Comments Add Comment

सागका पदक विजेता खेलाडीको पुरस्कारमा कर नकाटिने

टिम जित्नेलाई ६ लाख, पुरस्कार यसै महिना

१५ फागुन, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक जित्ने खेलाडीले पाउने पुरस्कार रकममा कर नकाटिने भएको छ ।

खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि २०७२ को पहिलो संसोधनको प्रस्तावलाई मन्त्रीपरिषदले स्वीकृत गरेपछि पदक विजेता खेलाडी लाभान्वित भएका हुन् ।

पुरस्कार कार्यविधि पारित भएपछि अब पदक विजेता खेलाडीले पुरस्कार पाउने बाटो पनि खुलेको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले खेलाडीले पाउने पुरस्कार रकममा कर नलाग्ने निर्णय भएको जानकारी दिए ।

बिहीवारै बिहान राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले पनि खेलाडीले पाउने ५ लाखभन्दा माथिको पुरस्कारमा कर लाग्ने भनिएकोमा त्यो हटेको भन्दै खुशी व्यक्त गरेका थिए । ‘५ लाख भन्दा बढीको पुरस्कारमा कर लाग्ने भनिएको थियो । अब नलाग्ने जानकारी पाएँ । त्यो राम्रो हो’ उनले भने ।

मंसिरमा सम्पन्न भएको १३ औं सागको पदक विजेताहरु अहिलेसम्म पुरस्कार नपाउँदा असन्तुष्ट छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नै पदक विजेता खेलाडीलाई बालुवाटारमा बोलाएर सरप्राइज प्याकेज घोषणा गरेका थिए । उनले व्यक्तिगततर्फ पदक जित्ने खेलाडीको पुरस्कार रकम घोषणा गरेका थिए, जुन अघिल्लो सागको भन्दा झण्डै दोब्बर थियो ।

टिम इभेन्टतर्फ भने स्वर्ण जित्नेको पुरस्कार मात्र घोषणा भएको थियो । त्यतिबेला टिमतर्फ रजत र कास्य जित्ने खेलाडीहरु पुरस्कार नै घोषणा नभएको भन्दै खिन्न बनेका थिए । कार्यविधिअनुसार अब सबै पदक विजेताले यसअघि घोषणा गरे अनुसार नै पुरस्कार रकम पाउनेछन् ।

प्रधानमन्त्रीले स्वर्ण जित्नेलाई ९ लाख, रजत जित्नेलाई ६ लाख र कास्य जित्नेलाई ३ रकम घोषणा गरेका थिए । खेलाडीले सोही पुरस्कार पाउनेछन् । यस्तै टिमतर्फ स्वर्ण जित्नेलाई ५ लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । तर रजत र कास्य जित्नेको पुरस्कारबारे अन्योल थियो ।

व्यक्तिगतमा रजत जित्ने भन्दा टिममा स्वर्ण जित्नेको रकम कम भएपछि मन्त्रालयले एक लाख बढाएर टिममा स्वर्ण जित्नेलाई ६ लाख दिने गरी कार्यविधिमा प्रस्ताव गरेको थियो । मन्त्रालय स्रोत अनुसार टिममा स्वर्ण जित्नेले ६ लाख नै पाउने गरी कार्यविधि परित भएको छ । टिम इभेन्टमा पदक जित्नेले पाउने रकम आधिकारिकरुपमा अझै सार्वजनिक भएको छैन ।

यस्तै व्यक्तिगततर्फ एकभन्दा बढी स्वर्ण जित्नेले ११ लाखका दरले पुरस्कार पाउने भएका छन् । प्रधानमन्त्रीले पनि त्यसबेला ११ लाखका दरले पाउने घोषणा गरेका थिए । अब पौडीमा ४ स्वर्ण जितेकी गौरिकाले ४ स्वर्ण बापत ४४ लाख पाउनेछिन् ।

सदस्य सचिव भन्छन् : केही पदक थपिन्छन्

बिहीवारै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले फागुन महिनामै १३ औं साग पदक विजेताले पुरस्कार पाउने बताएका थिए । ‘फागुनमै हामी पुरस्कार दिन्छौँ । कानुनी प्रक्रिया अलि झन्झटिलो हुन्छ,’ सिलवालले भने । सबै विषय टुङ्गिएको र अब अर्थ मन्त्रालयबाट रकम आउन बाँकी रहेको उनले बताए ।

सदस्य सचिव सिलवालले खेलाडीलाई पुरस्कार वितरण गर्न ढिलाई भएको स्वीकार गर्दै केही पदक नेपालको नाममा अझै थपिन सक्ने बताए । ‘त्यसैले मैले नै केही दिन ढिलाइ गरेको हो । नेपालको केही पदक बढ्नेछ । तर कसरी बढ्नेछ नसोध्नुस् ।’

उनले खेलाडीको पुरस्कार अब बैंक खातामै हालिने भन्दै सबैलाई बैंक खाता अनिवार्य खोल्न आग्रह गरे ।

यसअघि सागमा व्यक्तिगततर्फ स्वर्ण जित्नेले ५ लाख, रजत जित्नेले ३ लाख र कास्य जित्नेले २ लाख पुरस्कार पाउने व्यवस्था थियो । यस्तै टिम इभेन्टमा यसअघि स्वर्ण जित्नेले २ लाख रजत जित्नेले १ लाख ५० हजार र कास्य जित्नेले १ लाख पाउने व्यवस्था गरिएको थियो ।

डिसेम्बर १ देखि १० सम्म काठमाडौं पोखरा र जनकपुरमा भएको १३ औं सागमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक ५१ स्वर्ण जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment