Comments Add Comment

निमित्तका भरमा प्रहरीका महत्वपूर्ण विभाग, बढुवाका लागि दौडधुप

भावी आईजीपीको स्थान सुरक्षित गर्न लडाइँ

७ फागुन, काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पदभार ग्रहण गरेसँगै प्रहरीमा रिक्त रहेका विभिन्न पदका लागि आकांक्षीको दौडधुप तीब्र बनेको छ । रिक्त रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) देखि प्रहरी नायब उपरीक्षक (डीएसपी) सम्मका पदमा आकांक्षीले बढुवाका लागि लबिङ थालेका छन् ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित तीन एआईजी र १९ डीआईजीले २८ माघमा अनिवार्य अवकाश पाएका छन् । त्यसअघि ९ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), ६ प्रहरी उपरीक्षक (एसपी) र ४५ प्रहरी नायब उपरीक्षकका पदहरु रिक्त भइसकेका थिए । अब एआईजीबाट बढुवा प्रक्रिया सुरु भएसँगै रिक्त पद अरु बढ्नेछन् ।

बढुवा प्रक्रिया सुरु भइनसकेकाले अहिले प्रहरी प्रधान कार्यालयका सबै विभाग र प्रदेश प्रहरी कार्यालय निमित्त प्रमुखका भरमा चलिरहेको छ । हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीका समकक्षी तारिणीप्रसाद लम्साल आईजीपी नियुक्ति अगावै सुदुरपश्चिम प्रदेश छाडेर काठमाडौं आइसकेका थिए । प्रदेश नं. २ का प्रमुख प्रद्युम्न कार्की पनि अहिले काठमाडौंमै छन् ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागमा अहिले एसएसपी धिरजप्रताप सिंहले नेतृत्व गरिरहेका छन् । निवर्तमान डीआईजीपी नारायणसिंह खड्काले अवकाश पाउनुपूर्व उनलाई चार्ज बुझाएर विदा भएका थिए ।

एआईजीको दरबन्दी रहने महत्वपूर्ण विभाग कार्य एवं अपराध अनुसन्धान विभाग पुष्कर कार्कीले एसएसपी घनश्याम अर्याललाई जिम्मा लगाएका थिए । अन्वेषण निर्देशनालय पूर्वप्रमुख डीआईजी केदार रिजालले एसएसपी प्रकाशजंग कार्कीलाई जिम्मा लगाएका छन् ।

नेपाल प्रहरी एकडेमीका एआईजी ठूले राई र डीआईजी रामप्रसाद श्रेष्ठ दुवैले अनिवार्य अवकाश पाएपछि एसएसपी मुकुन्द आचार्यले निमित्त प्रमुखको जिम्मेवारी चलाइरहेका छन् । लागूऔषध नियन्त्रण ब्युरोका निवर्तमान डीआईजी दिनेश अमात्यले एसएसपी वसन्त लामालाई नेतृत्व सुम्पिएका थिए । तर, उनी अहिले भारततिर गएकाले एसपी वीरेन्द्र बस्यालको नेतृत्वमा ब्युरोले काम गरिरहेको छ ।

गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा भने प्रहरीमा रिक्त रहेको विभिन्न पदमा यथाशिघ्र बढुवा सुरु हुने बताउँछन् ।

सर्वोच्च अदालतले तत्कालीन एसएसपी यादवराज खनालले दायर गरेको रिटमा दरबन्दी खाली भएको तीन महिनाभित्र बढुवा गरिसक्न सरकारलाई निर्देशन दिएको थियो । तर, एसएसपी पद रिक्त भएको १० महिना वितिसकेको छ ।

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री भन्छन्, ‘आईजी सा’ब भर्खरै नियुक्त हुनुभएको छ । सबै कुरा व्यवस्थित भएपछि बढुवाका लागि प्रशासनिक प्रक्रिया आरम्भ हुन्छ ।’

भावी आईजीपीका लागि लडाइँ

अहिले हुने एआईजी बढुवामा अटाउने मध्येबाटै ५ महिनापछि नयाँ प्रहरी महानिरीक्षक नियुक्ति हुने भएकाले विशेष चासोका साथ हेरिएको छ ।

एआईजीको दौडमा हालका प्रहरी महानिरीक्षककै समकक्षी तारिणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्याय पनि छन् । उनीहरु ९० औं टोलीबाट वैकल्पिकमा परेका अधिकृत हुन् ।

यद्यपि, उपाध्याय २० असोज २०७५ मा भएको डीआईजी बढुवामा ९१ औं समूहका शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्कीभन्दा पछाडि परिसकेका छन् । गृहमन्त्रालयका एक अधिकारी एआईजी बढुवामा लम्सालको सम्भावना प्रबल देखिए पनि उपाध्यायबारे संशय व्यक्त गर्छन् ।

ती अधिकृतका अनुसार एआईजी बढुवाका लागि क्षेत्री, पाल, शाही र कार्की प्रबल दाबेदार हुन् । भर्ना हुँदा सँगै प्रतिस्पर्धा गरे पनि एक वर्षपछि नियुक्ति पाएका डीआईजी विश्वराज पोखरेल पनि अहिल्यै एआईजीमा छिरेर महानिरीक्षकको पद सुरक्षित गर्ने दाउमा छन् ।

काभ्रेमा भएको सवारी दुर्घटनामा परेर डीआईजी सुशील भण्डारीको निधन भएपछि रिक्त रहेको एउटा पदमा पोखरेल १९ वैशाखमा बढुवा भएका थिए ।

एआईजी बढुवाको प्रतिस्पर्धामा रहेकामध्ये क्षेत्री प्रहरी प्रधान कार्यालयको प्रवक्ताका रुपमा कार्यरत छन् भने पाल आतंकवाद र विशेष प्रकृतिको अपराध अनुसन्धानमा खटिने विशेष व्युरोको नेतृत्व गरिरहेका छन् । शाही केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) खटिएका छन् भने कार्की प्रदेश नं. २ प्रहरी कार्यालयमा खटिएका थिए ।

पोखरेल उपत्यकाको तीन जिल्ला हेर्ने महानगरीय आयुक्तको कार्यालय, रानीपोखरीको नेतृत्व गरिरहेका छन् ।

प्रहरी नियमावलीमा एआईजी बढुवा गर्दा कार्यसम्पादन गर्न सक्ने क्षमता र उत्तरदायित्व बहन गर्न सक्ने खुबीका आधारमा सरकारले उपयुक्त उम्मेद्वार छान्न सक्ने व्यवस्था छ ।

डीआईजी बढुवाको दौडमा को–को ?

एआईजी बढुवापछि हुने डीआईजी बढुवाका लागि शैलेशहरुकै ब्याचका एसएसपी घनश्याम अर्याल, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, देवबहादुर बोहोरालगायत छन् ।

पोखरेलको टोलीका धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा, दिवेश लोहनी, रविन्द्रबहादुर धानुकहरु पनि बढुवाका लागि प्रतिस्पर्धी हुन् ।

डीआईजी बढुवाका लागि गृह सचिवको नेतृत्वमा प्रहरी महानिरीक्षक सदस्य र प्रहरी अतिरिक्त महानिरीक्षक वा प्रहरी नायब महानिरीक्षक सदस्य सचिव हुने गरी बढुवा समिति रहने व्यवस्था नियमावलीमा छ ।

यो पनि पढ्नुहोस एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै उप्रेतीले दिए राजीनामा

एसएसपी बढुवाको लाइनमा एसपी केदार ढकाल, कुवेर कडायत, सुदीप गिरी, विष्णु केसी, भरत बोहरा, दुर्गा सिंह, लालमणि आचार्य, किरण राना, रविन्द्र केसी, जनक भट्टराई, अर्जुनसजंग ठकुरी लगायत छन् । त्यस्तै, अशोक सिंह, हृदय थापा, विकासराज खनाल लगायत पनि एसएसपी बढुवाका प्रतिस्पर्धी हुन् ।

यसअघि सर्वेन्द्र खनालका पालामा भएको एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिएका थिए । राजनीतिक हस्तक्षेपका कारण सरुवा–बढुवाको समयमा सँधै प्रहरीमा विवाद हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment