Comments Add Comment

प्रदेश ५ सरकारले गरेको एक्स्पो उपलब्धीविहीन : निजी क्षेत्र

एक्स्पोमा स्वस्ती वाचन गर्दै संस्कृत पाठशालाका विद्यार्थीहरु । तस्वीर सौजन्य : खेमराज रिजाल

१२ फागुन, बुटवल । प्रदेश ५ सरकारले दाङको बेलझुण्डीमा आयोजना गरेको प्रदेश एक्स्पो उपलब्धीविहीन भएको भन्दै निजी क्षेत्रले आलोचना गरेको छ ।

फागुन १० देखि १२ गतेसम्म आयोजना भएको एक्स्पोका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले मात्रै ५० लाख वजेट छुट्ट्याएको थियो भने अरु मन्त्रालयले पनि बजेट छुट्याएका थिए ।

एक्स्पोमा ५ सय स्टल बनाएकामा एक सय भन्दा बढी खाली भएका थिए । प्रदेशका सबै जिल्लाका स्थानीय तहको सहभागिता गराउने भनिए पनि रोल्पा जिल्लाका दश स्थानीय तहमध्ये एउटाले मात्र सहभागिता जनाएको थियो ।

‘जिल्ला समन्वय समितिका सभापति उद्घाटनकै दिन फर्कनुभो, स्टलमा सहभागिता हामी एक्लो गाउपालिका हौं’ स्टलमा बसेका लुंग्री गाउँपालिकाका प्रतिनिधि टोपबहादुर वली क्षेत्रीले भने ।

कति स्थानीय तहको सहभागिता देखिएको हो भन्ने विषयमा पनि सचिवालयले समापनको दिन बिहानसम्म आधिकारिक जानकारी दिएको छैन । तर सचिवालय सदस्य विनय पोखरेलले सबै पालिका आएका र उत्साहजनक सहभागिता भएको दावी गरे ।

एक्स्पोलाई लक्षित गर्दै दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले आफ्नो फेसबुकमा लेखे, ‘काम गर्ने कालु, मकै खाने भालु, प्रदेश एक्पो—२०७६ ।’

एक्स्पो शुरु हुनुअघि निजी क्षेत्रलाई खुब प्रयोग गरिएको तर उद्घाटनको दिनदेखि नै निजी क्षेत्रको भूमिकालाई अवमूल्यन गरिएको अध्यक्ष भुसालले गुनासो गरे ।

तुल्सीपुर उद्योग वाणिज्य संघ आवद्ध व्यवसायी पनि प्रदेश एक्स्पोको औचित्य पुष्टि हुन नसकेको बताउँछन् । ‘हामीलाई जसरी उपयोग गरियो, त्यसरी नै अपमान गरियो, उद्घाटनकै दिन एउटा पनि निजी क्षेत्रका प्रतिनिधिलाई स्टेजमा स्पेस दिइएन’—तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपबहादुर खत्रीले भने ।

फितलो व्यवस्थापन र निजी क्षेत्रलाई बेवास्ता गरेका कारण यो अवस्था आएको दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले बताए । ‘एक दिन उद्घाटन, एक दिन व्यापार र अन्तिम दिन समापन भयो, त्यसैले पनि व्यवसायीहरुले व्यापार गर्न पाएनन्’ अध्यक्ष भुसालले भने ।

जिल्ला बाहिरबाट आउने व्यवसायीलाई बसोबासको व्यवस्थापनलगायत सामान ढुवानीको व्यावस्थापन पनि नहुँदा स्टलमा अर्थपूर्ण प्रदर्शन र बिक्री वितरण हुन नसकेको रुपन्देहीबाट सहभागी एक सहकारी संस्थाकी सञ्चालकले भनिन् ।

‘उद्योग वाणिज्य संघहरुले लगाउने मेला जत्तिको पनि देखिएन’ नाम उल्लेख गर्न नचाहने उनले भनिन् ।

एक्स्पोको बजेट पनि पारदर्शी नभएको उद्योग वाणिज्य संघका अध्यक्ष भुसालको टिप्पणी छ । ‘कहाँ कुन प्रयोजनका लागि कति पैसा खर्च गर्ने भन्ने पनि कुनै खाका छैन’ उनले भने, ‘एक्स्पोका लागि विनियोजन गरिएको ५० लाख रुपैयाँ स्टल र स्टेज निर्माणका लागि होइन भनिएको छ ।’

फितलो व्यवस्थापनलाई आयोजकले पनि स्वीकार गरिसकेको छ । ‘हामी फितलो व्यवस्थापनबीच प्रदेश एक्स्पो सम्पन्न गर्दै छौं, किनकी हामीलाई सबै क्षेत्र व्यवस्थापन गर्न समय अत्यन्तै कम भयो’ सोमबार बिहानै आयोजित योग कार्यक्रम समापनका अवसरमा संघीय सांसद सुजिता शाक्यले भनिन्–‘व्यवस्थापनका सवालमा धेरै कमी कमजोरी रहे, त्यसमा हामी क्षमाप्रार्थी छौं ।’

एक्स्पोमा प्रदेश सरकारका मन्त्रालय र सरकारी कार्यालयका ५० बढी र निजी क्षेत्रका तीन सय स्टल बनाइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सहसचिव हरिसिंह धामीले बताए ।

निजीलाई प्रति स्टल तीन हजार शुल्क लिइएको उनले बताए । प्रदेश सरकार अन्तर्गत प्रदेशसभा सचिवालयलाई आफ्नो भवन दिएको बुटवल उद्योग वाणिज्य संघसंग पनि एक्स्पोको सम्बन्धमा कुनै छलफल नभएको र आधिकारिक पत्र समेत नपाएको संघका अध्यक्ष खिमबहादुर हमालले बताए

‘सरकारी बजेटको खर्च उपलब्धीमूलक र सार्थक हुनुपर्छ’ हमालले भने, ‘सूचना र सञ्चार प्रविधिको युगमा प्रदेश सरकारका काम सञ्चारमाध्यमले प्रकाशन प्रशारण गरिरहेकै छन्, फेरि यति ठूलो खर्च गरेर एक्स्पो गरिरहनु किन पर्‍यो हामीले बुझ्न सकेका छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment