Comments Add Comment
पाल्पाली भोजनको उत्पत्ति–कथा :

‘हामी दालभात बेच्छौं, इमान बेच्दैनौं’

दिल्लीको अनुभवमा नेपालको मौलिक स्वाद

६ फाुगन, काठमाडौं । पाल्पालाई चिनाउने दुईवटा विशेषण छन्, चुकाउनी र ढाकाटोपी ।

उसिनेको आलुमा दही घोलेर त्यसमा नुन, खुर्सानी, बेसार, हरियो धनियाँ, तिलको छोप र मेथीले झानेको चुकाउनीले जिब्रो रसाउँछ ।

पाल्पाली ढाकाटोपी, जसको बखान गर्नैपरेन ।

पाल्पाको अर्को विशेष परिकार पनि छ–बटुक ।

भोजभत्तेर होस् वा कुनै जमघट, बटुकको स्वाद लिइन्छ । मासलगायत केही थरीका दाललाई मिश्रण गरेर पकाइने बटुक पनि पाल्पाको रैथाने परिकार हो ।

यसबाहेक शहरमा पाल्पालाई सम्झाउने एउटा नाम छ– भोजनालय अर्थात पाल्पाली भोजनालय ।

खासगरी राजधानीका हरेक चोकमा उभिएर नजर डुलाउनुहोस्, पाल्पाली भोजनालय फेला पार्नुहुनेछ ।

यी सबै ‘पाल्पाली भोजनालय’को स्वामित्व एउटा व्यक्तिको भने होइन । यस नामबाट दालभात बिक्री गर्नेहरुमा पाल्पावासी मात्र पनि छैनन् । त्यसो भए किन ‘पाल्पाली भोजनालय’को नाम नै बेचियो त ?

सम्भवतः ग्राहकका निम्ति यो विश्वसनीय नाम भइदियो ।

अब उत्सुकता जाग्छ, कहाँबाट, कसरी, कसले र कहिले पाल्पाली भोजनालय सुरु गरे त ? यही जवाफ खोज्दै हामी राजधानीका ‘पाल्पाली भोजनालय’ चाहार्न थाल्यौं ।

यस क्रममा के थाहा पाइयो भने, एक समय रोजीरोटीको खोजीमा पाल्पाली ठिटाहरु भारत, त्यसमा खासगरी दिल्ली पुगे । धेरैले होटलमा भाँडा माझे, तन्दुरी, रोटी बनाउने विधि सिके । त्यही सीप लिएर उनीहरु नेपाल फर्किए । र, तन्दुरी रोटीसँगै दालभात बेच्न थाले । यसरी लुम्बिनी तन्दुरी र पाल्पाली भोजनालय सुरु भयो ।

काठमाडौंमा जति संख्यामा लुम्बिनी तन्दुरी भेटिन्छ, उति नै पाल्पाली भोजनालय पनि ।

पोखरेल बन्धुको पहल

पाल्पाली भोजनालयको प्रसंग ठोकिन्छ, पञ्जावी ढावामा ।

माटोको भट्टीभित्र आगोको रापमा पकाइने रोटीको स्वाद काठमाडौंबासीको जिब्रोमा बसेकै थिएन । त्यही बखत हो, पाल्पाबाट रोजीरोटीको खोजीमा भारतको गुजरात पुगेर फर्किएका दुई भाइ रामप्रसाद र शेषकान्त पोखरेलले तन्दुरी रोटी बेच्न सुरु गरेको, ‘लुम्बिनी तन्दुरी भोजनालय’का नाममा ।

भकारीजस्तै माटोको भट्टीमा रोटी पोलेको देखेर रमितेहरु सुरुमा दंग परे । त्यसबारे सोधीखोजी गरे । स्वाद चाखे । सस्तो, स्वादिलो र स्वस्थ्यकर । नरम र अलि ठूलो गोलाइको रोटीमा चट्नी पनि । एक, दुईवटा रोटीले पेट भरिने । अब के चाहियो ? काठमाडौंवासी तन्दुरी रोटीमा पल्किए ।

शहरियाहरु भातको विकल्प खोज्दै थिए । मधुमेह जस्ता रोगका कारण पनि तन्दुरी, रोटी उनीहरुको रोजाइमा पर्‍यो ।

हुन त त्यसबेला पञ्जावीहरुले पनि कुपण्डोल र सोल्टीमोडमा ढावा सुरु गरिसकेका थिए । तर, लुम्बिनी तन्दुरी भोजनालयले उछिन्यो ।

अनि लुम्बिनीकै समानन्तर पाल्पाली भोजनालय पनि सुरु भयो । पाल्पाली भोजनालयको भोजनमा पनि तन्दुरी, रोटी र दालभात समावेश भए । त्यसबाहेक शहरमा चलेका अन्य परिकार पनि मिसाइए ।

पाल्पाली भोजन

बानेश्वर चोकमै छ, पाल्पाली भोजनालय । यसका सञ्चालक हुन्, खिमानन्द बस्याल । उनी लुम्बिनी तन्दुरी भोजनालय समितिका संस्थापक अध्यक्ष पनि हुन् । बस्याल सुनाउँछन्, ‘मैले २०४८ सालमा पाल्पाली भोजनालय सुरु गरें ।’

बस्यालको कथा यसरी सुरु हुन्छ ।

हातमुख जोर्ने सिलसिलामा उनी भारतको नयाँदिल्ली पुगेका थिए । त्यहाँ उनले चियापसलमा काम गरे । जबकि त्यसबेला नेपाली उपभोक्तामा चियाको स्वाद बसिसकेको थिएन ।

‘त्यहाँ त चियामात्रै पनि सयौं कप बिक्री हुने’ उनी दिल्लीको कथा सुनाउँछन्, ‘चिया बनाउन मात्र १२ जना कामदार खटिन्थे, बाँड्ने ३५ जना हुन्थे ।’

काइदाको कुरो, एक सयजना ग्राहकलाई चिया बाँड्न सकेमा त्यसपछि थपिने ग्राहकबाट प्रतिगिलासको दरले कमिसन पाउँथे वेटरले ।

यस्तै आइडिया बोकेर बस्याल नेपाल फर्किए ।

र, उनले नयाँबजारमा सुरु गरे पाल्पाली चिया पसल । चिया बिक्रीबाट पहिलो महिना पाँच हजार रुपैयाँ कमाइ भयो । यो पनि गजबकै कुरा थियो । ‘त्यसबेला मुख्य सचिवको तलब पनि योभन्दा धेरै थिएन होला’ बस्याल हौसिए, ‘अहो ! पैसा त यसरी पो कमाइ हुनेरहेछ भन्ने लाग्यो ।’

त्यसपछि उनले चिया हुँदै दालभात बेच्न थाले । नाम जुराए– पाल्पाली भोजनालय ।

दालभातको व्यापार

थापाथली प्रसुतीगृह नजिकै छ, अर्को पाल्पाली भोजनालय । यसका सञ्चालक हुन्, कृष्णप्रसाद पाण्डे । पाण्डेको दाबी छ, पाल्पाली भोजनालयका नाममा पहिलो पटक दालभात बेच्न सुरु गर्ने मै हुँ ।

उनको कथा पाल्पाको तत्कालीन ख्याहा गाविसबाट सुरु हुन्छ ।

घरको आर्थिक स्थिति गतिलो थिएन । एसएलसीसम्मको पढाइ सकेपछि उनी रोजीरोटीको खोजीमा भौंतारिन थाले । आफ्ना दौतरीझैं उनी पनि भारतको मुम्बई भासिए ।

मुम्बईमा अरु के गर्नु ? होटलमा जूठा भाँडा माझे । रहँदा बस्दा ड्युटीमा स्तरोन्नति हुँदै गयो । भाँडा माझ्ने कामबाट उनी व्यवस्थापकसम्म भए । रोटी तरकारी बेच्ने काइदा सिके । त्यही सीप लिएर घर फर्किए ।

सुरुमा उनले त्यहीँ काम गरे, जसमा उनको अनुभव थियो । अर्थात रेष्टुरेन्ट व्यवसाय । स्थानचाहिँ पोखराको जिरो किलोमिटर । नाम जुराए– पाल्पाली फास्टफुड तथा रेष्टुरेन्ट ।

पाँच बर्ष पोखरामा पाल्पाली फास्ट फुड चलाएपछि उनी काठमाडौं भित्रिए ।

काठमाडौंंको थापाथली नजिक एउटा सटर थियो, उनको आँखा त्यसमै पर्यो । त्यसबेला सटर भाडा मासिक ७ हजार रुपैयाँ । चिया, नास्ता बेचिरहेको पसल । उनले तीन लाखमा किने । र, सोही सटरमुनि उभिएर चिया, नास्तासँगै थप परिकार बेच्न थाले । उनलाई साथ दिइन्, श्रीमतीले । बुढाबुढी दिनभर खटिएर खाजानास्ता बेच्न थाले ।

अस्पताल नजिकै भएकाले सादा र सस्तो खाना तयार गरे । ‘सस्तोमा पेटभर खान पाइने, त्यो पनि स्वादिलो र स्वस्थ्यकर’ पाण्डे सुनाउँछन्, ‘त्यही कारण हाम्रो व्यवसाय दिगो भइदियो ।’

भात खानकै लागि ग्राहकहरु थपिएपछि उनको होटल सानो सटरबाट फैलँदै गयो । सिंगो घर भाडामा लिए । साढे तीन लाखबाट सुरु गरेको भात बेच्ने व्यवसायमा अहिले मासिक खर्च नै पाँच लाख रुपैयाँ बढी छ ।

दिनमा सय थाल बढी खाना बेचिन्छ । त्यसबाहेक रोटी, मम, चाउमिन, समोसा, तरकारी पनि उत्ति नै बिक्री हुन्छ ।

आफ्नै गाउँका १० जना युवालाई रोजगारी दिलाएका छन् । पाण्डे भन्छन्, ‘ताजा र शुद्ध खानेकुरा भएकाले हामीलाई ग्राहकले पत्याए ।’

ग्राहकले उनलाई मात्र पत्याएनन्, पाल्पाली भोजनालयलाई पत्याइदिए । त्यसैले त अहिले शहरभरि ‘पाल्पाली भोजनालय’ चलायमान छन् ।

‘हामी दालभात बेच्छौं तर इमान बेच्दैनौं’ पाण्डे ठट्यौली शैलीमा सुनाउँछन्, ‘त्यसैले त यत्तिका बर्षसम्म व्यवसाय गरेर पनि काठमाडौंमा एउटा घडेरी जोड्न सकिएको छैन ।’

यसरी फैलिँदैछ

लुम्बिनी तन्दुरी, पाल्पाली र कान्तिपुर भोजनालय तीनवटा एकै ठाउँका मानिसहरुले सुरु गरेको ब्राण्ड हो भन्छन्, लुम्बिनी तन्दूरी भोजनालय समितिका संस्थापक अध्यक्ष खिमानन्द बस्याल ।

उनका अनुसार काठमाडौं उपत्यका होस् या त त्योभन्दा बाहिरसमेत खुलेका ८० प्रतिशतभन्दा धेरै लुम्बिनी, पाल्पाली र कान्तिपुर भोजनालयका सञ्चालकहरु र कर्मचारीहरु अर्घाखाँचीको पाणिनी गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका स्थानीय छन् ।

विभिन्न ठाउँहरुबाट विकास भएको भोजनको ब्राण्डको बिकाससँगै यतिबेला काठमाडौंको विभिन्न ठाउँ र उपत्यका बाहिर दर्जनौं पाल्पाली भोजनालय चलेको छ ।

खै चुकाउनी, खै बटुक ?

पाल्पाली भोजनालय भन्नासाथ हाम्रो जिब्रोले खोज्ने परिकार के हो ? चुकाउनी र बटुक । तर, दुबै परिकार अधिकांश पाल्पाली भोजनालयको मेनुमा छैन ।

पञ्जावी ढावाबाट प्रभावित भएको तन्दुरीदेखि मम चाउमिन जस्ता खानाका परिकारहरुका कारण चर्चित भएको पाल्पाली भोजनालयको ब्राण्डले आफ्नै स्थान विशेषको महत्व बोकेको चुकाउनीलाई भने समेट्न सकेको छैन ।

तर पनि एउटा पुरानो र स्थान विशेषको नामबाट चर्चित छ पाल्पाली भोजनालय । त्यसैले आजभोलि अरुले पनि यही ब्राण्डबाट भोजनालय सञ्चालन गर्ने गरेका छन् ।

तस्वीर : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment