Comments Add Comment
टिप्पणी :

योगेश भट्टराई : ‘कोरोनामुक्त देश’का पर्यटनमन्त्री !

एकपछि अर्को विवादमा फस्दैछन् ‘आश गरेका नेता’

७ फागुन, काठमाडौं । डेढ महिनाअघि पर्यटन मन्त्री योगेश भट्टराई नेपाल भ्रमण वर्षको उद्घाटन र प्रचार गर्न अष्ट्रेलिया पुग्दा त्यहाँ आगलागीको कोलाहल थियो । भीषण आगलागीका दर्दनाक समाचार र तस्वीर मिडियामा आइरहेका थिए । मन्त्री भट्टराई भुतले खाजा खाने समयमा अष्ट्रेलिया पुगेजस्तो भयो ।

त्रासदीकै माहोलमा मन्त्री भट्टराई सिड्नीको सडकमा नेपाल भ्रमण वर्षको प्रचार र्‍यालीमा सहभागी भए । पीडामा छटपटाइरहेको देशमा भ्रमण वर्षको प्रचार गर्न गएर असभ्यता एवं संवेदनहीनता देखाएको भनेर पर्यटनमन्त्री भट्टराई आलोचनाको घेरामा परे ।

नेपाललाई बुद्धको देश वा सगरमाथाको देश भनिरहनुभन्दा ‘कोरोनामुक्त देश’ भनेर प्रचार गर्दा बढी पर्यटक आउने सोचेका हुन् कि ?

कार्यक्रम पूर्वनिर्धारित थियो, ठीक छ । तर, परिस्थिति हेरेर त्यसलाई रद्द गर्दा देशलाई केही आर्थिक नोक्सानी हुन्थ्यो होला, रद्द नगर्दा देशको छविमा नोक्सानी भयो । नेपालीको मानवीय भावनामा प्रश्न उठ्यो ।

मन्त्री भट्टराईले सो घटनाबाट अझै पाठ सिकेको देखिँदैन । अहिले लगभग त्यही प्रकृतिको अर्को काम उनीबाट भएको छ ।

अहिले कोरोना भाइरसको प्रकोपबाट आक्रान्त छिमेकी देश चीनका नागरिकलाई नेपाल भ्रमणमा निम्त्याउन मन्त्री भट्टराईले विवादास्पद रणनीति अघि सारेका छन् ।

नेपाललाई ‘कोरोना फ्री जोन’का रुपमा प्रचार गर्नका लागि श्रव्यदृश्य सामग्री बनाउन उनले निर्देशन दिएको समाचार आएको छ । समाचारमा आए अनुसार मन्त्री भट्टराईले चिनियाँ भाषामा समेत त्यस्ता प्रचार सामग्री तयार पारेर ७ दिनभित्र चिनियाँ सञ्चार माध्यम तथा चीनस्थित नेपाली नियोगमार्फत सम्प्रेषणको व्यवस्था मिलाउन भनेका छन् ।

नेपालको पर्यटनका लागि भारतपछि चीन दोस्रो ठूलो स्रोत बजार हो । अघिल्लो वर्ष सन् २०१९ मा झण्डै एक लाख ७० हजार चिनियाँले नेपाल भ्रमण गरेका थिए । यसपालि भ्रमण वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको नेपालले चीनबाट मात्रै पाँच लाख पर्यटकको आशा राखेको छ । तर, कोरोनाको प्रकोपले गर्दा चीनबाट पर्यटक आगमन ठप्प प्रायः बन्न पुगेको छ ।

चीनबाट मात्र होइन, अन्य देशबाट पनि पर्यटक नेपाल आउन डराइरहेका छन् । यसले गर्दा सरकारले भ्रमण वर्षका लागि लिएको लक्ष्य हासिल हुन कठिन देखिएको छ ।

अहिलेसम्म नेपाल कोरोना प्रभावित छ भनेर अन्तर्राष्ट्रियस्तरमा प्रचार भएको छैन । तर, पनि चीनको निकट छिमेकी भएको हिसाबले अन्य देशका पर्यटकहरु नेपाल आउन हिच्किचाउँदा यस वर्ष पर्यटन क्षेत्र गम्भीर रुपमा प्रभावित हुने भएको छ । यही दूर्भाग्यपूर्ण स्थितिले गर्दा सरकारले अत्यधिक महत्व दिएको ‘भ्रमण वर्ष’ असफलताउन्मुख बनेको विषयले प्रधानमन्त्रीदेखि पर्यटनमन्त्रीसम्म चिन्तित बनेका छन् ।

यही चिन्ता र हताशाकै परिणामस्वरुप पर्यटनमन्त्रीको दिमागमा ‘कोरोनामुक्त देश’ भनेर प्रचार गर्ने जुक्ति निस्केको हुन सक्छ ।

नेपाललाई बुद्धको देश वा सगरमाथाको देश भनिरहनुभन्दा ‘कोरोनामुक्त देश’ भनेर प्रचार गर्दा बढी पर्यटक आउने सोचेका हुन् कि ? यो रणनीतिलाई कार्यान्वयनमा लगेमा पर्यटनमन्त्री फेरि एकपटक असंवेदनशील ठहरिनेछन् ।

यदि चीनबाहेकका मुलुकमा यो अभियान लैजाने भनेको भए त्यति धेरै विवादास्पद मानिने थिएन । तर, पर्यटनमन्त्रीको फोकस नै चीनमा छ ।

अहिले नेपालले चिनियाँ पर्यटक आएनन् भनेर पुर्पुरोमा हात लगाउने समय नै होइन । चीन चाँडोभन्दा चाँडो कोरोना भाइरसबाट मुक्त होस् भनेर कामना गर्ने, अनि उसलाई साथ दिने समय हो । चीनको सरकारले प्रभावित क्षेत्रका बासिन्दालाई घरबाट बाहिरसमेत निस्कन नदिएर संरक्षण गरिरहेको छ । अनि, नेपालले चाहिँ ‘नेपालमा कोराना छैन है, घुम्न आओ’ भन्दै सञ्चार माध्यममा फुक्दा कस्तो सन्देश जाला ?

यस सम्वन्धमा स्पष्टीकरण दिँदै मन्त्री भट्टराईले फेसबुकमा लेखेका छन्, ‘आजसम्म नेपालमा कोरोनाको कुनै बिरामी भेटिएको छैन । नेपाल आजसम्म सुरक्षित छ । हामीले उच्च सतर्कता अपनाएका छौं । मित्रराष्ट्र चीनलाई सिंगो नेपालको ऐक्यवद्धता छ । यो सन्देश विश्वभरि फैलाऔं भन्ने कुराको विरोध किन हो ? हीनतावोधको मानसिकता ।’

हो, नेपालमा आजका मितिमा कोरोना संक्रमित कोही भेटिएका छैनन् । संक्रमण देखिएका एक बिरामी पनि अहिले सञ्चो भइसकेका छन् भने नयाँ कुनै केस आएका छैनन् । तर, पनि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपाललाई कोरोनाको जोखिम राष्ट्रकै सूचीमा राखिरहेको छ । चीन र नेपालको निकटता अनि आवागमनले गर्दा संक्रमणको जोखिम अझै पनि कायम छ ।

अहिले पनि चीनबाट आउने यात्रुहरुको विमानस्थलमा राम्रो निगरानी नहुने गरेको रिपोर्टहरु आइरहेका छन् । त्यसैले हामीले ‘संक्रमणमुक्त छौं’ भन्दैमा विदेशीहरुले पत्याइहाल्न नसक्लान् ।

ठीक छ, आजका मितिमा नेपाललाई कोरोनामुक्त नै मानौं। तर, पर्यटन प्रवद्र्धनका लागि यसैलाई हतियार बनाउन मिल्छ कि मिल्दैन ? कोरोनाको खानीमै गएर ‘हामीलाई त सरेको छैन है’ भन्दै झ्याली पिट्दा त्यसको के अर्थ लाग्छ ? एउटा अखबारले मास्क लगाएका माओत्सेतुङको तस्वीर प्रकाशित गर्दा आक्रामक विज्ञप्ति जारी गर्ने देशले सरकारबाटै यस किसिमको रवैया भयो भने सामान्यरुपमा लेला ? या आफ्नो देशको विपत्तिमा नेपालले व्यापार गर्न खोजेको अर्थमा बुझ्ला ?

नेपाल भ्रमण वर्षलाई सफल बनाउन मन्त्री भट्टराईले सबै उपायहरु लगाइरहेका छन् । तर, समयले उनलाई साथ दिएको छैन । भट्टराईले अब तत्काललाई होइन, भविश्यलाई हेरेर काम गर्नुपर्छ । यसपालि लक्षित संख्या नपुगोस्, तर भ्रमण वर्षले भविश्यका लागि आधारशिला खडा गर्न सक्छ । आज नेपाल आउन नसकेका चिनियाँ पर्यटक भोलि आउन सक्छन् ।

आजै पर्यटन मन्त्रीले पत्रकारहरुसँग भनेका छन्, ‘कोरोनामुक्त भएसँगै चिनियाँ पर्यटकहरु वाफ उडेजसरी देश बाहिर निस्किन्छन्, त्यसको लाभ हामीले लिन सक्छौं ।’

हो, उनले त्यही समयको प्रतीक्षा गर्नुपर्छ ।

विवादका श्रृंखला

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रका आफ्ना आलोचक योगेश भट्टराईलाई पर्यटन मन्त्री नियुक्त गर्दा निकै ठूलो चर्चा भएको थियो । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको असामयिक निधन भएपछि रिक्त भएको स्थानमा ओलीले अधिकारीजस्तै जुझारु नेतालाई चयन गरेका थिए । यसले सामाजिक सञ्जालमा सकारात्मक भाइब्रेसन पैदा भयो । प्रतिपक्षी नेताहरुसमेत भट्टराईलाई बधाई दिन प्रतिस्पर्धामा उत्रिएका थिए ।

युवापुस्तामा पहिल्यैदेखि लोकप्रिय नेता भट्टराई प्रष्ट, निर्भिक र जुझारु नेताका रुपमा चिनिँदै आएका छन् । यसअघि कहिल्यै मन्त्री नबनेकाले उनी ‘अनटेस्टेड’ पनि थिए । त्यसैले उनीबाट आशा राखिनु अन्यथा थिएन । तर, मन्त्री नियुक्त भएयता भट्टराई एकपछि अर्को विवादमा फस्दै गइरहेका छन् ।

मन्त्री भएपछि केही समय चुपचाप काममा लाग्नुपर्ने थियो उनले । तर, सुरुदेखि भाषणबाजीमा केन्द्रित भए । दसौं लाख मानिसहरु जुटाएर निजगढ विमानस्थलको शिलान्यास गराउने हास्यास्पद गफ दिए । कुनै आयोजनाको शिलान्यास गर्नकै लागि यत्रो भिड जुटाउनु किन आवश्यक पर्छ ?

विमानस्थलको निर्माणपूर्वका गृहकार्यहरुमा केन्द्रित हुनुपर्नेमा उनले शिलान्यासलाई मात्रै महत्व दिइरहे । शिलान्यास भनेको त दुईवटा ईंट्टा खप्टिने कुरा न हो, यसले मात्रै कुनै आयोजनाको निर्माण सुनिश्चितता हुँदैन । बग्रेल्ति आयोजनाहरु शिलान्यासपछि थन्किएका उदाहरण छन् । अहिलेसम्म पनि मन्त्री भट्टराईले निजगढ विमानस्थलको गाँठो फुकाउन सकेका छैनन् ।

त्यसपछि आयो पशुपति काण्ड । मन्त्री भट्टराईले पशुपति मन्दिरमा रात्रिकालीन आरती गर्दा नेपालको राष्ट्रियगान बजाउन फर्मान जारी गरे । त्यसमा पनि उनी चुके । भलै, उनको सोच र नियत पवित्र थियो होला । देशकै प्रमुख मन्दिरभित्रको धार्मिक अनुष्ठानमा आध्यात्मिकसँगै राष्ट्रियताको जागरणसमेत सिर्जना गर्ने सोच थियो होला उनको । तर, आर्यघाटमा शव जल्दै गर्दा राष्ट्रिय गान बजाउनु व्यवहारिक थिएन । केही दिनको प्रयोगपछि यो मजाक बन्द भयो ।

भट्टराईसँग अझै तीन वर्ष छ, आफूलाई प्रमाणित गर्ने । मन्त्रालयभित्र र बाहिरका विज्ञहरुसँग राय–सल्लाह लिएर चल्ने र गल्ती हुँदा त्यसलाई महसुस गरेर सच्चिने हो भने भट्टराईले आफ्नो गुम्दै गएको छवि पुनः स्थापित गर्न सक्नेछन् ।

त्यसैगरी, पर्यटन मन्त्रालयले नारायणहिटी दरबारभित्रका कोठाहरु रेस्टुरेन्ट खोल्न भाडामा दिन लागेको समाचार मिडियामा आयो । स्रोतको हवाला दिँदै प्रकाशित समाचारलाई लिएर सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि मन्त्री भट्टराईले त्यसको खण्डन गरे । उनले भने, नारायणहिटी दरबारको ऐतिहासिकता तथा पुरातात्विक महत्वलाई असर पर्ने कुनै पनि काम सरकारबाट हुनेछैन ।’ समयमै स्पष्ट पारेकाले यसमा मन्त्री भट्टराई धेरै विवादित बनेनन् ।

तर, नारायणहिटी संग्रहालयबाट आम्दानी सिर्जना गर्ने उपायहरु खोज्ने क्रममा यो विकल्पमा गृहकार्य भएकै हो । सुरुमै विवाद आएपछि मन्त्रालय पछि हटेको हो ।

केही समयअघि भट्टराईको एउटा भिडियो क्लीप भाइरल भयो । एक अमेरिकी पर्यटकले त्रिभुवन विमानस्थलभित्रको शौचालय अत्याधिक फोहोर गरेको भन्दै सामाजिक सञ्जालमा बिल्ला गरेका थिए । उनको स्टाटस भाइरल भएपछि मन्त्री भट्टराईले एक कार्यक्रममा जवाफ दिएका थिए । तर, उनको जवाफ विवादित बन्यो ।

मन्त्री भट्टराईले भनेका थिए, ‘एकजना अमेरिकीले के–के न पत्ता लगाइदिइछन्, वैज्ञानिक नै जस्तो । हाम्रा ट्वाइलेटहरु अलिअलि फोहोर छन् त के ठूलो कुरा भयो र ? तिनका पनि फोहोर नै थिएन नि । सन् १९७० सम्म कालाहरुलाई शौचालयमा दिसा पिसाब गर्न दिन्थे ? आफ्नो इतिहास पनि हेर्नुपर्‍यो नि ।’

एउटा विदेशी नागरिकले विमानस्थलको शौचालयमा प्रश्न उठाएको सुनेपछि मन्त्रीले त्यसलाई जवाफ दिइरहनुभन्दा चुपचाप यसमा सुधार ल्याउन सम्वन्धित निकायलाई निर्देशन दिनुपर्थ्यो । जवाफै दिए पनि त्यो नरम र ओजपूर्ण हुनुपर्थ्यो ।

हालै पर्यटन मन्त्रालयले ल्याएको हवाइ नीतिको मस्यौदा पनि त्रुटिपूर्ण मानिएको छ । यसले वायु सेवा कम्पनीहरुलाई न्यूनतम भाडादरको सिलिङ तोक्न प्रस्ताव गरेको छ । अर्थात्, सरकारले तोकेको भन्दा कम मूल्यमा टिकट बेच्न पाइने छैन । यस्तो नीति उपभोक्ताविरोधी भएको भन्दै आलोचना भइरहेको छ । सरकारले भने हवाई उड्डयन क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढेकाले सिलिङ तोक्नुपरेको तर्क गरेको छ ।

मन्त्री भट्टराईले ७ महिनामा के गरे ?

मन्त्री नियुक्त भएयताका ७ महिनामा योगेश भट्टराईले सबै खराबै खराब मात्रै गरे भन्दा उनीमाथि अन्याय हुनेछ । काम गर्ने क्रममा उनीबाट श्रृंखलाबद्ध गल्तीहरु भएका छन् ।

तर, गल्ती उहीबाट हुने हो, जसले केही काम गर्छ । केही नगरेर निस्क्रिय बसेको भए गल्ती पनि हुँदैनथ्यो । धेरै मन्त्रीहरु केही नगरेर विवादमुक्त बसिरहेका पनि छन् ।

मन्त्री नियुक्त भएदेखि नै भट्टराईले केही गर्ने हुटहुटी र जाँगर देखाइरहेका छन् । सुरुमा उनले संकटग्रस्त अवस्थामा रहेको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई सुधारको बाटोमा ल्याउन पहल थाले । यसका लागि बाटो पहिल्याउन उनले एउटा अध्ययन समिति बनाए । समितिको प्रतिवेदन उनको गोजीमा छ । यसले दिएका सुझावलाई टेकेर उनले एयरलाइन्सलाई सही ट्र्याकमा ल्याउन सक्छन् ।

त्यस्तै ६ वर्षदेखि बहसमा रहेको प्राधिकरण टुक्र्याउने कानूनलाई उनले संसदमा पुर्‍याएका छन् । हवाई उड्ययन क्षेत्रको सेवा प्रदायक र नियामक निकाय एउटै हुन नहुने अन्तर्राष्ट्रिय मापदण्ड छ । यही मापदण्ड पूरा नगरेका आधारमा नेपाली वायुसेवा युरोपेली आकाशमा प्रतिवन्धित बनेको हो । नेपाललाई यूरोपेली आकाशको कालोसूचीबाट हटाउन यो ऐन निर्णायक हुन सक्ने मानिएको छ ।

नेपाल भ्रमण वर्ष सफल बनाउन भट्टराईले निकै जोड लगाएका छन्, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुधारका लागि धाइरहेका छन् । यसलाई उनले आफ्नो प्रतिष्ठाकै विषय बनाएको देखिन्छ । यो राम्रो पनि हो । सरकारले घोषणा गरेको महत्वाकांक्षी अभियानमा मन्त्रीबाट यही स्तरको संवेदनशीलता र चिन्ता आवश्यक छ ।

तर, यस क्रममा उनीबाट भएका गल्ती कमजोरीहरुले गर्दा जस पाउनुपर्ने ठाउँमा अपजस पाइरहेका छन् ।

मन्त्री भट्टराईले केही लोककल्याणकारी अवधारणा पनि अघि सारेका छन् । वृद्धवृद्धालाई हवाई टिकटमा छुट दिने उनको घोषणा क्रमशः कार्यान्वयनमा आइरहेको छ ।

मन्त्री भएयता भट्टराईको खटाइ र सक्रियताको मन्त्रालयका अधिकारीहरु प्रशंसा गर्ने गर्छन् । मन्त्रालयका एक उच्च अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘मन्त्रीज्यूका धेरै कुराहरु राम्रा छन् । उहाँ छिटो कुरा बुझ्नुहुन्छ र जत्ति पनि खट्न सक्नुहुन्छ । आफ्नो जिम्मेवारीमा दत्तचित्त भएर लाग्नुहुन्छ ।’

तर, ती अधिकारीका अनुसार उनी कुनै पनि महत्वपूर्ण निर्णय लिँदा मन्त्रालयकै जिम्मेवार व्यक्तिहरुसँग सल्लाह लिँदैनन् । आफ्नै कोटरीभित्रका व्यक्तिहरु, जसँग कुनै विज्ञता हुँदैन, उनीहरुकै सल्लाहमा चल्छन् । र, बारम्बार विवादमा आउनुको मुख्य कारण पनि नै यही हो ।

नेपालीमा एउटा उखान छ– आश गरेको केटो…. । मन्त्री भट्टराईमाथि यति टिप्पणी आवश्यक पर्नुको कारण पनि यही हो कि उनी आशा गरिएका मन्त्री हुन् । उनीजस्ता मन्त्रीबाट पनि जनता निराश हुने अवस्था दुःखद हो ।

भट्टराईसँग अझै तीन वर्ष छ, आफूलाई प्रमाणित गर्ने । मन्त्रालयभित्र र बाहिरका विज्ञहरुसँग राय–सल्लाह लिएर चल्ने र गल्ती हुँदा त्यसलाई महसुस गरेर सच्चिने हो भने भट्टराईले आफ्नो गुम्दै गएको छवि पुनः स्थापित गर्न सक्नेछन् ।

मन्त्री भट्टराई भन्छन्- मैले केही अन्टसन्ट बोलेको छैन

मैले भन्न खोजेको कुरो के थियो भन्ने मन्त्रालयको विज्ञप्तिमा प्रष्टै छ । मान्छेहरुले त्यो विज्ञप्ति नै हेरेनन् । त्यो विज्ञप्तिमा दुईवटा पोइन्ट छन् ः

एउटा- नेपाल कोरोनामुक्त छ, त्यो मैले भनेकै हो । नेपाल आजसम्म कोरोना फ्री जोन हो । त्यसकारणले नेपालमा घुम्न सुरक्षित छ, तपाईहरु आउनोस् भनेर विश्व बजारमा हाम्रो प्रचार लानुपर्‍यो ।

दोस्रो पोइन्टमा मैले के भनेको थिएँ भने चीनचाहिँ अहिले कठीन अवस्थामा छ । त्यसकारणले चीनलाई हाम्रो सहानुभूति, सहयोग ऐक्यवद्धताको सन्देश पठाउनुपर्‍यो र हामीले चीन छिटै कोरोनाबाट मुक्त भएपछि चिनियाँ पर्यटकहरुलाई स्वागत गर्न आतुर छौं भन्ने सन्देश दिनुपर्‍यो ।

यही हो मैले भनेको । तर, यसलाई बुझ्दै नबुझी पर्यटन मन्त्रीले चिनियाँ पर्यटकहरु ल्याउनु भन्यो भनियो । मेले चिनियाँ पर्यटक ल्याउने भनेकै छैन । चीन बाहेकको अरु दुनियाँमा हाम्रो नेपाल सुरक्षित छ, आऊ भन्नुपर्‍यो ।

चीनमा चाहिँ तिमीहरुलाई दुःख छ, हाम्रो ऐक्यवद्धता छ, छिटै मुक्त होऊ, त्यसपछि तिमीहरुका पर्यटक जब घुम्न निस्कन्छन्, त्यसपछि हामी नेपालमा स्वागत गर्न तयार छौं भन्नुपर्‍यो । त्यो सन्देश पठाउनुपर्‍यो, दुईवटा अलग-अलग भन्या हो मैले ।

मैले दुईवटा अलग-अलग वक्तव्यको कुरा गरेको छु । चिनियाँ बाहेकको दुनियाँलाई नेपाल सुरक्षित छ, आऊ भन्नुपर्‍यो । हामीले चाइना बाहेकका अरु देशका उडानहरु रोकेका त छैनौं । अझै उडानहरु थप्ने भन्या छौं ।

मैले बोलेको यो कुरालाई अपव्याख्या गरियो । मैले केही अन्टसन्ट बोलेको छैन । अन्ट सन्ट लेख्नेहरुले अन्ट सन्ट बोलेको भनेर छापेका मात्र हुन् ।

मन्त्रालयको विज्ञप्ति

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment