Comments Add Comment

शिवरात्रिमा नागाबाबा : महिलालाई पशुपतिनाथ गइनसक्नु !

पूर्वसंस्कृतिमन्त्री भन्छन्– लाजमर्दो सिलसिला बन्द गर्नुपर्छ

९ फागुन काठमाडौं । नेपालको कानुनअनुसार सार्वजनिक स्थानमा नांगो भएर हिँड्न पाइँदैन । तर, अहिले तपाईं पशुपतिनाथ मन्दिर जानुभयो भने शरीरमा खरानी घसेका जोगीहरु नग्न अवस्थामा यत्रतत्र देख्नुहुन्छ ।

नेपालका सम्पूर्ण हिन्दूहरुका लागि सबैभन्दा महत्वपूर्ण र पवित्रस्थल हो पशुपतिनाथ । शिवरात्रीका अवसरमा यहाँ भक्तजनहरुको व्यापक घुइँचो हुन्छ । घुइँचोमा महिला दिदी–बहिनीहरु पनि हुन्छन् । मन्दिर परिसरमा नांगै उभिएका जोगीहरुबाट आफ्नो नजर जोगाउन गाह्रो पर्छ उनीहरुलाई । अझ बालबच्चा पनि लिएर आउने महिलाहरु त झनै सकसमा हुन्छन् ।

बिहीबार मन्दिर परिसरमा भेटिएकी शारदा रिजालले भनिन्, ‘शिवरात्रीका बेलामा त हामी महिलाहरुलाई मन्दिरभित्र छिर्नै डर लाग्छ । पवित्र चाडमा यस्तो अश्लील र घीनलाग्दो दृश्य देख्नु नपरे हुन्थ्यो ।’

किन आउँछन् नागाबाबा ?

धर्मशास्त्र अनुसार हिन्दू धर्ममा भगवान शिवलाई दुई रूपमा पाइन्छ । पहिलो बाघाम्बर र दोस्रो दिगम्बर । बाघाम्बर रुप भनेको बाघको छाला बेरेको अवस्था हो भने, दिगम्बर रुप भनेको पूर्णरुपमा निर्वस्त्र अवस्था हो । हामीले तस्वीरहरूमा देख्ने गरेका शिवजी बाघाम्बर स्वरुपका हुन् ।

संसारका पुरातन सम्प्रदायमध्येको पहिलो सम्प्रदाय हो, नागा सम्प्रदाय । उनीहरू शिवभक्त हुन् । उनीहरूले शिवको दिगम्बर स्वरुपको नक्कल गरेर नागा अर्थात् नग्न जीवन बाँच्ने अभ्यास गर्छन् । नागाबाबाहरू पनि दुईथरी हुन्छन् । एकथरी तीन सय ६५ दिनै नांगो भएर बस्छन् भने, अर्काथरी शिवरात्रिमा वा अन्य विशेष अवसरमा नांगिन्छन् ।
नागाबाबाले आफूलाई हरेकखालका लोकलाजबाट मुक्त गराएका हुन्छन् । मानिसले लगाउने बाहिरी आभूषण देखावटी मात्रै हुन् भन्ने उनीहरूको मान्यता हुन्छ । शिवजी र अग्नि एकापसमा अन्योन्याश्रति भएकाले नागाहरूले अग्निलाई आफ्नो परिधान बनाएका हुन्छन् र शरीरमा खरानी लेपन गर्छन् । सबै लोकलाजबाट मुक्त भएर नागा बन्नका लागि कठोर साधना चाहिने भएकाले नागाबाबालाई साधुहरूमध्ये उच्चकोटिमा राख्ने गरिन्छ ।

पशुपतिनाथ मन्दिरभित्र नागाबाबाहरूको उपस्थितिले लाजमर्दो माहोल सिर्जना गर्ने गरे पनि धर्म–संस्कृतिसित जोडिएको विषय भएकाले यसविरुद्ध खासै आवाज उठेको छैन

नागाहरू खासगरी भारतमा छन् । नेपालमा खासै छैनन् । शिवरात्री आउनुभन्दा केही दिन अगाडिबाटै नागा बाबाहरुको चहल–पहल सुरु हुन्छ । शिवरात्री सकिएपछि पशुपति क्षेत्र विकास कोषले उनीहरुलाई खर्चपर्च समेत दिएर बिदा गर्ने गर्छ ।

पशुपतिनाथ मन्दिरभित्र नागाबाबाहरूको उपस्थितिले लाजमर्दो माहोल सिर्जना गर्ने गरे पनि धर्म–संस्कृतिसित जोडिएको विषय भएकाले यसका विरुद्ध खासै आवाज उठेको छैन ।

कतिपयले मन्दिरका टुँडालमा खोपिएका भगवानका नग्न आकृतिहरुलाई देखाएर पनि यो विषयलाई सामान्यीकरण गर्ने गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव गोविन्द टन्डनको भनाइमा यी बाबाले आफ्नो इन्द्रीयलाई दमन गरेर राख्ने भएकाले यौनजन्य विकृतिको सम्भावना हुँदैन ।

‘नागाबाबाहरू आएनन् भने पनि किन आएनन् भनेर मिडियाले नै समाचार बजाउँछन्,’ टन्डन भन्छन्, ‘नत्र पैसा खर्च गरी गरी किन ल्याउने ?’

नागाबाबाहरुलाई पशुपति मन्दिरको मुलद्वारभित्र मात्रै बस्ने अनुमति हुन्छ । तर, उनीहरु नियम तोड्दै गेट बाहिर पनि घुमिरहेका भेटिन्छन् ।

मन्दिरभित्र कोही धुनी तापेर बसेका हुन्छन् भने कोही ध्यानमा लीन हुन्छन् ।

भक्तजनलाई टीका लगाइदिने र पैसा माग्ने गर्छन् । पत्रकारले फोटो खिचे भने पनि पैसा माग्छन् ।

पशुपति क्षेत्र विकास कोषले शिवरात्रीमा आउने साधुहरुलाई उनीहरुले बोकेर ल्याउने विभिन्न संघसंस्थाका कागजात हेरेर विभिन्न बर्गमा छुट्याउने गर्छ । यही वर्गीकरणका आधारमा उनीहरुलाई बिदाइ गर्दा फरक–फरक दक्षिणा  टक्र्याउने गरिन्छ ।

सामान्यतया अघोरीबाबा र नागाबाबाहरुले अरुभन्दा बढी पैसा पाउँछन् । साधुको स्तरअनुसार एकजननलााई पाँच हजार रुपैयाँसम्म दिने गरिएको छ । साथै बाबाहरुलाई ५/६ दिन पशुपति मन्दिरमा बस्दा खानपिन र अन्य मेजमानीको प्रबन्ध कोषले गर्छ ।

संस्कृति हो कि विकृति ?

पूर्वसंस्कृति मन्त्री आनन्द पोखरेल शिवरात्रीमा नागा बाबाको आगमनलाई संस्कृति नभएर कुसंस्कृतिका रुपमा व्याख्या गर्छन् । उनले यो प्रथा २१ औं सताब्दीको सभ्यतासँग मेल नखाने भन्दै बन्द गर्नुपर्नेमा जोड दिए ।

‘हिन्दू धर्ममा शिवरात्रीको ठूलो महत्व छ, यसलाई धुमधामले मनाउनुपर्छ, तर’ पोखरेलले अनलाइनखबरसँग भने, ‘पशुपति मन्दिरभित्र जोगीहरु नांगै घुम्ने, अनि गाँजा सेवन गर्ने जस्ता विकृतिहरु अहिलेको सभ्य समाजमा मान्य छैनन् । यिनीहरुलाई निरन्तरता दिनुहुँदैन ।’

चार वर्ष अगाडि पर्यटन तथा संस्कृति मन्त्री थिए पोखरेल । ०७२ सालको शिवरात्रीपछि साधुहरुलाई बिदाई गर्ने कार्यक्रमका लागि उनलाई निम्त्याइएको थियो । त्यसबेला त्यहाँभित्रको माहोल देखेर अचम्मित र लज्जित बनेको उनले सुनाए ।

‘नाङ्गा जोगीहरु यताउता गरेको देखेपछि मलाई साह्रै असहज लाग्यो, धेरैबेर त्यहाँ बस्न पनि सकिनँ,’ पूर्वमन्त्री पोखरेलले भने ।

त्यसपछि पशुपति विकास कोषको बैठकमा समेत आफूले यो प्रथा बन्द गर्नुपर्ने कुरा गरेको उनले सुनाए ।

‘तर, अर्को शिवरात्रीसम्म म मन्त्री पदमै थिइनँ, त्यसैले यो लाजमर्दो सिलसिला बन्द गर्न सकिनँ,’ पोखरेलले भने ।

के भन्छन् त नागाबाबा ?
पशुपति मन्दिरभित्र सुस्ताइरहेको अवस्थामा भेटिए ‘पार्टटाइम नागाबाबा’ महन्त प्रजागिरी । काशीबाट आएका उनले शिवरात्रीमा मात्र पाँच दिन आफू नांगो हुने बताए । नांगो अवस्थामा आफू बालकस्वरुपमा फर्किने उनले सुनाए ।

‘नांगो बस्दा हामी एउटा ६ महिनाको शिशुजस्तै मानसिक अवस्थामा पुग्छौं । अनि, हामीलाई को आमा, को दिदीबहिनी केही थाहा हुँदैन,’ उनले अनलाइखबरसँग भने ।

भगवान शिवको दिगम्बर स्वरुपलाई ग्रहण गरेर नागाबाबा बनेको प्रजागिरीको भनाइ छ । तर, भगवान शिवलाई त कुनै तस्वीरमा पनि नांगोरुपमा देखिएको छैन नि भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘उहाँ सँधैभरि नांगै बस्नुहुन्न, भक्तले माग गरे भने नांगो स्वरुप देखाउनुहुन्छ । त्यसलाई हामी दिगम्बर स्वरुप भन्छौं । अरुबेला बाघको छाला बेर्नुहुन्छ, जसलाई बाघाम्बरी भनिन्छ ।’

प्रजागिरीले थपे, ‘उतिबेला पो बाघाम्बरी पाइन्थ्यो र लगाउनुहुन्थ्यो । हामीले अहिले त्यो कहाँबाट पाउनु ? त्यसैले नांगै बस्छौं । शरीरमा भष्म लेपन गर्छौं ।’

नागाबाबा बन्न अध्ययन वा अन्य कुराको कुनै मापदण्ड नरहने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment