Comments Add Comment

कोरोना भाइरस : चीन तङ्ग्रिँदै, एसिया र युरोप खतरामा !

१५ माघ, काठमाडौं । दुई महिनामा ८२ हजार भन्दा बढी मानिसमा संक्रमण । २८ सयको मृत्यु । ३२ हजार भन्दा बढी संक्रमित मानिस उपचारपछि निको भए । यो चीनको कोरोना भाइरस (कोभिड १९) को पछिल्लो तथ्यांक हो । यो तथ्याकंलाई विश्लेषण गर्दै मेडिकल विशेषज्ञहरुले भनिरहेका छन्, ‘चीन विस्तारै कोरोनाबाट तंग्रिने क्रममा छ ।’

एक सातामै १ हजार ७ सय भन्दा मानिसमा संक्रमण र १७ जनाको मृत्यु । अन्य लाखौँ व्यक्तिमा संक्रमण भएको आशंका । दक्षिण कोरियाको यो तथ्यांक हेर्दै स्वास्थ्य वैज्ञानिकहरु भनिरहेका छन्, ‘चीनमा झैं कोरियामा पनि कोरोनाको महामारी फैलन सक्छ ।’

इटलीमा ५ सय जना भन्दा कम अर्थात ४४७ जनामा संक्रमण हुँदा २२ र इरान २ सय ४५ जना संक्रमित हुदाँ २६ जनाको मृत्यु हुनुले यी दुई देश पनि विश्व स्वास्थ्य संगठनको ‘डेञ्जर जोन’मा परेका छन् ।

ल्यानसेट जर्नलको पछिल्लो अनुसन्धानले चीनपछि इजिप्ट, अल्जेरिया र  दक्षिण अफ्रिकामा कोरोना भाइरस (कोभिड १९) को महामारी फैलन सक्ने देखाएको थियो । तर, चीनपछि दक्षिण कोरिया, इरान र इटालीमा कोरोनाको संक्रमण उच्च देखियो ।

यसले के देखाउँछ भने अहिले कोरोना भाइरस विश्वभरका स्वास्थ्य विशेषज्ञहरुको टाउको दुखाई बन्दै गएको छ । यसको कारण, नतिजा र फैलावट वैज्ञानिकले अनुमान गरेभन्दा बाहिर छ । त्यसैगरी विश्व स्वास्थ्य संगठनले विश्वभरको सबै देशलाई ‘तयारीको अन्तिम चरणमा’ रहनुपर्ने भन्दै सचेत गराएको छ।

चीन तङ्ग्रिने क्रममा

विभिन्न अध्ययनका अनुसार एक संक्रमित व्यक्तिले अरु २ देखि ३ जनालाई कोरोना भाइरसको संक्रमण गराउँछ । चीनले एक बिरामीलाई २ देखि ३ दिनसम्ममा ठीक पनि पारेको छ । यो तथ्यांकले अन्य देशहरुले पनि चीनबाट उपचार विधि सिक्न र सहकार्य गर्नुपर्ने देखाएको छ । साउथ मर्निङ पोस्टले लेखेको छ, ‘दक्षिण कोरिया, इरानजस्ता देशहरुलाई चीनले आफ्नो अनुभव सेयर गर्ने हो भने ती देशमा कोरोना संक्रमितको उपचार राम्रो हुन सक्छ ।’

चीनको नयाँ सोच

चीनले कोरोना भाइरसको प्रकोप रोक्न व्यापार र उपभोगका लागि वन्यजन्तुको बजारलाई नियन्त्रण गर्ने योजना बनाएको छ । चीनको वन्यजन्तु संरक्षणको निरीक्षण गर्ने नेशनल फरेस्ट्री एण्ड ग्रासल्याण्ड प्रशासनले वन्यजन्तु प्रजनन संस्थाको व्यापक सरसफाइ र नियमन गर्ने बताएको छ ।

त्यसैगरी वन्यजन्तुको खानपानका लागि वन्यजन्तुको प्रजनन गर्ने फार्मको इजाजतपत्र फिर्ता लिने र मासुजन्य वन्यजन्तुको बिक्रीमा रोक लगाइएको छ ।

यो निर्णय गत सोमबार पारित पनि भइसकेको छ ।

दक्षिण एसिया पनि खतरामा

चीनबाट युरोपतिर सरेको कोरोना भाइरसबाट दक्षिण एसियाली देश उच्च जोखिममा रहेको विश्व स्वासथ्य संगठनले जनाएको छ । अव्यवस्थित स्वास्थ्य सेवा, थोरै क्षेत्रमा धेरै जनसङ्ख्या र जनचेतनाको कमीका कारण एसियाली देश उच्च जोखिममा रहेको डब्लुएचओको निश्कर्ष छ ।

कोरोना भाइरसको फैलावट रोक्न सहयोग पुर्‍याउन साउदी अरेबियाले अस्थायी रूपमा मक्का र मदिनामा धार्मिक तीर्थयात्रा रोकिदिएको छ । जहाँ हरेक वर्ष विभिन्न देशका लाखौं मानिस तीर्थयात्राका लागि पुग्दथे ।

कुवेत,  थाइल्याण्ड र बहराइनमा क्रमश ४३, ४० र ३३ जनामा कोरोना संक्रमणको पुष्टि हुँदा मलेसियामा २२ जनामा संक्रमण पुष्टि भएको छ । भियतनाममा १६,  हङकङमा ९३, सिंगापुरमा ९२ र कुवेतमा ४३ जनामा संक्रमण पुष्टि भएको छ।

यी एसियाली देशहरु मा नेपाली पनि रोजगारीका लागि पुगेका छन् । यो तथ्याकंले नेपाल र नेपालीसमेत खतरामा रहेको संकेत गरेको छ ।

भारत, पाकिस्थान, श्रीलंका र नेपालमा पनि संक्रमित देखिइसकेका छन् । जसको कारण विश्व स्वासथ्य संगठनले सावधान रहन आग्रह गरिरहेको छ ।

युरोपमा कोरोना आतंक

जब कोरोना भाइरस चीनबाट युरोपेली देशमा प्रवेश गर्‍यो तब यसको त्रास दोब्बर रुपमा बढेर गएको छ ।

ग्रिसमा बुधबार पहिलो पटक कोरोना भाइरस संक्रमण भएको छ । फिनल्यान्ड र स्वीडेन दुबै देशहरुमा २ जना भन्दा बढी व्याक्तिमा संक्रमण पुष्टि भएको छ । चीनबाट फर्केका एक नागरिकलाई कोरोना भएको नर्वेले पुष्टि गरेको छ ।

जर्मनी फ्रान्स र स्पेनमा क्रमश २१, १८ र १२ जनामा संक्रमणको पुष्टि भएको छ ।

रसिया र टर्कीको सीमामा पर्ने जर्जियामा पनि संक्रमित भेटिएको पुष्टि भएको छ । इटालीमा त झन् ४ सय ४७ जना संक्रमित भएका छन भने १४ जनाको मृत्यु भइसकेको छ ।

डाइमण्ड प्रिन्सेसको संक्रमण

डाइमण्ड प्रिन्सेस पानी जहाजमा १० जनाबाट सुरु भएको कोरोना संक्रमण ७ सय ५ जनामा पुगेको छ भने ४ जनाको मृत्यु भएको छ ।

गत फेब्रुअरी ४ मा डायमन्ड प्रिन्सेसभित्र रहेका १० जनामा कोरोना संक्रमण देखा परेको थियो । सोही कारण उक्त जहाजलाई २ साता क्वारेण्टाइनमा राख्ने निर्णय गरिएको थियो । उक्त जहाजमा रहेका ४२ अमेरिकीमा पनि कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ ।

उक्त जहाज चढेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो। तर, ती व्यक्तिले संक्रमण पुष्टी भएको ६ दिनअघि नै जहाज छाडिसकेका थिए । उनले जहाज छाड्दा जहाजमा तीन हजार ७ सय ११ जना थिए ।

हङकङमा डायमन्ड प्रिन्सेसबाट उत्रिएका व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि जहाजलाई लक डाउन गर्न जापानलाई ७२ घण्टा भन्दा बढी समय लाग्यो । जापान सरकारले ३ हजार ७११ यात्रु तथा चालक दलका सदस्यसहितको जहाजलाई क्वारेन्टाइनमा राखेको थियो ।

यो फेब्रुअरी ३ को घटना हो ।

त्यसको भोलिपल्टै जहाजमा रहेका १० जनामा कोराना संक्रमण भएको पुष्टि भएको थियो । जहाजमा संक्रमित भइसकेकाहरुलाई जापानको अस्पताल उपचार गरिएको थियो । तर, जहाजमा दिन प्रतिदिन संक्रमण फैलिँदै गयो । यसको परीक्षणका लागि एक दिन भन्दा बढी लाग्यो । यात्रुलाई उनीहरुको परीक्षणको नतिजा दिनसमेत ढिलाइ गरियो ।

क्वारेन्टाइनमा राखिएकाहरुले सामूहिक रुपमा बस्नुको साथै बाथरुम पनि सामूहिक प्रयोग गरेका थिए । खानपिन पनि एकै ठाउँमा भयो । सोही कारण संक्रमण तिब्र फैलियो र ४ जनाले मृत्युवरण गर्न पुगे ।

क्वारेन्टाइनमा राखिएको पानी जहाजमा रहेका १ सय २४ जनालाई एयर इन्डियाले उद्दार गरी भारत पुर्‍याएको छ । जसमध्ये १ सय १९ जना भारतीय र ५ विदेशी नागरिक छन् । विदेशीमध्ये एक जना नेपाली पनि रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment