रदेश टप गर्‍यो र एकपटक बोर्ड सेकेन्ड भयो ।

इन्द्रराज अगाडि भन्छन्, ‘हामीले शिक्षा, स्वास्थ्य र सांस्कृतिक रुपान्तरणका लागि निकै ठूलो अभियान शुरु गरेका छौँ । हाम्रा विद्यार्थी यही पढ्छन् ।’

पुरुषोत्तम यादव चिया लिएर प्रतिक्षालयामा आइपुगे । चार वर्षको उमेरदेखि पुरुषोत्तमलाई आधारशिलाले नै हुर्कायो । उनी अहिले जनता उच्च माविमै प्लान्ट साइन्स पढ्दैछन् । उनका बाबा धनुषाका नेकपाका नेता हुन् ।

पुरुषोत्तम मात्र होइन, अहिले जनता माविमा आधारशिलाका चारजना विद्यार्थी अध्ययन गर्दैछन् । पहिले विद्यालयका १० विद्यार्थी आधारशिला परिवारकै सदस्य थिए ।

पुष्पलताका एक छोरा अर्थशास्त्रमा मास्टर्स गरेर भर्खरै फर्किएका छन् । अर्को छोरा जेन्डर स्टडिजमा मास्टर्स गर्दैछन् । मनिषा काठमाडौंमै कमर्समा ब्याचलर पढ्दै छिन् ।

मनिषाका बाबालाई युद्धकालमा माओवादी भन्दै सेनाले गोली हानी हत्या गरेको थियो । त्यसपछि मनिषा पाँच वर्षको उमेरमै आधारशिला प्रवेश गरेकी थिइन् । इस्टु कार्की पनि आधारशिलाकै उत्पादन हुन् । जसले अभिनय क्षेत्र रोजेकी छिन् ।

अहिले अधारशिलाका अध्यक्ष दीपबहादुर योन्जन छन् । उनी नेकपाका केन्द्रीय सदस्य हुन् । पूर्वसभासद दुर्गाजयन्ती राई, धनगढीमाई नगरपालिकाका हरिनारायण चौधरी, नेकपाका आमन्त्रित स्थायी कमिटी सदस्य पेशल खतिवडा पनि आधारशिलाकै सदस्य हुन् । संविधान सभा सदस्य सीता पोखरेल, पूर्वमन्त्री विश्वनाथ साह पनि आधारशिलाकै सदस्य थिए । तर, अहिले बाहिरिसकेका छन् ।

जो–जो अहिले आधारशिलामा छन्, उनीहरुलाई कम्युनिष्ट पार्टीको ‘सर्वहाराकरण’ विचारधाराले बाँधेको छ । पेरिस कम्युनबाट शिक्षा लिएका उनीहरुले सर्वाहाराकरणलाई केन्द्रविन्दु मान्छन् ।

‘मूल केन्द्रविन्दुमा नपुगिकन कम्युनिष्ट विचार सिद्धान्त पूरा हुँदैन । सबै साम्यवाद हो र निजी केही पनि रहँदैन’, यो उनीहरुको मूल ध्येय हो । इन्द्रराज तर्क गर्छन्, ‘पहिलो विचार र राजनीतिमा सर्वाहाराकरण, दोस्रो आर्थिकरुपमा र तेस्रो सांस्कृतिकरुपमा सार्वहाराकरण भन्ने जगमा उभिँदै हामी कम्युनको दिशातिर विस्तारै विस्तारै धकेलिरहेका छौँ ।’

आधारशिलामा सिराहा, धनुषा, सर्लाही, काठमाडौं, ओखलढुंगा र खोटाङबाट आएर सामुहिक बसोबास गरिरहेका छन् ।

अहिले सबै आधारशिलाई रुँघ्न सक्ने अवस्थामा छैनन्, पार्टी र अन्य कामले बाहिर छन् । एकजना दिदीले सिराहामा बाख्रा पालन गर्छिन् । तर, जसले जे–जे गर्छन्, त्यो परिवारकै सम्पत्ति हुन्छ ।

मन्त्री गिरिराजमणि भन्छन्, ‘मेरो आय–व्ययको हिसाब सबै आधारशिलाकै कमरेडहरुले गर्नुहुन्छ, निवासमा सहयोग गर्ने पनि आधारशिलाकै साथीहरु हुनुहुन्छ ।’

इन्द्रराजले प्रध्यापन गर्छन् । आम्दानीबाट केही व्यक्तिगत खर्च गर्छन् र बचेको रकम आधारशिलालाई बुझाउँछन् । ‘मेरो व्यक्तिगत चीज केही छैन । सबै सामुहिक भनेर यहाँ सम्पत्ति हालियो’ इन्द्रराज भन्छन्, ‘त्यसैले अहिले आफ्नो व्यक्तित्वले निर्माण गरेका जुनसुकै चिज चाहे त्यो अवार्ड होस्, चाहे पुरस्कार वा ज्याला नै किन नहोस्, त्यो परिवारकै हुन्छ ।’

विश्वले निजीकरणलाई प्रश्रय दिइरहेका बेला आधारशिला आफ्नै आदर्शमा बाँचेको छ । हरेक शनिबार आधारशिलाका बालबालिकाहरु आफ्नो सिर्जना सुनाउँछन् । जसले भ्यायो, उसैले खेतबारी र घरमा काम गर्छन् । आफूले खाएको थाल आफैं माझ्छन् ।

मन्त्री गिरिराजमणिको पनि एउटा ब्लकमा कोठा छ । फुर्सद भएका बेला, चाडपर्वमा त्यहीँ गएर खान्छन्, बस्छन् ।

प्रत्येक २५ माघमा भव्यताका साथ आधारशिलाले वार्षिक उत्सव मनाउँछ । कहिले रामेश पुगेर जनवादी गीत गाउँछन् त कहिले जीवन शर्माले सर्वहाराको स्वर गुञ्जाउँछन् । कहिले माधव नेपाल त कहिले नारायणकाजी पुग्छन् ।

वर्षको दुईपटक आधारशिलाको परिषद् बैठक हुन्छ । बालबालिकाबाहेक सबै वयष्क परिषदका सदस्य हुन् । त्यही परिषदमा उनीहरुले योजना बनाउँछन्, असन्तुष्टि राख्छन्, झगडा गर्छन्, बहस गर्छन् । फेरि छलफलबाटै निष्कर्ष निकाल्छन् ।

‘अभिव्यक्तिमा स्वतन्त्रता, काम कारवाही र भावनामा एकरुपतालाई अंगीकार गरेका छौँ’, इन्द्रराज भन्छन् ।

तर, कहिलेकाहिँ विचारमा विचलन आउँछ, सामुहिक बसाइमा मानिसहरु असहज ठान्छन् । जस्तो कि–आधारशिलाका केही सदस्य डिप्रेशनको शिकार पनि भए । उनीहरुलाई आधारशिलाले विदाइ ग¥यो ।

‘कसैले कम र कसैले धेरै कमाउने अनि निजत्वलाई प्रथामिकता दिने हो भने त्यो भयंकर वैचारिक दरिद्रता हो । इन्द्रराज तर्क गर्छन्, ‘ यो सामुहिक जीवन पद्दति विपरीत धारणा हो ।’

पछिल्लो समय आधारशिलामा सदस्य थप्ने उनीहरुको योजना बनेको छैन । सर्वहाराकरणको राजनीतिप्रति योगदान र रुची भएको मान्छे मात्र आधारशिलाको सदस्य हुन सक्छ । उनीहरु ठान्छन् कि सर्वहारा राजनीति र कम्युनिष्टप्रति चासो र चिन्ता नभएकाहरुलाई कम्युनमा ल्याएर कुनै अर्थ छैन ।

शिक्षामन्त्री गिरिराजमणि भन्छन्, ‘आधारशिलामा साम्यवादी, समाजवादी आदर्शको प्रभाव छ । यसलाई आफ्नै जीवनबाट किन प्रयोग नगर्ने भनेर यहाँसम्म आइपुगेका छौँ ।’

भविश्यमाथि प्रश्नै प्रश्न

नेपालका धुरन्धर कम्युनिष्टहरुले नै निजी सम्पत्तिलाई प्राथमिकतामा राखेर गतिविधि गरिरहेको देख्दा आधारशिला एउटा केटाकेटी खेलाजस्तो मात्र लाग्छ । दुईतिहाइको सरकारले नै पुँजीवादको फेरो समातेको यथार्थअघि आधारशिलाको भविश्य विचराजस्तै लाग्छ ।

तर, इन्द्रराजको विश्वास छ, ‘कम्युनिष्ट पार्टीको आन्दोलनले जति धेरै सफलता हासिल गर्छ, त्यति नै यसको ओझ रहन्छ । नत्र चारैतिरबाट आक्रमण शुरु हुन्छ ।’

 

आधारशिलाको दोस्रो ब्लगको एउटा धोकामा टाँसिएको कोटेशनले भन्छ – आजसम्म दार्शनिकहरुले संसारको व्याख्या मात्र गरेका छन्, मूल कुरा त संसारको परिवर्तन हो ।

मार्क्सले भनेजस्तै आधारशिलाले परिवर्तनको शुरुवात त गर्‍यो तर, यसको भविश्य भने प्रश्नै प्रश्नले भरिएको छ ।

देश गृहयुद्धबाट बाहिर निस्किएको करिव १३ वर्ष भयो । तत्कालीन विद्रोही पक्ष माओवादीले आफ्नो लालकिल्ला रोल्पा, रुकुममा थुप्रै जनकम्युनको अभ्यास गरेको थियो । अजम्बरी कम्युन, बलिदान जनकम्युन्, जुनी कम्युन इत्यादि ।

मानिसहरु निजी सम्पत्ति कम्युनलाई बुझाएर सर्वहाराकरणको दिशामा अगाडि बढे । सँगै खान थाले, सँगै बस्न थाले, मेला पातमा सँगै काम गर्न थाले । आम्दानी पनि सामुहिक, खर्च पनि सामुहीक र सम्पत्ति पनि सामुहिक । हर एकको खुशी कम्युनको खुशी, हर एकको दुःख सिंगो कम्युनको दुःख ।

जब माओवादी शान्तिप्रक्रियामा आयो, ती कम्युनहरु ध्वस्त हुँदै गए । अहिले ती कम्युनको अवशेष भेट्टाउन पनि गाह्रो छ । भेट्रान कमरेडहरु काठमाडौंका बिल्डिङमा बस्न थालेपछि कम्युनमा ‘कम्प्रोमाइज्ड’ भयो । उनीहरुले कम्युनलाई कर्के नजरले पनि हेरेनन् ।

पेरिस कम्युनलाई ध्वस्त पार्न थियर्सले पर्सियाका मानिसलाई भित्र्याए जसरी यहाँको कम्युन लोप गराउन बम, गोला, बारुद बर्साउनु परेन । कम्युनको संरक्षण गर्न योद्धाहरु पेरे ला चायसे च्याहानका पर्खालहरूको सामु रगतको अन्तिम थोपा रहेसम्म लड्दै विरगति प्राप्त गर्न पनि परेन यहाँका कम्युनलाई । भलै, सन् १८७१ को बृहत पेरिस कम्युनको तहमा माओवादीले खडा गरेका ती कम्युन विकास भएका थिएनन् ।

बरु ती कम्युनका सदस्यहरुलाई आफ्नै खट्टामा बञ्चरो प्रहार गरेजस्तो भयो । कम्युनका सदस्यहरु कोही कंगाल भएका छन्, कोही भारत र खाडी पुगेर व्यक्तिगत जीविकोपार्जन गरेका छन् । कोही पश्चातापमा जलेको मुटुले फेरिएको माओवादीलाई गाली गर्दैछन् ।

तर, महोत्तरीको बर्दिबास नगरपालिका– ३, गौंरीडाँडामा अहिलेसम्म एउटा कम्युन जीवितै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment