Comments Add Comment

विदेशमा नेपाललाई ‘कोरोना भाइरसमुक्त क्षेत्र’का रुपमा प्रचार गरिने

६ फागुन, काठमाडौं । सरकारले  भ्रमण वर्षलाई लक्षित गर्दै नेपाललाई ‘कोरोना भाइरसमुक्त क्षेत्र’का रुपमा प्रचार गर्ने भएको छ । अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा श्रब्य दृष्य सामग्री तयार पारी सम्प्रेषित गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना भाइरस र यसका कारण नेपालको पर्यटन उद्योगमा पारेको प्रभावबारे मन्त्रालयले मंगलबार आन्तरिक छलफल गरेको थियो ।

छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले तीन दिनभित्र नेपाल ‘कोरोना भाइरस फ्रि जोन’ हो भन्ने सन्देश बोकेको श्रब्यदृष्य सामग्री अन्तर्राष्ट्रिय जगतमा सम्प्रेषणको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

यस्ता सामग्रीलाई मन्त्रालय, विदेशस्थित नेपाली नियोग, नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष २०२० को सचिवालय, पर्यटनसम्बद्ध निजी क्षेत्रका वेवसाइट र सामाजिक सञ्जालमासमेत राखिने भएको छ ।

छिमेकी मित्रराष्ट्र चीनले सामना गरिरहेको वर्तमान संकटप्रति नेपालको पूर्ण साथ सहयोग तथा ऐक्यवद्धता व्यक्त गर्दै यस संकटबाट चीन शीघ्र पार हुने र त्यसपछि चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपाल तयार छ भन्ने श्रब्यदृष्य सामग्री समेत सम्प्रेषित गरिने भएको छ ।

यस्ता सामग्री  चिनियाँ भाषामै नयार पारी ७ दिनभित्र चिनियाँ सञ्चारमाध्यम तथा चीनस्थित नेपाली नियोगमार्फत सम्प्रेषणको व्यवस्था मिलाउन मन्त्री भट्टराईले निर्देशन दिएका छन् ।

वर्तमान संकटपछि नेपालको पर्यटन प्रवर्द्धनका लागि वैकल्पिक बजारको खोजी गर्नुपर्ने निश्कर्षमा समेत सरकार पुगेको छ । सोही प्रयोजनका लागि नेपालको पर्यटन स्रोत बजारलाई लक्षित गरी क्षेत्रगत रुपमा १२ वटा प्रवर्द्धनात्मक ‘डेस्क’ खडा गरिने भएको छ ।

प्रत्येक डेस्कमा बोर्ड, सचिवालय र निजी क्षेत्रबाट १/१ जनाको प्रतिनिधित्व हुने व्यवस्था मिलाइने भएको छ । यस्ता डेस्कले सम्बन्धित बजारको वर्तमान अवस्थाको विश्लेषण, नेपालमा उक्त क्षेत्रबाट पर्यटक आगमनको अवस्था र सम्भावनाको खोजी गर्ने तथा निजी क्षेत्र सहितको संलग्नताको प्याकेज र सहुलियतको तयारी गर्न समेत मन्त्री भट्टराईले निर्देशन दिए ।

नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबाट पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रम संचालन गर्दा दोहोरोपनः हुन नदिने वयवस्था मिलाउन समेत मन्त्री भट्टराईले आग्रह गरे ।

प्रमुख पर्यटन बजारबाट प्रसिद्ध सेलिब्रेटी, खेलाडी, सञ्चारकर्मीलाई नेपाल भ्रमण गराई पर्यटन प्रवर्द्धनको कामलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

नेपाल आउन चाहाने वायुसेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रोत्साहन गर्ने र नेपाल वायुसेवा निगमले नेपालका पर्यटन स्रोत बजारमा लक्षित गरी उडानको प्रक्रिया थाल्नेबारे समेत मंगलबार छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment