+
+

कांग्रेसको छाया सरकार आफैं छायामा

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७६ फागुन ७ गते २०:०५

७ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसलाई अहिले केपी शर्मा ओली नेतृत्वको सरकारको समीक्षा गर्न भ्याई नभ्याई छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले ‘के गर्छु भनेको थियो, के गर्यो’ भन्ने फेहरिस्त सार्वजनिक गरिसके । अन्य नेताहरुले पनि सरकारले काम गर्न नसकेको भन्न छुटाएका छैनन् ।

तर, सरकारका कामकारवाहीको निगरानी र खबरदारी गर्न बनेको छायाँ सरकार भने कतै देखिँदैन । यतिसम्म कि कतिपय कांग्रेस नेताहरु र छायाँ मन्त्रीहरु नै छायाँ सरकारको काम कारवाहीका सम्बन्धमा बोल्न तयार छैनन् ।

‘छायाँ सरकारले काम गरेको भए पो बोल्नु ? केही गरेकै छैन, त्यसकारण कांग्रेसको छायाँ सरकारबारे मेरो कुनै प्रतिक्रिया छैन’ सांसद मानबहादुर विश्वकर्माले भने ।

गुटका आधारमा छायाँ सरकार गठन भएको भन्दै छायाँ परराष्ट्रमन्त्री बन्न अस्वीकार गरेका सांसद अमरेशकुमार सिंह भन्छन्, छायाँ सरकारले के काम गर्यो भन्ने संसदीय दलका नेता (शेरबहादुर देउवा)लाई मात्रै थाहा होला ।’

नाम मात्रको छायाँ सरकार

बेलायतको संसदीय परम्परा हो, छायाँ सरकार । सन् १९९० कै दशकमा नै लेबर पार्टीले प्रभावशाली छायाँ सरकारको अभ्यास गरेको थियो । टोरी दल सत्तामा थियो भने टोनी ब्लेयर र गोर्डन ब्राउन छायाँ सरकारका गृह र अर्थमन्त्री थिए । जब १९९७ मा लेबर पार्टीमा सत्तामा फर्कियो, टोनी ब्लेयरले सत्ता सम्हालेको चौथो दिन नै ‘बैंक अफ इंग्ल्याण्ड’लाई स्वायत्त बनाउने निर्णय गरे । यसको गृहकार्य उनले छायाँ सरकार चलाएकै बेलामा गरेका थिए ।

जेठमा बनेको कांग्रेसको छायाँ सरकारका छायाँ प्रधानमन्त्री विपक्षी दलका नेता शेरबहादुर देउवा नै हुन् । तर उनले अहिलेसम्म न छायाँ मन्त्रीलाई बोलाएर यो विषय के हो भनेर सोधेका छन्, न संयुक्तरुपमा बैठक नै राखेका छन्

तर, गठन प्रक्रियामा नै त्रुटी भयो भन्छन् सांसद गगन थापा । पार्टी सभापतिले भागवण्डाका आधारमा कसलाई नजिक र कसलाई टाढा भनेर हेर्नुभयो र तीन–तीन जनाको टिम बन्यो’ थापाले भने, ‘साँचो अर्थमा यो छायाँ सरकार नै भएन ।’ नेपाली कांग्रेसले पनि बेलायती शैलीलाई पछ्याउँदै छायाँ सरकार गठन गरेको थियो गत जेठमा ।

नेताहरुका अनुसार तीन/तीनजना राखेर मन्त्रालयको कामको निगरानी गर्ने प्रयास २०६४ मै भएको थियो । त्यसबेला प्रभावकारी नभएकै कारण योपटक बेलायती संसदको अभ्यासलाई पछ्याएर छायाँ सरकार बनाउनुपर्ने माग भएको थियो ।

‘बरु एक/एक वर्षमा पुनगर्ठन गरौं, राम्रो गर्नेलाई निरन्तरता दिउँ भन्ने थियो’ कांग्रेसका एक सांसद भन्छन्, ‘तर भागवण्डाका आधारमा तीन–तीन जना राखेर समिति जस्तो बनाइयो । झन् गृह, अर्थ जस्ता छायाँ मन्त्रीमा ५/६ सांसदको दाबी भन्ने खबरहरु आए, जसले छायाँ सरकार ठट्टाको विषय बन्यो ।’

कतिसम्म भने छायाँ मन्त्री भएका कतिपयलाई आफ्नो जिम्मेवारीबारे समेत अन्योल रहेको पाइएको छ । उनीहरु मध्ये एक छायाँ स्वास्थ्य तथा जनसंख्यामन्त्री पार्वता डीसीी चौधरी भन्छिन्, छायाँ मन्त्री भएर गर्ने के भन्ने नै प्रष्ट भएन ।’

छायाँ मन्त्रिपरिषदको बैठक बस्नुपर्दैन ?

जेठमा बनेको कांग्रेसको छायाँ सरकारका छायाँ प्रधानमन्त्री विपक्षी दलका नेता शेरबहादुर देउवा नै हुन् । तर, उनले अहिलेसम्म न छायाँ मन्त्रीलाई बोलाएर यो विषय के हो भनेर सोधेका छन्, न संयुक्तरुपमा बैठक नै राखेका छन् ।

एक छायाँ मन्त्री भन्छन्, ‘छायाँ सरकार सक्रिय हुन छायाँ प्रधानमन्त्री सक्रिय हुनुपर्ने हो । तर, आजसम्म न व्यक्तिगत र संयुक्तरुपमा बोलाएर के–के भइरहेको छ भनेर सोध्नुभएको छैन ।’

उनका अनुसार सुरु–सुरुमा संसदीय दलले के–के भएको छ भनेर पत्राचार गरेको थियो । आजभोलि त त्यो पनि हुन छाडेको छ । संसद सचिवालयमा विधेयकहरु दर्ता भएपछि संसदीय दलको कार्यालयले सम्वन्धित छायाँ मन्त्रीलाई फोन गरेर त्यसको जानकारी दिने गरेको छ ।

कांग्रेसले बनाएको छायाँ सरकारको बैठक बस्नु नपर्ने हो कि बस्न आवश्यक नठानिएको हो भन्ने प्रश्नमा छायाँ परराष्ट्रमन्त्री नारायण खड्का भन्छन, ‘बैठक बस्नुपर्ने हो, नियमित बसेर समीक्षा गर्नुपर्ने हो । तर, बस्न सकिरहेको छैन ।’

कांग्रेस संसद एवं छायाँ श्रम मन्त्रालयका सदस्य प्रकाश पन्थ पनि भन्छन्, ‘छायाँ प्रधानमन्त्री (संसदीय दलको नेता) ले छायाँ मन्त्रीहरुको छुट्टै बैठक बोलाएको भए कतिपय विषयमा प्रष्ट हुन सकिन्थ्यो, बहस हुन्थ्यो, त्यो वातावरण बनेको छैन ।’

पार्टीभित्र छायाँ मन्त्रीलाई किन सोध्ने, किन टेर्ने, भनेजस्तो ब्यबहार देखिएको धेरैको अनुभव छ । तथापि आफूहरुले केही न केही गरिरहेको कांग्रेस नेताहरु बताउँछन् ।

छायाँ परराष्ट्रमन्त्री नारायण खड्काले मन्त्रालयको कामकारबाहीलाई आफूले नजिकबाट नियालिरहेको बताए । सरकारले प्रतिपक्षको समेत साथ लिएर दरिलो र स्पष्ट परराष्ट्र नीति बनाउन नसकेको उनको टिप्पणी छ ।

‘नेपालको परराष्ट्रनीति असन्तुलित भयो । उत्तरतिर झुकाव भयो भन्ने सन्देश गएको छ’ खड्का भन्छन, ‘सरकारले दुई बर्षमा यो क्षेत्रमा नराम्रो नै गर्यो त भन्दिनँ । तर, स्थायी सरकारले गर्नुपर्ने जति गर्न सकेन ।’

छायाँ मन्त्रीमध्ये सबभन्दा सक्रिय श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिला संग्रौला देखिएकी छन् । उनले आफूले जिम्मेवारी पाएको मन्त्रालयको विषयहरुलाई निरन्तर उठाइरहेकी छन् । टिमको बैठक पनि राख्ने गरेकी छन् ।

‘छायाँ मन्त्रीको जिम्मेवारी लिँदा त्यसको बोझ र जिम्मेवारीबोध हुनेरहेछ’ उनले भनिन् ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्युरोमा आबद्ध बजगाईं मुलतः संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?