Comments Add Comment

खप्तडगोल्ड कप सुरु, कञ्चनजंघाको विजय सुरुआत

९ फागुन, कैलाली । सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्ड कपको चौथो संस्करण शुक्रबारबाट सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा भारतको कञ्चनजंघा फुटबल क्लब विजयी भएको छ । धनगढी रङ्गशालामा भएको खेलमा वाग्मती युवा क्लब सिराहलाई ट्राईब्रेकरमा ४-२ ले हराउँदै कञ्चनजंघा क्वाटर फाइनल प्रवेश गरेको हो ।

दुवै हाफमा कञ्चनजंघाले अधिकांश समय बल आˆनो पोल्टामा राखे पनि गोल गर्न भने सकेको थिएन । दुवै टोलीले गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।
ट्राइब्रेकरमा कञ्चनजंघालाई जिताउन गोलरक्षक निगम सिंह नायक बने ।

उनले वाग्मतीका विपिन तुमसिङ मगर र अनिल मगरको प्रहारलाई रोकेका थिए । खेलमा कञ्चनजंघाका गोलरक्षक निगम सिंह नै म्यान अफ द म्याच भए । उनले नगद १० हजारसहित ट्रफी पाए ।

पहिलो खेलमा जित हात पारेको कञ्चनजंघाले अव सेमिफाइनल प्रवेशका लागि आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत शनिबार सशस्त्र प्रहरी बल एपीएफ र न्युरोड टिम एनआरटी बीच प्रतिस्पर्धा छ ।

यसअघि शुक्रबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गोल्ड कपको उद्घाटन गरेका हुन् ।

गोल्ड कपको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा खेलकुदको विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका थिए ।

उद्घाटन समारोहमा सामाजिक विकासमन्त्री कृष्ण राज सुवेदी र धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले पनि खेलकुदको विकासका लागि तीनै तहको सरकार एक हुनुपर्ने बताएका थिए ।

आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमाले खप्तड गोल्ड कपले राष्ट्रको लागि राम्रा खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

२० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैयाँ तथा उपविजेतालाई १० लाख १ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितामा १ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारा सहित सुदूरपश्चिम-११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि गर्दै आयोजना गर्दै आएको छ ।
यस संस्करणमा नेपाल र भारतका १२ टिम सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment