Comments Add Comment

यती प्रकरण र उच्चमध्यम वर्ग

नेपाली समाजको अध्ययन गर्दा यसको चरित्र वर्गीय देखिन्छ । नेपाली समाजमा मध्यम वर्गको बाक्लो उपस्थिति छ । मध्यम वर्गले प्रायः अवसरका लागि जुनसुकै तिक्डम पनि अपनाउने खास विषेशता हुन्छ ।

त्यस्तो प्रकारको मध्यमवर्गीय चरित्र धारण गरेको तप्का अहिले नेपाली समाजको आर्थिक, राजनैतिक र सामाजिक क्षेत्रमा ब्यापक बोलवाला गरिरहेको छ । यस वर्गले सामाजिक क्षेत्रको रूपान्तरण भन्दा सुधारमा नै आफ्नो भविश्य अनुकुल देख्ने गरेको छ ।

विभिन्न खास चरणमा वर्गीयता सडकदेखि सदनसम्म देख्न सकिन्छ । कतिपय अवस्थामा नेताहरूले आफ्नो वर्गीय धरातल बिर्सिंदै, एलिट वर्गको सेवामा तत्पर भएको देख्न सकिन्छ । वर्गीय पक्षधरताविनाको वैचारिकता धार नभएको भुत्ते खुकुरीजस्तो बेकामे हो ।

वर्गीय पक्षधरताको अभावले श्रमजीवी वर्गको आवाज राज्यको कानमा मधुरो गरी पुग्ने गर्छ । यो वैचारिकतामा आएको ह्रासको परिणाम हो ।

ओली सरकार केही उच्च वर्गका व्यक्तिहरूको व्यक्तिगत व्यवसायमा अल्झिरहेको छ । यसको पछिल्लो कडी हो, ‘यती’

किसानहरूलाई शोषण गर्ने सदनका बरिष्ठ नेता छन् । तराई मधेसका उखु किसान काठमाण्डौमा धाएर आन्दोलन गर्नुपर्ने सिर्जना हुनु श्रमजीवी वर्गका जनताको अवस्थामा आधारभूत रूपमा फेरबदल नहुनु हो । उखु किसानको आन्दोलनबाट प्रष्ट हुन्छ, राज्यको ब्यवस्था बदलिए पनि यी सम्भ्रान्त वर्गका सामन्तहरू अझै जीवित छन् । सम्भ्रान्त वर्गले गरिव निमुखा वर्गका जनतालाई शोषण गरिरहेका छन् । परिणामतः अहिले पनि ठग, फटाहा र शोषकको शोषण विरूद्ध आन्दोलन आवश्यक देखिन्छ ।

सरकार सधैं आम जनताहरूको भविश्यसँग जोडिएको हुन्छ । सरकारले प्रष्ट बुझ्नुपर्छ, आम जनताका आधारभूत आवश्यकताहरू अधुरा नै छन् । अहिले पनि उत्पीडित समुदायका जनता शोषण भोगिरहेका छन् । निम्न वर्गका जनतालाई बिहान बेलुकाको छाक टार्न मुस्किल छ । निम्न वर्ग अर्थात गरिव श्रमजीवी जनताको मतको साथले वर्तमान संघीय सरकारको जग बनेको हो । यसर्थ, सरकारको पहिलो प्रथामिकता श्रमजीवी जनताको जीविकोपार्जन हुनुपर्छ ।

ओली सरकार केही उच्च वर्गका व्यक्तिहरूको व्यक्तिगत व्यवसायमा अल्झिरहेको छ । यसको पछिल्लो कडी हो, ‘यती’ । अहिले ‘यती’ प्रकणमा उच्चमध्यम वर्ग छर्लङ्ग आइपुगेको छ । सरकारका यस्ता किसिमका गतिविधिले निम्न वर्गका जनताले सरकारको अपनत्व ग्रहण गर्न सहज वातावरण बनेको छैन । सरकारले बुझ्नुपर्छ, निधारमा रातो कफन बाँध्ने जनताले आँखामा कालोपट्टी लगाएर बसेका छैनन् ।

अहिले वर्गीय पक्षधरता भएको सिद्धान्तनिष्ठ नेतृत्व कमै मात्रामा भेटिने गरेको छ । जनताको भविश्य निर्माण गर्ने नेतृत्वले आफ्नो भविश्यको चिन्ता लिँदै अकूत सम्पत्तिको मालिक बन्नु कति जायज हो । नेताहरूको सम्पत्तिप्रतिको मोह बिछट्टको छ । निजी पुँजीको विपक्षमा हुने सर्वहारा वर्गीय विचारलाई आत्मसाथ गरेका कम्युनिष्ट पार्टीका नेताहरू सम्पत्ति छानविनको विषयदेखि डराउनुका पछाडि त्यस्तो के रहस्य छ ।

आत्मनिर्भर अर्थतन्त्र नहुनुको असर वैदेशिक अनुदान सहयोग प्राप्तिका लागि सरकारले गर्ने अनावश्यक लचकताबाट पनि प्रष्ट हुन्छ । नेकपाबाट नेतृत्व गरिरहेको सरकारले सर्वहारा वर्गीय चिन्तन, सीमान्तकृत आधारभुत वर्गका जनताको पक्षमा पैरवी गर्दै अगुवाई गर्नु नै आफ्नो धरातलमा उभिनु हो । चुनाव जित्नु, संसदमा पुग्नु, संसदीय पद्दतिमा धरातल मापन एकहद सम्म सही होला, तर आधारभूत वर्गका जनताले चाहेको जस्तो समृद्धि हुँदैन भने त्यस्तो धरातलको के अर्थ होला र !

प्रधानमन्त्री ओली नेतृत्वको सरकार, सामान्य सुधारका काममा नअल्मलियोस् र मध्यम वर्गको चंगुलबाट बाहिर आओस् । समाज रूपान्तरणमा वर्तमान सरकारले गरेका योगदान कालान्तरसम्म सम्झिन सकियोस् ।

मार्क्सले अर्थाएका पुँजीवादका मतियारहरू उच्च मध्यम वर्गीय रूपधारण गरेर कम्युनिष्ट पार्टी बनाउन सहयोग गरेका छन् वा भत्काइरहेका छन, यसबारे नेकपाको मुख्य नेतृत्वले बुझ्न ढिला नहोस् ।

मानव इतिहासको गहन अध्ययन पश्चात मार्क्सले भनेका थिए, आदिम साम्यवादलाई छोडेर आजसम्मको मानव समाजको इतिहास वर्गसंघर्षको इतिहास हो ।’

समाज विकास क्रमको वर्गीकरणलाई सुक्ष्म अध्ययन गर्दा आदिम साम्यवादी युग, दास युग, पुँजीवादी युग र वैज्ञानिक समाजवादी युग गरी पाँच भागमा विभक्त छन् । यी पाँच युगमध्ये आदिम साम्यवादी युगबाहेक अन्य सबै युगहरु वर्गीय समाजका रूपमा सञ्चालन भएका छन् ।

समाजहरूको समुच्च रूप राष्ट्र हो । राष्ट्र शासन पद्दति पनि वर्गका प्रतिनिधि पात्रहरू आफ्नो वर्ग हित हुने तवरले गरिरहेका छन् । उदाहरणका लागि अमेरिकामा पुँजीवादी ब्यवस्था छ भने चीनमा समाजवादी ब्यवस्था छ । पुँजीवाद ब्यक्तिकेन्द्रित व्यवस्था हो । पुँजीवादमा व्यक्तिलाई प्रधान मान्दै सबै कुरालाई अवसर केन्द्रित गरिएको हुन्छ । समाजवाद सामुहिकतामा केन्द्रित व्यवस्था हो । समाजवादमा सामुहिक हितलाई केन्द्रित गरिन्छ ।

कम्युनिष्ट पार्टीका नेताहरूमा पनि पुँजीवादी चिन्तन कार्यशैली देखिनु भनेको कम्युनिष्ट आन्दोलनमा समस्या निम्त्याउनु हो । वर्तमान सरकारका नेतृत्व एवं नेपाल कम्युनिष्ट पार्टीका नेताहरूले आत्मसमीक्षा गर्दै माओको भनाइलाई ख्याल गरौं, ‘इतिहासका निर्माता जनता हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment