Comments Add Comment

विद्यालयको जग्गा मिचेर बाटो बनाएको भन्दै ललितपुरबासीले जलाए मेयरको पुत्ला

१३ माघ, ललितपुर । सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै विद्यालयको जग्गा मिचेर सडक विस्तार गरिएको विरोधमा ललितपुरका स्थानीयले मेयर चिरीबाबु महर्जनको पुत्ला दहन गरेका छन् ।

ललितपुर महानगरपालिका–३, पुल्चोकमा रहेको मदन स्मारक माध्यमिक विद्यालयको जग्गा मिचेर सडक विस्तार गरिएको विरोधमा मंगलबार बिहान मेयरको पुत्ला दहन गरिएको हो ।

सर्वोच्च अदालतमा समेत पुगेको यो मुद्दाको अन्तिम टुंगो नलाग्दै बाटो विस्तार गरिएको भन्दै स्थानीयबासीले विरोध गर्दै आएका छन् । स्थानीयबासीका अनुसार बाटो विस्तार गरिएको स्थान वडा नम्बर ३ मा पर्ने भए पनि वडा नम्बर २० को उपभोक्ता समितिले काम गरेको छ ।

स्थानीय कदम लालले भने, ‘सर्वोच्च अदालतले जेठ १ गते अन्तरिम आदेश जारी गरेको छ । तर महानगरपालिकाले सर्वोच्चलाई पनि च्यालेन्ज दिएको छ । जबर्जस्ती बनाउनु भनेको कानुनको धज्जी उडाउनु हो ।’

बाटो विस्तार दायाँ-बायाँ बराबर गर्नुपर्ने भए पनि विद्यालयको जग्गा मिचेर एकतर्फीमात्र विस्तार गरिएपछि स्थानीयबासी आक्रोशित छन् । मदनस्मारक माविका पूर्वविद्यार्थी एवम् स्थानीय महेशराज बज्राचार्यले विद्यालयको जग्गा नमिच्न गरेको आग्रह बेवास्ता गर्दै महानगरले सडक विस्तार गरेपछि बाध्य भएर मेयरको पुत्ला जलाएको बताए ।

बज्राचार्यका अनुसार, विद्यालयको पूर्वतर्फको पर्खाल भत्काएर महानगरपालिकाले सडक विस्तार गर्न खोजेलगत्तै स्थानीय र पूर्वविद्यार्थीले त्यसो नगर्न सुझाएका थिए । तर, त्यसको बेवास्ता गर्दै विद्यालयको पर्खाल भत्काएर करिब ७ आना जग्गा मिचिएको छ । जग्गा मिचिएपछि मेयरलगायतसँग कुराकानी भए पनि त्यसबाट निकास ननिस्किएपछि स्थानीयबासी संघर्षमा छन् ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment