Comments Add Comment

राममणि क्याम्पस सञ्चालक समितिका ४ जना सदस्यद्वारा राजीनामा

अध्यक्षले एकलौटी गर्न खोजेको आरोप

८ फागुन, बुटवल । क्याम्पस सञ्चालनमा एकलौटी ढंगले अघि बढ्न खोजेको भन्दै राममणि बहुमुखी क्याम्पस सञ्चालक समितिका चार जना सदस्यले बिहीबार सामूहिक राजीनामा दिएका छन् ।

योग्यता, क्षमता र सामाजिक व्यक्तिको सट्टा क्याम्पस सञ्चालक समिति बनाउँदा राजनीतिकरण गर्न खोजेको, सहमति विपरित वरिष्ठ प्राध्यापकलाई उपेक्षा गरी जुनियरलाई क्याम्पस प्रमुख बनाइएको र अन्य प्रशासनिक काम कारबाही पनि एकलौटी ढंगले चलाउन खोजेको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

यसरी सामूहिक राजीनामा दिने सञ्चालकहरुमा गोपाल भट्टराई, यज्ञ गैरे, नारायण रेग्मी र मिनाक्षी न्यौपाने छन् । उनीहरुले क्याम्पस परिसरमै बिहीबार पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गरेका हुन् । राजीनामा दिनेहरु सत्तारुढ दल नेकपा निकट हुन् ।

मंसिर ७ गतेको क्याम्पस सभाले रोमणिप्रसाद पाठकलाई सञ्चालक समितिको अध्यक्ष चुनेको थियो । पूर्व सहमति अनुसार पाठकलाई सञ्चालक समिति अध्यक्ष बनाइएको तर अध्यक्ष बनिसकेपछि सहमति विपरीत अघि बढेकाले राजीनामा दिएको गोपाल भट्टराईले बताए ।

अध्यक्ष पाठकले नेपाली कांग्रेस र नेकपाको कोटाबाट चार–चार जना सदस्य मनोनीत गरेका थिए । राजीनामा दिएका सञ्चालक समिति सदस्य भट्टराईले क्याम्पस प्रमुख मोहन शर्माले राजीनामा दिएपछि वरिष्ठताका आधारमा डा. खगराज शर्मालाई क्याम्पस प्रमुख बनाउनुपर्नेमा ताराप्रसाद पराजुलीलाई बनाएर राजनीतिक रंग दिन खोजेको बताए । ‘हामी पार्टीगत भन्दा पनि सामाजिक रुपमा क्याम्पसलाई अघि बढाउनुपर्छ भन्यौं, तर अध्यक्ष राजनीतिक ढंगले अघि बढ्न खोज्दा राजीनामा दिन बाध्य भयौं,’ उनले भने ।

क्याम्पसका हरेक निर्णय विधि र प्रक्रिया अनुसार गर्नुपर्नेमा अध्यक्ष एकलौटी ढंगले अघि बढ्न खोज्दा समस्या आएको राजीनामा दिएका अर्का सञ्चालक सदस्य यज्ञ गैरेले बताए । सञ्चालक समिति गठनमा एक पक्षलाई बेबास्ता गर्दै अघि बढ्न खोजिएको भन्दै उनले क्याम्पसलाई राजनीतिबाट मुक्त गर्नुपर्ने बताए ।

पत्रकार सम्मेलनमा अर्का सञ्चालक नारायण रेग्मीले क्याम्पसलाई अहिलेको अवस्थासम्म ल्याइ पुर्‍याउन आफूहरुले पनि ठूलो योगदान पुर्‍याएको भन्दै शैक्षिक केन्द्रमा राजनीतिक रंग दिन नहुने बताए ।

तर क्याम्पस सञ्चालक समितिका अध्यक्ष पाठकले भने सहमतिका लागि पटकपटक छलफलमा बोलाउँदा नआएकाले सञ्चालक समिति गठन गरिएको र क्याम्पस प्रमुख नियुक्तिमा सिनियर र जुनियर भन्ने नहुने बताए । ‘पटक पटक छलफलमा बोलाउँदा उहाँहरु आउनुभएन, लामो समय सञ्चालक समिति सदस्य मनोनयन नगरी बस्ने कुरा भएन,” उनले भने, ‘क्याम्पस प्रमुख नियुक्तिमा सिनियर र जुनियर भन्ने कुनै नियम छैन, आवश्यकता अनुसार जसलाई पनि बनाउन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment