१७ कात्तिक, बुटवल । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्डको दाउन्नेमा गाडी नचलाउन प्रहरीले अनुरोध गरेको छ ।
पानी पर्न छाडे पनि सडक हिलो र चिप्लो रहेको, दाउन्नेको पूर्वी र पश्चिम खण्डमा सवारी साधनको लामो लाइन लागेकाले गाडी नचलाउन अनुरोध गरिएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाने अर्थात बर्दघाटबाट दुम्किबास जाने सवारीसाधन पास भए पनि पूर्वबाट पश्चिम जाने सवारीसाधन पास हुन सकेका छैनन् ।
सडक हिलो र चिप्लो हुँदा उकालोमा सवारीसाधन चढ्न नसक्दा ठाउँठाउँमा बिग्रिएकोले लामो लाइन लागेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार ठाउँठाउँमा सवारी साधन बिग्रिएका कारण सडक एकतर्फी भएको छ । जसले गर्दा सवारी साधनको लामो लाइन लागेकोछ । सवारीसाधनको लाम १० किलोमिटरभन्दा लामो छ ।
पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डमा विगत ५ दिनदेखि यातायात सञ्चालनमा समस्या भएको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय नवलपुरले सोमबार एक सूचना जारी गरी दाउन्ने सडकको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको हो ।
दाउन्ने सडकमा लगातारको पानीले बाटो हिलो र चिप्लो भएपछि सवारी साधन सञ्चालनमा समस्या भएको हो । दुम्किबासका स्थानीय बासिन्दाका अनुसार अहिले दाउन्नेदेखि होङसी सिमेन्ट गेटसम्म सवारी साधनको लामो लाइन लागेको छ ।
करिब १० किलोमिटर खडक खण्डमा सवारी साधनको लामो लाइन लागेको स्थानीयले बताएका छन् । दाउन्नेमा सवारी साधनको अत्यधिक चाप बढेपछि प्रहरीले कावासोती, डण्डा, चोरमारा, अरुणखोला लगायतका क्षेत्रमै सवारी साधनलाई होल्ड गराएर राख्न सुरु गरेको छ ।
दाउन्नेको उकालोमा आधादर्जन बढी सवारी साधनहरु विग्रिएर बसेका छन जसलाई तत्काल हटाउन सक्ने सम्भावना छैन ।
सडकमा सयौको संख्यामा सवारी साधनहरु लाइन लागेको छ । यहाँ दैनिक जसो हिलो र चिप्लोले सवारी साधन विग्रने तथा फस्ने गरेको छ । जसले गर्दा यात्रुहरु घण्टौं जाममा पर्ने गरेका छन् ।
सडक विभागले सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीलाई दशैं अगाडि नै यात्रा सहज गराउन निर्देशन दिएको भए पनि दाउन्नेमा १४ किलोमिटर सडकखण्डमध्ये पश्चिम खण्डको ३ किलोमिटर मात्र पूर्ण रुपमा कालो पत्रे भएको छ भने केही ठाउँमा ठलानको काम सकिएको छ । बाँकी अधिकांश क्षेत्र कच्ची छ र खाल्डा परेका छन् ।
दाउन्नेको ४ ठाउँमा कल्भर्ट निर्माणको काम नसकिएकोले सडक एकतर्फी रहेको छ भने ढलानको काम भईरहेका ठाउँहरुमा पनि सडक एकतर्फी रहेका छन् । जसले गर्दा दाउन्नेमा सामान्य पानी पर्ना साथ यातायात सञ्चालनमा कठिनाइ हुने गरेको छ ।

प्रतिक्रिया 4