Comments Add Comment

दशैंमा रिलिज डेटः प्रचारको फन्डा मात्रै

एक पटक औपचारिक रुपमा प्रदर्शन मिति तय गरेर त्यसलाई पछि सार्दा धेरै चलचित्रकर्मीका चलचित्र चिप्लिएका छन् । नेपाली चलचित्रको रिलिज शैली हेर्ने हो भने, प्रदर्शन मिति तय गरेर पछि सारिएका धेरै चलचित्र असफल भएका छन् । तर, पनि चलचित्रकर्मीहरु चलचित्र प्रचारका लागि फन्डा मच्चाउन रिलिज मिति तय गरिदिन्छन् ।

आउँदो बर्षको दशैंमा प्रदर्शन मिति तय गर्दै अगाडि तम्सिएका चलचित्रको सूची हेर्ने हो भने, लामो छ । तर, के ती सबै चलचित्रहरु तोकिएकै मितिमा रिलिज होलान् त ? यो बर्षको दशैंलाई नै हेर्ने हो भने पनि, प्रदर्शन मिति तोकेर धेरै चलचित्र पछि सरे । अन्त्यमा दशैंको मुख्य बिदामा हिन्दी चलचित्र ‘वार’को दबदबा नै कायम रह्यो । एउटा हिन्दी चलचित्रले धेरै नेपाली चलचित्रकर्मीको निन्द्रा नै बिगारिदियो । यसैले, प्रदर्शन मिति तोकेर पछि सार्दा दर्शक झुक्किने मात्र होइनन्, सो चलचित्रको मार्केटिङ शैलीलाई नै असफल बनाइदिन्छ ।

आउँदो बर्षको दशैंमा रिलिज हुने भनेर तम्सिएका निर्माताहरुमध्ये कसैको पनि चलचित्रको छायांकन सुरु नै भएको छैन । निर्माता तथा कलाकार दीपकराज गिरीको चलचित्र ‘छक्का पन्जा ४’ दशैंमा आउने पक्का भनिएको छ । तर, अहिले यो चलचित्रको कथा लेख्ने काम भैरहेको छ ।

यही मितिमा आउने भनेर घोषणा गरिएको अर्को चलचित्र ‘ए मेरो हजुर ४’को पनि छायांकन नै सुरु भएको छैन । झरना थापाको निर्देशनमा बन्ने यो चलचित्रको मेकरले दशैंलाई नछाड्ने बताइसकेको छ ।

नारायण रायमाझीको निर्देशनमा बन्न लागेको चलचित्र ‘परदेशी २’को पनि छायांकन सुरु भएको छैन । तर, चलचित्रको प्रदर्शन मिति आउँदो बर्षको दशैंलाई तय गरिएको छ । यही मितिमा प्रदिप भट्टराइको निर्देशनमा बन्न लागेको तथा मह जोडीले अभिनय गर्ने अनटाइटल प्रोजेक्टको पनि प्रदर्शन मिति तय गरिएको छ ।

दशैंलाई नै टार्गेट गरिएको अर्को चलचित्र हो, ‘प्रेम पूजा’ । यो चलचित्रको फस्टलुक सार्वजनिक भएको छ तर छायांकन सुरु भएको छैन । तर, चलचित्रका मेकरले यो मिति तोक्दा हल्ला बढी हुने सोचेर प्रदर्शन मिति दशैंलाई रोजेका छन् ।

यी पाँचै वटा चलचित्रको प्रदर्शन मिति तय भैसकेको छ, तर छायांकन नै सुरु भएको छैन । एउटा कुरा प्रष्ट के छ भने, दशैंमा यी पाँचैवटा चलचित्र रिलिज हुँदैनन् । तर, दशैंमा भिडन्त भनेर हल्ला गर्दा चलचित्रको हल्ला बढी हुने भएकाले मेकरहरु यस्तो सस्तो चर्चामा लोभिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment